काङ्ग्रेसलाई अध्यक्ष दिन प्रधानमन्त्रीलाई मुश्किल-"स्थिति फेरियो"

काङ्ग्रेसलाई अध्यक्ष दिन प्रधानमन्त्रीलाई मुश्किल-"स्थिति फेरियो"

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा अध्यक्ष नेपाली काँग्रेसलाई नदिने संकेत गर्नुभएको छ । 

कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्ष बनाउन आफू सकारात्मक हुँदाहुँदै पनि घटनाक्रम नयाँ तरिकाले अघि बढेकाले परिस्थिति बदलिएको उहाँले बताउनुभयो । 

आज गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्रीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, 'सिटौलाजीले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भनेपछि सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि नयाँ ढंगले अगाडि गए ।'

पार्टीको स्थायी समिति बैठकले अध्यक्ष नछोड्ने लिखित निर्णय नगरेको समेत प्रधानमन्त्रीको भनाई छ । तर, बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको,महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको कुरालाई उहाँले परिस्थिति भिन्न ढंगले अगाडि बढेको रुपमा उल्लेख गर्नुभएको हो ।

टिप्पणीहरू