एमाले अध्यक्षले हात मिलाए शंका,नमिलाउँदा थप आशंका

एमाले अध्यक्षले हात मिलाए शंका,नमिलाउँदा थप आशंका

आज दिउँसो चितवनमा भरतपुर भ्रमण वर्षको उद्घाटन गरिएको छ । विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य अतिथि र पूर्वप्रधानमन्त्रीहरु विशेष अतिथि हुनुहुन्थ्यो । 

सबै अतिथिहरु उद्घाटन समारोहको समय अगावै भरतपुर पुगे पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केही ढिलो पुग्नुभयो । काठमाडौंबाट हेलिकोप्टरमा जानुभएका उहाँ समारोहस्थलमा पुग्दा कार्यक्रम शुरु भइसकेको थियो ।

स्टेजमा राखिएको सोफा बायाँबाट क्रमशः पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, त्यसपछि कार्यक्रमकी सभाध्यक्ष तथा महानगरकी मेयर रेणु दहाल,पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, बीचमा प्रमुख अतिथि रहनु भएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, त्यसपछि पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई छुट्याइएको थियो ।

झण्डै एक घण्टा ढिलो गरी पुग्नुभएका पूर्व प्रधानमन्त्री ओलीले बाँयातर्फका प्रधानमन्त्री प्रचण्ड र दायाँतर्फका पूर्व प्रधानमन्त्री खनालसँग तन्किएर भए पनि हात मिलाउनुभएको थियो । अरुसँग हात नमिलाएको दृश्यलाई धेरैले सामाजिक सञ्जालमा विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।

उहाँले देउवासँग हात नमिलाएको दृश्यलाई कतिपयले आन्तरिक राजनीतिमा चर्चा भएको नयाँ समीकरणसँग जोडेका छन् । केहीले कार्यक्रमस्थलमा केही पर रहनुभएका अन्यसँग उहाँले चाहेर पनि हात मिलाउन नसक्नुभएको आकलन गरेका छन् । जे भएपनि आज दिउँसो भरतपुरमा देखिएको उक्त दृश्यले राजनीतिक चर्चा परिचर्चामा आगोमा घिऊको काम गर्ने सम्भावना उत्तिकै देखिन्छ ।

टिप्पणीहरू