उता मन्त्रीको मृत्यु, यता हाकिमको मोज

उता मन्त्रीको मृत्यु, यता हाकिमको मोज महानिर्देशक प्रदिप अधिकारी र श्रीमती क्याप्टेन सुफल केसी / ठेकेदार प्रेमप्रकाश ढकाल।

एउटा सरकारी कर्मचारीले आफ्नो कार्यकालमा कति सम्पत्ति कमाउला ? सामान्य जवाफ हुन्छ– बढीमा दुई–चार करोड ! तर, ०६४ सालमा इञ्जिनियरबाट सरकारी सेवा शुरु गरी अख्तियारको लामो छानबिनबाट यतिञ्जेल बच्दै आएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जागिरको १६ वर्षे अवधिमा अर्बौंको सम्पत्ति जम्मा गरेको पाइएको छ ।

पोखरा र भैरहवा विमानस्थल निर्माण गर्दा ठेकेदारसँग मिली करोडौँ कमाएको आरोप लागिरहँदा उनले आफू, परिवारका सदस्य र व्यावसायिक पार्टनरका नाममा जग्गा किनेको प्रमाण फेला परेको हो । 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा दुःखद निधन भयो । निर्माणाधीन विमानस्थल अवलोकनका लागि तेह्रथुम र पाथीभरा मन्दिर पुगेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा उनीसहित सबैले ज्यान गुमाएको कहालीलाग्दो घटना हो– २०७५ फागुन १५ गतेको । उनै रवीन्द्रको ‘ड्रिम प्रोजेक्ट’ पोखरा क्षेत्रीय विमानस्थलको आयोजना प्रमुख थिए, प्रदिप ।

त्यस दिन उनी पनि सँगै पाँचथर जाने कार्यक्रम थियो । तर, घरमा पूजाको कार्यक्रम रहेकाले नभ्याउने भन्दै जान मानेनन् । प्राप्त तथ्यले भन्छ– हेलिकोप्टर दुर्घटनामा मन्त्रीको मृत्यु भएको खबर सार्वजनिक भैरहँदा उनी भने चितवनस्थित घरमा पूजा गर्न होइन, जग्गा पास गर्न मालपोत कार्यालय पुगेका थिए । 

निकटहरूसँग तत्कालीन मन्त्री प्रेम आले र राजनीतिक नेतृत्वलाई करोडौँ बुझाएर महानिर्देशक बनेको बताउने गरेका प्रदिपमाथि पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा ठेकेदार कम्पनीसँग सेटिङ मिलाएर अर्बाैं रकम कमाएको आरोप लागिरहँदा उक्त रकम जग्गामा लगानी गर्दै आएको प्रसंग हो यो ।

तालुकवाला पर्यटनमन्त्री बितेपछि मात्रै उनले चितवन र ललितपुरमा ५० करोड बढीको जमिन जोडेको पाइएको छ । अधिकारी हेलिकोप्टर दुर्घटनामा परेकै दिन प्रदिपले चितवनमा १४ कठ्ठा ३ धुर जग्गा किनेर आफ्नो नाममा पास गरेका थिए । मालपोत कार्यालयको रेकर्डअनुसार शिव पाण्डेसमेत ३ जनाको राजीनामाबाट साविकको चैनपुर गाविसस्थित कित्ता नम्बर ८९१, ८९५, ८९२ र १३८३ को आवादी जग्गा उनले लिखत पास गरेर लिएका थिए । सोही दिन १३८० कित्ता नम्बरको १६८०.२६ वर्गमीटर आवादी जग्गा सानु कँडेलबाट प्रदिपको नाममा लिखत पास गरिएको थियो ।

कूल ४४७३.२५ वर्गमीटर अर्थात् करिब ८ रोपनी ३ पैसा अर्थात् १४ कठ्ठा ३ धुर क्षेत्रफलको यो जग्गाको हाल सरकारी दरअनुसार ६ करोड १६ लाख मूल्य पर्छ । आकर्षक घडेरीका रूपमा किनबेच हुने उक्त जग्गाको चलनचल्तीको भाउअनुसार २० करोड बढी मूल्य पर्न आउँछ । 

प्रदिपले केही समयअगाडि ललितपुरको बालकुमारी पुलछेउ (प्रहरीको गोली र टियर ग्यास सेल लागेर दुई युवक मारिएको ठाउँ नजिकै) पनि करोडौँको जग्गा लिएर राखेका छन् । सरकारी रेटअनुसार २ करोड १२ लाख पर्ने तीन कित्ता जग्गा २०७७ पुस २४ गते एकैदिन लिखत पास गरेर उनले आफ्नो नाममा ल्याएका हुन् ।

मालपोतको रेकर्डअनुसार साविकको ललितपुर उपमहानगरपालिकास्थित इमाडोलमा ४५६.४५ वर्गमीटर क्षेत्रफल रहेको कित्ता नम्बर ४४२ को आवादी जग्गा उनले २०७७ पुस २४ गते आफ्नो नाममा लिखत पास गरेर ल्याएका थिए । ४३.५५ वर्ग मीटर क्षेत्रफलको कित्ता नम्बर ६०९ र ३०.२५ वर्गमीटरको कित्ता नम्बर ४३७ को जग्गा पनि ०७८ असार २४ गते क्रमशः चन्द्र महर्जन र चन्द्रेश्वरी महर्जनले राजीनामा गरी उनको नाममा लिखत पास गरेको देखिन्छ । जम्मा ५३०.२५ वर्ग मीटर क्षेत्रफलको घडेरीमा किनबेच हुने उक्त जग्गा अहिलेको बजार भाउअनुसार १० करोडभन्दा बढी पर्ने आकर्षक जग्गा हो । 

श्रीमती, आमा र आफ्ना व्यावसायिक साझेदारहरूका नाममा पनि प्रदिपले कुस्त सम्पत्ति किनेर राखेका छन् । हाल बसोबास गरिरहेको साविक ललितपुर उपमहानगरपालिका–५ सातदोबाटो एन्फा कन्प्लेक्सको पूर्वतर्फ रहेको कित्ता नम्बर–२२४ को ४१३.२७ वर्ग मीटर जग्गामा बनेको दरबारजस्तो भव्य बंगला उनले सेनामा कार्यरत श्रीमती सुफल केसीको नाममा राखेका छन् । उक्त घडेरी २०७५ साल असार ४ गते किनेको मालपोतको रेकर्डमा देखिन्छ ।

त्यस्तै, आमा पुण्यप्रभा अधिकारीको नाममा चितवनमै प्रशस्त जग्गा जोडेको भेटिएको छ । २०७८ साल फागुन १०, २० र २७ गते फरक–फरक कित्ताका मूल्यवान जग्गा उनले आमाको नाममा राखेका हुन् । फागुन १० गते ७०४३, ७०६५, ७०६३, ७०४१, र ७१३२ कित्ता नम्बरको आवादी जग्गा पुण्यप्रभाको नाममा पास गरिएको र त्यसको १० दिनपछि ७०५७ र लगत्तै एक सातापछि ६६८९ कित्ता नम्बरका नम्बरी जग्गा पुण्यप्रभाको नाममा लगिएको मालपोतको ढड्डामा देखिन्छ ।

प्रदिपले आमाको नाममा राखेको छुट्टाछुट्टै उक्त जग्गाको कूल क्षेत्रफल १ रोपनी हुन आउँछ । अहिलेको सरकारी भाउ प्रतिकठ्ठा ४४ लाख पर्ने उक्त आकर्षक जग्गाको चल्तीको मूल्य साढे ३ गुणा बढी पर्छ ।

 

सम्पत्ति शुद्धीकरणबाट जोगिन प्रदिपले एउटा घर र चितवनको जग्गा भने निकट दुई ठेकेदारको नाममा राखेको खुलेको छ । स्रोतले दिएको जानकारीअनुसार आफ्नो निवास छेउमै रहेको भव्य बंगला नक्कली किनबेचका आधारमा उमा एण्ड कम्पनीका मालिक प्रेमप्रकाश ढकालको नाममा राखेका छन् । ढकाल तिनै हुन्, जसलाई प्रदिपले पोखरा र भैरहवा विमानस्थलको आयोजना प्रमुख हुँदा ठेक्का दिलाएका थिए । ढकालमार्फत भैरहवा विमानस्थलको ठेक्का क्षमादेवी कन्स्ट्रक्सनका धनबहादुर बूढासम्बद्ध अर्जुन खड्कालाई दिइएको थियो ।

जानकारहरू भन्छन्– अमेरिकाको ग्रिन कार्ड होल्डर खड्का पनि प्रदिपका आर्थिक साझेदार हुन् । चितवनको अर्काे जग्गा प्रदिपले कागजी किनबेचका आधारमा उनै ठेकेदार ढकाल र अर्का साझेदार सागरमोहन भट्टराईको नाममा राखेका छन् । सागर सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईका भतिजा हुन् ।

प्रदिपको नाममा रहेको १४९, २१८० र २३१६ कित्ता नम्बरका जग्गा ०७७ साल असोज १५ गते मालपोत कार्यालय चितवनले प्रदिपबाट सारेर यी दुई जनाको नाममा संयुक्त पास गरेको देखिन्छ । यसरी कृत्रिम कारोबार गरेर लुकाइएको ८ कठ्ठा जग्गाको मूल्य सरकारी रेटअनुसार झण्डै साढे ३ करोड पर्छ भने चलनचल्तीमा २० करोड मोलिन्छ ।

आफू बस्ने श्रीमतीका नामको घरछेउमै अर्काे घर पनि उनले कागजी किनबेच देखाएर उनै ठेकेदार प्रेमप्रकाश ढकालको नाममा राखेको देखिन्छ ।
 

टिप्पणीहरू