त्यतिबेलाका यी अडियो-भिडियो र कुर्सीका निम्ति यो हदसम्मको बेइमानी

त्यतिबेलाका यी अडियो-भिडियो र कुर्सीका निम्ति यो हदसम्मको बेइमानी

सडकमा छँदा 'भागबण्डाको राजनीतिमा सामेल नहुने' घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एक वर्षको अवधिमा दोस्रोचोटी सत्तामा उक्लिएका छन् ।

संसदमा नागरिकका आवाज बुलन्द गर्न मतदाताले बनाइदिएको चौथो दलको हैसियत दुरुपयोग गर्दै लामिछानेको दल सरकारमा सामेल भएको हो । पुराना दल र नेतृत्वविरुद्ध घृणा फैलाउन 'नो नट एगेन' को नारा उरालेर चुनाव जितेका लामिछानेले हिजो साँझ उपप्रधानसहित गृहमन्त्रीको सपथ खाइसकेका छन् । 

हिजो आफैँले 'नो नट एगेन' भनी 'रिजेक्ट' गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लामिछानेको यो दोस्रो इनिङ हो । यसअघि गतवर्ष पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा पनि उनी गृहमन्त्री बनेका थिए । 

पूर्व सञ्चारकर्मी लामिछानेले राजनीतिमा आउनुअघि सुशासनको चर्का कुरा गरेका थिए । त्यसैको जगमा चुनाव जितेकाले आफ्ना मुद्धा कार्यान्वयन गराउन सरकारमा जानुपर्ने उनको मत रहँदै आएको थियो । तथापि उनले कुनै विकासे मन्त्रालय रोजेनन् । नागरिकता किर्तेसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा "कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालय छिरे । यद्यपि पहिलोचोटी सत्तामा गएकाले त्यसबेला उनी र रास्वपालाई 'शंकाको लाभ' मिलेको थियो । 

तर,लामिछाने सिंहदरबार छिरेको डेढ महिना नपुग्दै सर्वोच्च अदालतले नागरिकता किर्ते ठहर गरेपछि पदमुक्त भए । त्यसयता पनि सरकारमा जान निरन्तर प्रयास रहँदै आएकोमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन छोडेर एमालेसँग सहकार्य अघि बढाएपछि सत्तामा जाने लामिछानेको चाहना हिजो बल्ल पूरा भयो । स्मरण रहोस्, एमाले र माओवादीलाई मिलाएर नयाँ सत्ता समीकरण बनाउन बालकोट र बालुवाटार कुदाकुद गर्ने एक प्रमुख पात्र थिए उनी ।  

यसरी सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने लामिछाने विगतमा भने यस्तो प्रवृतिलाई राजनीतिको अनैतिक खेल भन्ने गर्थे ।

यसरी सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने लामिछाने विगतमा भने यस्तो प्रवृतिलाई राजनीतिको अनैतिक खेल भन्ने गर्थे । केही महिनाअघि उनले आफ्नो पार्टी सरकारमा नजाने घोषणा नै गरेका थिए । त्यतिमात्र होइन, 'मिसन-८४' का नाममा चुनावदेखि चुनावसम्मको राजनीतिमा लागेका लामिछानेले आगामी चुनावमा सबै ठूला पार्टीहरुलाई मिलेर आउन चुनौती दिँदै एक्लै सामना गर्ने बताएका थिए । 

उनले भनेका थिए,देशमा व्याप्त बेतिथिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा अब यो चार वर्ष तपाईंहरु सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्,हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं ।' सत्ता सहकार्य गरेका दलहरुप्रति उनको कटाक्ष हुन्थ्यो, 'उद्धेश्य एउटै,कार्यशैलि एउटै, गन्तव्य एउटै भएपछि सटर चैं किन बेग्लाबेग्लै ?'

उनकै अभिव्यक्ति सापट लिएर रवि लामिछानेलाई प्रश्न-के अब एमाले, माओवादी,रास्वपा,जसपा र एकीकृत समाजवादीको यौटै सटर हुने हो ?   

अहिले लामिछाने जुन प्रक्रियाबाट गृहमन्त्रीको कुर्सीमा पुगेका हुन्, विगतका यस्तै प्रक्रियालाई भने 'सत्ताको भागबण्डामा सबैले र्याल चुहाएको' भन्ने गर्थे । सिङ्गै राजनीतिप्रति घृणा फैलाउने तहमा उनले गरेको आपत्तिजनक टिप्पणीसहितको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । 

उनकै अभिव्यक्ति सापट लिएर रवि लामिछानेलाई प्रश्न-के अब एमाले,माओवादी,रास्वपा,जसपा र एकीकृत समाजवादीको यौटै सटर हुने हो ?

आफ्नो भनाई सुरक्षित राख्न चुनौती दिँदै उनले भनेका छन्,'आज एक-अर्कालाई वर्गशत्रु मानेर तथानाम गाली गर्ने ओली,प्रचण्ड, झलनाथ,माधव नेपाल एकै ठाउँमा उभिनेछन् । यो पनि रेकर्डमा राख्नुहोला,प्रचण्ड-माधवलाई हात्तीको कानमा टाँसिन आएका चमेराहरु भन्ने कांग्रेसले हामी त प्रतिगमन रोक्ने गठबन्धन गरेका दल हौँ नि आउनुस् फेरि मिलौँ भन्नेछ । जसले जसलाई जति गालीगलौज र आलोचना गरेको भए पनि सत्ताको भागबण्डा सबैको र्याल एकैपटक चुहिनेछ र कुनै पनि दल कुनै पनि अर्को दलसँग मिल्न जानेछ।'

कार्यकर्ताहरु नेतृत्वप्रति आलोचनात्मक नभएको विषयमा पनि लामिछानेको विगतका अभिव्यक्ति र आजको स्थिति परस्पर विरोधी देखिन्छ । त्यसबेला उनी पार्टीका कार्यकर्तालाई 'केटाहरु' भनेर तुच्छ शब्दले गाली गर्थे । अहिले उनी आफैँ रास्वपा कार्यकर्ता र समर्थकबाट 'भगवान' बनाइएका छन् ।

उक्त भिडियोमा लामिछानेले लामिछानेले कुम नचाई-नचाई भनेको सुनिन्छ, 'एक अर्काको चरित्रहत्यामा उत्रिएका दलका कार्यकर्ता केटाहरु आफ्नो शरीरभित्र छिरेको खसी,कुखुरो,राँगो,सुंगुरको क्वाँटीका आधारमा एक-अर्काको बचाउमा उत्रिनेछन् !'  

यसरी अरुलाई नैतिकताको पाठ सिकाउने सभापति लामिछाने आफैँ दर्जनौँ आरोपको भारी बोकेर सिंहदरबार छिरेकाले उनीमाथि नैतिक प्रश्न उठेका छन् । विभिन्न सहकारी ठगीमा नाम जोडिएका उनको जीबी राईसंगको कनेक्सन के हो भन्ने प्रश्न छ । त्यस्तै,राष्ट्रिय परिचयपत्र काण्ड र राहदानी दुरुपयोगका विषय लामो समयदेखि उठिरहेको छ । लामिछानेले 'नाइँ मलाई त्यही केटी चाहिन्छ' को शैलीमा गृह मन्त्रालयका लागि मरिहत्ते गर्नुले धेरै कुरा यसै प्रष्ट हुन्छ नै !!   

लामिछानेले केही मन्त्रीहरुमाथि लागेका आरोपबारे गरेका टिप्पणीलाई नै आधार बनाउने हो भने पनि उनी गृहमन्त्री हुन नमिल्नुपर्ने हो । किनभने केही दिनअघि मात्रै उनले संसदमा उभिएर 'प्रश्न उठेका मन्त्रीहरुले राजीनामा दिन नपर्ने हो?' भन्दै विवादमा परेका चार मन्त्रीलाई पद छोड्न दबाब दिएका थिए ।

टिप्पणीहरू