मुनाजस्तै बुलन्द हिम्मत देखाउनु त महिला जन !

मुनाजस्तै बुलन्द हिम्मत देखाउनु त महिला जन !

चुला र चौकामा सीमित छैनन्, महिला । प्रशासनिक उच्च नेतृत्वमा ९ जना सचिव, १० सिडिओ र ९ जनाले प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँको सिंहदरबार हाँकिरहेका छन् । निजामती किताबखानाको तथ्यांकअनुसार ८५,५१५ कर्मचारी कार्यरत रहेमध्ये महिलाको संख्या २४,१४३ छ, तिनैमध्ये अलि पृथक् पहिचान बनाइरहेकी कर्मचारी हुन्– मुना घिमिरे श्रेष्ठ ।

२० वर्षअघि गोरखाको हर्मीमा जन्मिएर पहिलो महिला हेभी इक्विपमेन्ट चालकका रूपमा नाम लेखाउन सफल चेली हुन् उनी । त्यो समय महिला स्काभेटरमा चढ्दा अलच्छिना लाग्छ भनिन्थ्यो तर उनी भने बिनापर्वाह लगातार हेभी इक्युमेन्ट हाँकिरहेकी छन् । परिवारका दुई सन्तानमध्ये दुवै छोरी । तिनताक मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको काम चल्दै थियो । बाटोमा देख्थिन् हेभी गाडीहरू गुडिरहेको । निम्नवर्गीय परिवारमा जन्मिएकी मुनाको अध्ययनमा ब्रेक लाग्यो । ९ कक्षामाथि पढ्न सकिनन् । पढाइलाई पूर्णविराम लगाएर कामको खोजीमा निस्किइन् ।

गोर्खा बजारबाट नेपालगञ्जतिर झरिन्, हितैषीको साथ लागेर । पहिलो पटक घर छाड्दा धेरैले कुरा काटे तर हिजो त्यसरी तेरी छोरी पोइल गई भनी कुरा लगाउनेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्् । भन्छन् नि, सबसे बडा हे रोग, क्या कहेंगे लोक । उनले सुनिनन् अरूको कुरा, सुनिन् त आफ्नै अन्तरमनको आवाज । साथीको नातेदार रहेछन् नेपालगञ्जमा । र, त्यही यात्रा नै जीवनको युटर्न बनिदियो ।

जीवन नियमले होइन, संयोगले चल्छ भन्छन् । संयोगवश जागिर भेटिन् कन्स्ट्रक्सन कम्पनीमा । मनमा सपना थियो, ठूला गाडी चलाउने तर काम भेटिन् फोन उठाउने । आफू कार्यरत अफिस अगाडि देख्थिन् प्रशस्त गाडी तर छुन पाउँदिन थिइन् । त्यसैगरी समय व्यतित भए ६ महिना । दैवले भन्छ रे, तँ आँट म पुर्‍याउँछु । फोन उठाउने काम गरिरहेकी मुनालाई एक दिन त्यही कम्पनीका मालिक मानबहादुर लामाले सोधे– एस्काभेटर चलाउन सिक्छ्यौ त ?

ढुंगा खोज्दा देउता मिलेझैं भयो । आत्मविश्वाससहित जवाफ फर्काइन्, पाए त सिक्थें नि सर ! उनै मानबहादुरको निगाहमा बिहान बेलुका एस्काभेटर चलाउन सिकिन् । आत्मविश्वास उँचो हुँदै गयो । शुरुमा लामा स्वदेश निर्माण सेवा कम्पनीबाट एस्काभेटर चलाउन सिकिन् । अपरेटर बिदामा रहेको एक दिन उनै लामाले सोधे, ‘तिमी टिपरमा सामान लोड गर्न सक्छ्यौ त ?’ खोलाको बालुवा टिपरमा लोड गर्नुपर्ने थियो । एस्काभेटरको लिफ्टरलाई चलाउन मात्र जाने पुग्थ्यो । मुनाले मौकाको फाइदा उठाइन्, हिम्मत गरेर लोड गरिन्, राम्रो भयो । काम गर्ने आँटले अझ आत्मविश्वासी बनाउँदै लग्यो ।

मुना तेज कन्स्ट्रक्सन, कालिका कन्स्ट्रक्सन हुँदै कालान्तरमा सरकारी जागिरे मात्र बनिनन्, नेपालकै पहिलो एस्काभेटर चालक महिला बनेर नाम कोर्न सफल भइन् । लोकसेवाका पाठ्यपुस्तकमै उनको नाम पहिलो महिला एस्काभेटर चालकको रूपमा पढ्न पाइन्छ । त्यही क्रममा भेट भयो कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसँग । मुनाको आँट र लगनशीलता देखेर प्रस्ताव गरे, हाम्रो कम्पनीमा काम गर्नुहुन्छ ? उनी कालिकामा ज्वाइन् भइन् । कामकै सिलसिलामा पूर्वी भेग घुमिन् ।

०५७ सालमा राजधानी छिरिन् । हातमा सीप हुँदैमा मात्र पनि कहाँ प्रिय हुँदो रहेछ र काठमाडौँ ! कहाँ सहजै काम पाइँदो रहेछ र ? त्यस्तै तीता अनुभव भोगिन् काठमाडौंमा । कामको खोजीमा कहाँ मात्र पुगिनन् ? जता पुग्थिन् उतैबाट हात लाग्थ्यो मात्रै निराशा । तर, हरेश खाइनन् । काठमाडौंका सवारी मालिकहरू महिलाले हेभी गाडी चलाउन सक्छन् भन्ने कुरामा विश्वासै गर्दैनथे । थानकोटमा थियो तेज कन्स्ट्रक्सनको ग्यारेज । त्यहाँबाट पनि रिंग्याइयो । जावलाखेल जान भनियो । काम पाउने छाँटकाँट देखिएन ।

सबै चिज हार्नु तर हिम्मत नहार्नु, हरेश नखानु भन्छन् । अझै मनलाई हार्न दिइनन् । फेरि पुगिन् थानकोट । यसपटक भेटिए मालिक । खुबी हेरेपछि पत्याए मालिकले । र, पाइन् जागिर । कामकै सिलसिलामा रसुवाको चिलिमे हाइड्रोपावर, सिन्धुली बर्दिबास सडकखण्ड पुगिन् । कामकै सिलसिलामा स्याङ्जामा गोरखाकै सुरेश श्रेष्ठसँग भेट भयो । उनी शर्मा एण्ड कम्पनीमा म्यानेजर थिए । दुई आँखा चार मात्र भएन, प्यार हुँदै विवाहमा परिणत भयो । झण्डै ६ महिनामा एस्काभेटर चलाउन सिकिसकेकी उनले ०६२ सालमा चारपांग्रे र ०६४ सालमा एस्काभेटरको लाइसेन्स निकालिन् ।

फेरि अर्काे संयोग आइलाग्यो– तेज कन्स्ट्रक्सनका मालिक उनलाई खोज्दै आए । अनि उनी र श्रीमान् सुरेश भारतको गुजरातमा काम गर्न गए । त्यहाँ काम सकेर फर्किए । स्वदेश फर्किएपछि उनको मन निजी काममा रमेन । सरकारी सेवा गर्ने रहर पलायो । पर्खाल बनेर उभियो शिक्षा । नौ कक्षाभन्दा बढी अध्ययन गरेकी थिइनन् । हेभी गाडी चालकका लागि वा खरदार तहको जागिर खान पनि कम्तीमा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने रहेछ । हिम्मत हारिनन् । हौसला थप्ने, ऊर्जा थप्ने श्रीमान् थिए । पहिला गरिब परिवारमा जन्मिएका कारण पढ्न पाइनन् । जब करारमा सरकारी सेवातर्फ छिरिन् तब लाग्यो योभन्दा माथिल्लो तहमा जान त पढ्नैपर्ने रहेछ । कलंकीस्थित जनसेवा वैकल्पिक उच्च माविमा पढ्न थालिन् । बिहान पाँच बजे स्कूल, साँझ ट्युसन पढेर ०६९ सालमा ५७ प्रतिशत अंकसहित फलामे ढोका पार गरिन् ।

०७२ सालमा लोकसेवाका लागि आवेदन दिइन् । पोखराबाट ९ वटा कोटाको विज्ञापन खुलेकोमा ११ जनाले आवेदन दिए । १० पुरुष थिए, उनीमात्र महिला । तर दुई जना मात्र उत्तीर्ण भए, जसमध्ये एक उनी थिइन् । ०७२ साल फागुन ११ गते पोखरा हेभी इक्विपमेन्ट डिभिजनबाट नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी उनले अर्काे वर्ष ०७३ साल पुस १७ मा काठमाडौंबाट पाँचौं तह (सिनियर अपरेटर) मा नाम निकाल्न सफल भइन् ।

पोखराबाट परीक्षा दिएको आठ महिनापछि रिजल्ट निस्कियो र ४ फागुनबाट सरकारी कर्मचारी भइन् । अर्को वर्ष फेरि पद बढोस् भन्ने हेतुले अर्को परीक्षा दिइन् । त्यसमा पनि पास भइन् । त्यसयता सडक विभागअन्तर्गत हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा काम गरिरहेकी छन् । सरकारी सेवामा प्रवेश गर्न पढाइ चाहिने भएकाले १५ वर्षपछि २०६९ सालमा एसएलसी पास गरिन् । अहिले स्नातक तह पूरा गरेकी छन् । श्रीमान् भने मुना एण्ड राज कन्स्ट्रक्सन प्रालि चलाइरहेका छन् ।

श्रीमान्को पनि गुरु हुन् मुना । श्रीमान्लाई हेभी इक्विपमेन्ट चलाउन उनैले सिकाइन् । प्रशासनको एउटा सुब्बाले प्रशासन त चलाउन सक्ला तर गएर डोजर चला भन्यो भने किमार्थ सक्दैन तर मुना यस्तो कर्मचारी हुन् जो डोजर मात्र होइन, प्रशासन पनि चलाउने हिम्मत राख्छिन् । उनको मन दुख्छ, जब प्रशासनका सुब्बालाई सबैले नमस्कार गर्ने तर डोजर चलाउनेलाई यो अपरेटर त हो नि ! भनेर हियाउने गरिन्छ । इञ्जिनियरहरू नै मेसिन लिएर मान्छे नै होइन जस्तो व्यवहार गर्दछन् ।

अहिले सडक, यान्त्रिक तालिम केन्द्र, सिञ्चाई, खानेपानीलगायतका निकायमा हेभी इक्विपमेन्ट चालक कार्यरत छन् तर दरबन्दी नै फाजिलमा परेको छ । जसरी मेकानिकल सिनियर बढुवा भएर मेकानिकल इञ्जिनियर बन्ने बाटो छ तर वृत्तिविकासको बाटो यता ठप्प छ । १५ वर्ष एउटै पद र सेवामा बस्नुपर्ने स्थिति छ । यो पदमा विज्ञापन खुलेपछि मुनालाई रोल मोडल मानेर केही महिला प्रतिस्पर्धामा आए । नाम पनि निकाले तर सडकमा स्काभेटर लिएर हिँड्ने हिम्मत कसैले गरेका छैनन् ।

पोखरा, बुटवल, हेटौँडा, नेपालगञ्जलगायतका कार्यालयमा महिलाले नाम त निकालेका छन् तर कोही स्टोरतिर त कोही कार्यालय सहयोगीका रूपमा काम गरिरहेका छन् । मुनालाई यहाँसम्म ल्याएको उनकै आत्मविश्वासले हो । १३/१४ वर्षअगाडि अस्थायी ज्यालादारीमा प्रवेश गर्दा एक दिन पाएँ भने गरेर देखाउँछु भन्ने आत्मविश्वास थियो । ०५६ सालमा करिअर शुरु गरेका हुन् बद्रीकुमार श्रेष्ठले । जो पञ्चकन्या ग्रुपका दाजुभाइ, तेज कन्स्टक्सनका मालिक छन् । उनैले हो तिमी महिला भएर के फरक पर्छ, तिमीमा प्रचुर आत्मविश्वास छ भनेर अगाडि बढाएको । सरकारी सेवामा प्रवेश गरेपछि सिडिई शिवराम यादवजस्ता अग्रजको साथ पाइन् । यादवले सदैव इन्करेज गरिरहेकै छन् । यस अलावा मुनाले हेभी इक्विपमेन्ट अपरेटर संघमा सल्लाहकारको रूपमा समेत काम गरिसकेकी छन् । 

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ, आफ्नो इतिहास तर सबैको कहाँ लेखिन्छ र इतिहास ? जसले फरक ढंगले काम गर्छ, जसले रेकर्ड ब्रेक गर्छ, उसैको कोरिने, उसैको लेखिने न हो इतिहास !
 

टिप्पणीहरू