सरकार फेर्न रवि लामिछाने सुलसुले

सरकार फेर्न रवि लामिछाने सुलसुले
सुन्नुहोस्

गाउँघरतिर एउटा भनाई छ- भाग खानेलाई भन्दा पुरो खानेलाई हतार । मुख्यभन्दा सहायक भूमिकाको पात्रले कुनै घटना विशेषमा बढी चासो दिएको सन्दर्भलाई जनाउने यो भनाई यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधिसँग ठ्याक्कै मेल खान्छ । 

सबैलाई थाहा भएकै कुरा हो,प्रमुख प्रतिपक्ष नेकपा एमाले वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ । गठबन्धन टुटाउने घोषित नीतिमै रहेको उसले धेरैपटक प्रयत्न पनि गरिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीमा उभ्याएर प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन दिनु गठबन्धन तोड्ने रणनीतिअन्तर्गत नै थियो । कांग्रेसका बागी उम्मेदवारलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा सघाउने कदम पनि त्यसैको अर्को प्रयास हो । 

यतिबेला सत्ता साझेदार दलहरुका आन्तरिक कारणले बढेको असमझदारी गठबन्धन टुट्ने तहमा पुग्दै गरेको चर्चा हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणामपछि बढेको अविश्वास कांग्रेस महासमिति बैठकपछि थप चर्किएको र गठबन्धन टुट्ने तहमा घटनाक्रम विकसित भैरहेको भनिँदैछ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन र महासचिव गगन थापाको सांगठनिक प्रस्तावका कतिपय विषयलाई लिएर माओवादीको स्थायी समिति बैठकमै नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसैको निष्कर्षका रुपमा राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय आएको अनुमान गरिएको छ ।

"बाहिर जतिसुकै आकर्षक भाषण र आदर्शका गफ छाँटे पनि आफ्नै व्यक्तिगत कारणले लामिछानेलाई सरकारमा जानैपर्ने बाध्यता छ । जीबी राईसंगको कनेक्सन,विभिन्न सहकारी ठगी प्रकरणमा नाम जोडिनु,जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूविरुद्ध उजुरी पर्नु, राष्ट्रिय परिचयपत्र काण्ड र राहदानी दुरुपयोगजस्ता विषय बाहिर बसेर आफू अनुकूल पार लगाउन सकिंदैन भन्ने उनले बुझेका छन् ।"  

यो पृष्ठभूमिमा माओवादी केन्द्रकाफ अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बाक्लिएको भेटघाटलाई वाम गठबन्धनको प्रयासका रुपमा विश्लेषण भैरहेका छन् । जे होस्, 'गभर्मेन्ट इन वेटिङ' भनिने प्रमुख प्रतिपक्षले सरकारमा जाने उपयुक्त मौकाको खोजी गर्नुलाई संसदीय राजनीतिमा अनौठो मानिंदैन । तर,आफूलाई वैकल्पिक शक्ति दावी गर्दै पुराना पार्टी र नेताविरुद्ध आक्रामक नारा लगाएर राष्ट्रिय राजनीतिमा एकाएक उदाएको रास्वपाका सभापति रवि लामिछानेले समेत गठबन्धनमा उत्पन्न किचलोलाई सरकारमा फर्किने अवसरका रुपमा प्रयोग गर्न खोजेको चर्चाले भने धेरैलाई आश्चर्यमा पारेको छ । 

नयाँ समीकरणको चर्चा चलिरहेकै बेला फागुन १० गते बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका लामिछानेले भोलिपल्ट ओलीको जन्मदिन पारेर बालकोटमा भेटवार्ता गरेका थिए । दुई दिनको वीचमा उनको बालुवाटार र बालकोट दौडादौड नयाँ समीकरण बनाउनेतर्फ लक्षित रहेको दुबैतिरका स्रोतले दावी गरेका छन् । कांग्रेस र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष र क्याबिनेट हेरफेर लगायतका विषयमा मनमुटाव रहेको भनिएका बेला लामिछानेको सक्रियता गठबन्धन फुटाउने एमाले रणनीतिअन्तर्गत नै रहेको ती स्रोतहरुले सुनाए । 

गत वर्ष ओलीकै चाहनामुताविक ३९ दिन गृहमन्त्री भएका लामिछाने पुन: सिंहदरबार फर्किन चाहन्छन् । नागरिकता किर्ते प्रकरणमा अदालतले दोषी ठहर गर्दा अप्रत्यासित रुपमा सरकार छोड्नुपरेपछि उनले सार्वजनिक मञ्चबाटै सिंहदरबार फर्किन चाहेको बताएका थिए । तर,एमाले अध्यक्ष ओलीलाई भनेर पुरानै जिम्मेवारीमा फर्किने उनको भगिरथ प्रयत्न सफल भएन । 

त्यसयता पनि लामिछानेले पटक-पटक प्रधानमन्त्रीलाई भेटेर सरकारमा जान इच्छा देखाएको कुरा बाहिर आइसकेको छ । तर, दाजु-भाउजूको पार्टी भन्दै काँग्रेस छोडेर उपचुनावको मुखमा रास्वपामा मिसिएका स्वर्णिम वाग्लेसमेत रहेको सो पार्टीलाई सरकारमा लैजान काँग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि प्रधानमन्त्रीले चाहेर पनि लामिछानेको चाहना पूरा हुने अवस्था छैन । 

बाहिर जतिसुकै आकर्षक भाषण र आदर्शका गफ छाँटे पनि आफ्नै व्यक्तिगत कारणले लामिछानेलाई सरकारमा जानैपर्ने बाध्यता छ । जीबी राईसंगको कनेक्सन,विभिन्न सहकारी ठगी प्रकरणमा नाम जोडिनु,जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूविरुद्ध उजुरी पर्नु, राष्ट्रिय परिचयपत्र काण्ड र राहदानी दुरुपयोगजस्ता विषय बाहिर बसेर आफू अनुकूल पार लगाउन सकिंदैन भन्ने उनले बुझेका छन् । तर,अहिलेको समीकरण भत्काउन नसके एमालेसंग मिलेर सरकारमा जाने रहर पूरा हुँदैन भन्ने पनि उनलाई राम्रोसँग थाहा छ । 

राजनीतिक ध्रुवीकरणको गन्ध चल्नेबित्तिक्कै लामिछानेले तारन्तार बालुवाटार र बालकोट दौडधुप गर्नुलाई सरकारमा जाने उनको तीब्र चाहनाको परिणाम हो भन्छन् जानकारहरु ।

टिप्पणीहरू