सहकारी पीडितको प्रश्न - जिबी राईलाई पक्राऊ गर्दा कसलाई नोक्सान हुन्छ ?

सहकारी पीडितको प्रश्न - जिबी राईलाई पक्राऊ गर्दा कसलाई नोक्सान हुन्छ ?
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् । 

रकम फिर्ताको व्यवस्था गरिदिन आग्रह गर्दै 'सूर्यदर्शन बचत पीडित संघर्ष समिति' का प्रतिनिधिहरुले आज समितिका सभापति रामहरी खतिवडालाई पत्र बुझाएका हुन् । उजुरीमा सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग पनि गरिएको छ ।  

पीडितहरुले राईलाई योजनावद्धरुपले लुकाइएको आशंका गर्दै उनलाई पक्राउ गर्दा कसलाई नाफा-नोक्सान हुने हो राज्यले हिसाब गरिदिनुपर्ने मागसमेत गरेका  छन् ।  

‘कसले किन लुकाई राखेका छन् जिबी राईलाई हामीलाई जबाफ चाहिएको छ, जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनु पर्‍यो’, पत्रमा भनिएको छ, ‘हामी कति समय पीडामा बस्ने हो, हाम्रो यो सहकारीको समस्या कहिले समाधान हुन्छ यसको मिति पनि यो राज्य सरकारले तय गरिदिनु पर्‍यो ।’

गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने समेत जोडिएको यस सहकारीका संचालकले १८ हजार बढी वचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । पीडितहरुले दुई वर्षदेखि बचत फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । यसअघि पीडितहरुले प्रहरीमा पनि उजुरी दिएका थिए । 

सहकारीका सञ्चालकलाई पक्राउ गरी कानूनी कारबाही गर्न र आफूहरुको निक्षेप फिर्ता गराइदिन पीडितहरुले लामो समयदेखि राज्यका विभिन्न निकायहरुको ध्यानाकर्षण गराउंदै आएका छन् । तर, मुख्य सञ्चालक गितेन्द्रबाबु राई (जिबि राई) सहित १४ जना फरार रहेकाले उनीहरुको बचत फिर्ता हुन सकेको छैन । 

ज्ञापन पत्र बुझ्दै समितिका सभापति खतिवडाले सहकारी पीडितलाई न्याय दिलाउन आफूले पहल गर्ने बताए ।

टिप्पणीहरू