दिल्लीबाट फर्कनासाथ मधेशी दल दुईतिर

दिल्लीबाट फर्कनासाथ मधेशी दल दुईतिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले दिल्लीबाट फर्किनासाथ महन्थ ठाकुर नेतृत्वको लोसपा फुटाएका छन् । पुरानो सद्भावना पार्टीलगायत मधेशकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफललगत्तै उनी महन्थबाट छुट्टी भिन्न भएका छन् ।

‘राष्ट्रिय, मुक्ति, क्रान्ति’ भन्ने उनको नयाँ नाराप्रति तराई क्षेत्रका अधिकांश जिल्लामा खासै आकर्षण देखिएको छैन । त्यसो त लोसपाप्रति नै मधेशका जनताको आकर्षण थिएन र भएको पनि घट्दो थियो । एक विश्लेषकका अनुसार नेता महतोले ‘मलाई पनि नोटिसमा राख’ भन्ने हिसाबले यो काम गरेका हुन् । 

महतोको छटपटी चलेको बेला सिके राउत भने मधेशबाट विस्तारै फेजआउट हुन लागेको देखिन्छ । विवादास्पद कुराकानी र व्यवहारका कारण बौद्धिक मत र आमकार्यकर्ताको विश्वास गुमाउँदै गएको अवस्था छ ।

घरी अलग देशको नारा दिने, घरि राष्ट्र«पतीय शासनको पक्षमा उभिनेलगायत मौकापरस्त विचारका कारण उनी मधेशमा खुइलिँदै जान थालेको बताइन्छ । घरी क्रान्तिकारी कुरा गर्ने, घरी ओशोभक्त बन्दै आनन्दमा रमाउने व्यक्तिगत चरित्रका कारण पनि उनको छविलाई मधेशका जनताले अपरिपक्व नै ठान्न थालेका छन् ।

मधेशको सन्दर्भमा अलिक भरपर्दाचाहिँ जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादव नै हुन् । स्थानीय निकायमा उनको दलको राम्रो पकड कायम छ । तर दुर्भाग्यपूर्ण घटनाहरू बग्रेल्ती तेर्सिन थालेका छन् । ग्रास रुटका सहयोगी र कार्यकर्ता धमाधम अख्तियारको कारबाहीमा पर्दैछन् । उनी निकट जनप्रतिनिधि भटाभट कारबाहीस्वरूप निलम्बित भएको अवस्था छ ।

वडा तहका नेताहरूसमेत यस्तो कारबाहीको भागी हुन थालेका छन् । यसले मधेशमा सो दल भ्रष्टाचारीको पक्ष पोषण गर्ने दलको रूपमा हुँदै गएको अवस्था छ । यस्तो अवस्थामा मधेशका जनता क्रमशः पुरानै दल कांग्रेस, एमाले र नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)प्रति ढल्किन थालेका छन् । यसले मधेशवादी दललाई चिन्तित तुल्याउनुपर्ने हो । 

 

टिप्पणीहरू