रवि लामिछानेले 'दाहिने हात'लाई मन्त्री बनाएपछि रास्वपाभित्र किचलो

रवि लामिछानेले 'दाहिने हात'लाई मन्त्री बनाएपछि रास्वपाभित्र किचलो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अन्तरविरोध शुरु भएको छ । 

पार्टी सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई पाखा लगाउँदै आफ्नो 'दाहिने हात' बनाएका डिपी अर्याललाई मन्त्री बनाएपछि प्रत्यक्ष निर्वाचित सांसदहरुले चित्त दुखाएका हुन् ।  समानुपातिक कोटाका उनी यसअघि श्रममन्त्री हुँदा म्यानपावर व्यवसायीहरुसँग मिलेको भन्दै चर्को आलोचना भएको थियो । 

रास्वपाबाट को-कोलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्न आज बिहान सचिवालय बैठक समेत बसेको थियो । बैठकमा ९० प्रतिशत पदाधिकारीले स्वर्णिम वाग्लेको नाम लिएका थिए । तर लामिछानेले अर्याललाई नै रोजेको बताइन्छ । त्यतिमात्रै होइन महामन्त्री मुकुल ढकालले समेत सचेतक निशा डाँगीलाई प्राथमिकतामा राखेका थिए । उनी पनि समानुपातिक नै हुन् । 

यही सन्दर्भमा महामन्त्री ढकाललाई जनआस्थाले 'अब्बल र जनताबाट निर्वाचित अन्य सांसदहरु हुँदाहुदै समानुपातिक कोटाबाट संसद छिरेकालाई मन्त्री बनाउनुको कारण के हो ?' भनेर सोधेको थियो । जवाफमा ढकालले पुरानो भाष्य परिवर्तन गर्न खोजिएको बताएका छन् । समानुपातिक कोटाबाट आएकालाई मन्त्री बनाउनै नहुने गरी कतै नलेखिएको उनको ठम्याई छ । 

'हामी पुराना दल एमाले,माओवादी र कांग्रेस जस्तो होइनौ,नयाँ पार्टी हौं', उनले भने, 'निर्वाचितलाई मात्र मन्त्री बनाउनु पर्छ भन्ने पुरानो भाष्यलाई परिवर्तन गर्न जरुरी छ ।' 

उपसभापति अर्यालले पार्टीलाई दिएको योगदानको मूल्यांकन गरेरै मन्त्रीको लागि अघि सारिएको ढकालले जानकारी दिए । रास्वपाको स्थापनादेखि आजसम्म आइपुग्दा अर्यालले पार्टीलाई ठूलो योगदान दिएको उनको दावी छ । 

उनले थप्दै भने, 'उपसभापतिज्यूले पार्टी स्थापनादेखि अहिलेसम्म दिएको योगदानलाई कदर गरेर अघि सारेका हौँ । एक वर्षअघि कसले पत्याएको थियो र रास्वपाले भाग लिएको पहिलो निर्वाचनमै १३ सिट जित्छ भनेर । त्यो उपलब्धी हासिल गर्न उपसभापतिज्यूले क्याम्पिङ गर्दै देशभरि हिँड्नुभएको छ । उहाँको त्यो दु:खको मूल्याकंन नै नगर्ने भन्ने त हुन्न होला नि !" 

त्यसो त,रास्वपाबाटै स्वर्णिम वाग्लेसहित सुमना श्रेष्ठ,हरि ढकाल, विराजभक्त श्रेष्ठ र सोभिता गौतमको नाम मन्त्रीको लागि चर्चामा छ । 'अरु को-कोलाई मन्त्री बनाउँदै हुनुहुन्छ ?' भन्ने जनआस्थाको प्रश्नमा महामन्त्री ढकालले अहिले निश्चित नभएको बताए । 

गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगाउन गठित कार्यदलले अन्तिम निष्कर्ष निकालेपछि मात्र रास्वपाले निर्णय गर्ने उनले बताए । उनले भने, 'मिडियाको चर्चामा आएका सबै साथीहरुको आ-आफ्नो पोर्टफोलियो छ । अहिलेलाई सभापतिज्यू र उपसभापति फिक्स हुनुहुन्छ । अरु कसलाई मन्त्री बनाउने, हामी छलफलमै छौँ । कार्यदलले भागबण्डाको टुंगो लगाएपछि मात्र कसलाई मन्त्री बनाउने निर्णय गछौँ ।'
 

टिप्पणीहरू