अमेरिका छिर्न जहाज बुक !

अमेरिका छिर्न जहाज बुक !

डेढ महिनाअघि मानवतस्करीमा प्रयोग भएको भारतीय यात्रुवाहक विमान ४ दिन फ्रान्स बसेर फर्किएपछि नेपालमासमेत हलचल मच्चियो । मानव तस्करीको आशंकामा दुबईको फुजिरा विमानस्थलबाट २ सय ७६ यात्रु लिएर पेरिस पुगेको चार्टर विमान मुम्बई एयरपोर्टमा अवतरण गरेपछि सुनकाण्डको पर्दाफास भएको हो । जर्मनको फ्रयांकफर्टबाट मेक्सिको हुँदै २ वटा चार्टर विमान निकारागुआमा अवतरण भएका थिए । ती दुबै विमानमा अमेरिका जाने नेपाली यात्रु थिए । चार्टर एयरबस ए ३४० युएईबाट निकारागुआका लागि उडान भर्ने तयारीकै बीच फर्काइए पनि मानवतस्कर गिरोहले शारजाह विमानस्थलबाट पुनः मानव तस्करी गरिरहेको खुलेको छ । 

अहिले पनि दुबईमा हजारौं नेपालीलाई अमेरिका पठाउनका लागि धनबहादुर केसीनिकट मानव केसी भन्ने व्यक्तिले थुपारेर राखेका छन् । उनीहरूलाई ट्राभलमा टिकट काट्ने, चार्टर गर्ने काम उनै मानव केसीले गर्दै आएका छन् । केसीको गिरोहले दिल्ली, हैदरावाद, कलकत्ता, मुम्बईलगायत भारतका विभिन्न शहरमा अमेरिका पठाउने नेपालीलाई राखेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का एक अधिकारीले अमेरिकालगायत देशमा हुँदै आएको मानवतस्करीमाथिको अनुसन्धान जारी रहेको र गिरोहको जालो चाँडै तोडिने दाबी गरेका छन् । केसीसहितको गिरोहले १५ वर्र्षदेखि भिजिट भिसामा दुबई पु¥याएर इक्वेडर हुँदै अमेरिका पठाउँदै आएको रहस्य विस्तारै खुल्दै छ । यो गिरोहले सन् २००३ देखि २००४ सम्म सिंगापुर हुँदै युरोपमा मानव तस्करी गराउँथ्यो । 

इक्वेडरमा विदेशी केटी विवाह गरेका उनका एक छोरा र छोरी छन् । केही समयअघि अमेरिकामा मानव तस्करी गर्ने गिरोहका अर्का सदस्य हस्त गौतम भन्ने हस्त केसी पक्राउ परेसँगै यो गिरोहको पोल खुलेको हो । हस्त हाल केन्द्रीय कारागारमा छन् । गिरोहले मित्रनगरमा रुकुमेली ट्राभल्स र नक्साल चोकमा रुकुमेली मनि ट्रान्सफरसमेत खोलेको र तहाँबाट मानव ओसारपसार, हुण्डी, सुन र डलरको धन्दा चल्दै आएको बताइन्छ । 

गिरोहले मानव तस्करीबाट आर्जित अवैध पैसाले ग्राण्डी अस्पताल नजिकै सेतो बाघ नामक दरबारसमेत निर्माण गरेको एक पीडितको भनाइ छ । अमेरिका मानवतस्करी गर्ने पहिलो र दोस्रो चार्टर सफल भए पनि तेस्रोचाहिँ मिलेमतोमा पेरिस पुगेको विमान फिर्ता भएको थियो । पहिलो चार्टर विमानमा करिब १ सय जना नेपाली थिए ।

गिरोहलाई मानव तस्करी गराउने सहयोगीका रूपमा मिलन गुरुङ, हरि थापा (दाङ), मिनबहादुर केसी (दाङ), विकास केसी (रुकुम) श्रीप्रसाद श्रेष्ठ (पर्वत), जेम्स भन्ने सविन लामा (सिन्धुपाल्चोक), भरत बिक (दाङ), रामबहादुर केसी (रुकुम पश्चिम), मनीष शर्मा (बाग्लुङ), अरुण बुढामगर(रुकुम), भरत काफ्ले (स्याङ्जा) हरि खड्का (बाग्लुङ), सन्तोष थापा (दाङ), दुर्गा डाँगी (दाङ), प्रेम केसी (रुकुम), रूपक गौतम (रुकुम), भूपति श्रेष्ठ(रुकुम), शोभाकर पौडेल शर्मा (रुकुम), कमल खड्का (बाग्लुङ), जनक श्रेष्ठ (पर्वत), मदन गिरी (रुकुम) रहेको प्रहरीको रिपोर्ट छ ।

त्यसैगरी, आले भनेर चिनिने यमबहादुर आले (गोरखा), प्रेम पाण्डे (चितवन), सत्यमान बुढामगर (रुकुम), सिबी गुरुङ भन्ने चन्द्रबहादुर गुरुङ (ओखलढुंगा–रुम्जाटार) ले पनि मानवतस्करीमा सहयोगीको काम गर्दै आएका छन् । गिरोहमा आरएन गौतम, जनकप्रसाद श्रेष्ठ(पर्वत) लगायतले पनि सहयोग गर्दै आइरहेका छन् । आशिष सापकोटा भने मानव तस्करीमा सहयोग गर्न अमेरिकामै रहेको खुलेको छ । कुनै समय मस्को बसेका चन्द्रबहादुर गुरुङले दिल्ली बसेर सेटिङ गर्दै आइरहेका छन् । दिल्लीमा उनले कुनै पीडितले सम्पर्क गरेमा भारतीय र नेपाली प्रहरी सबै सेटिङ मिलाएको छु भन्ने गरेको एक पीडितको भनाइ छ । 

दुबईदेखि भारतसम्म सक्रिय

पछिल्लो समय सरकारले दुबई जान कडाइ गरेपछि गिरोहले मुम्बई ट्रान्जिट बनाएर फ्रान्स हुँदै कोलम्बियाको बाटो पानामा लाने र त्यहाँबाट क्यारेबियन सागरमा डुंगामार्फत अमेरिका पुर्‍याउने गरेको छ । बिनाभिसा पानामाबाट अमेरिका छिर्ने क्रममा जंगल, समुन्द्र र बाटोमा धेरै नेपालीले मृत्युवरण गरेका छन् । गिरोहले ३५ लाखदेखि ७० लाख रूपैयाँसम्म लिएर बिनाभिसा अमेरिका पठाउने धन्दा १५ वर्र्षदेखि चलाइरहेको छ । 

०७९ साल वैशाखमा ३५ लाख बुझाएर कोलम्बिया पुगेका रुकुम मुसिकोटका रमेश गौतमको क्यारेबियन सागरनेर डुंगा दुर्घटनामा मृत्यु भयो । घरबाट हिँडेको करिब ६ महिनापछि उनी पानामातर्फ अघि बढेका थिए । २०७९ कात्तिक २७ गते राति स्थानीय सुरक्षा फौजको आँखा छल्दै अघि बढेको डुंगा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । डुंगा दुर्घटना हुँदा रमेशसँगै रुकुम बाँफिकोट गाउँपालिका–७ का प्रदीप खत्रीको मृत्यु भएको हो । दाङको तुलसीपुरका रेशम ढेंगा मगरको पनि अमेरिका जाने क्रममा डुंगा पल्टिएरै मृत्यु भएको थियो । ३६ प्रतिशत ब्याजमा २८ लाख रूपैयाँ ऋण लिएर गिरोहलाई बुझाउने मगर परिवारको बिचल्ली भयो । दाङ तुलसीपुर उपमहानगरपालिका–३ गोटीखोलाका साहिल बोहरा पनि ३० लाख बुझाएर २७ भदौ २०७८ मा अमेरिका छिर्ने सपनासाथ हिँडेका थिए । 

शुरुमा उनलाई एजेन्टले दुई महिना दुबईमा राखे, त्यसपछि अर्को एजेन्टको साथ लागेर पेरु पुगे । एजेन्टको पछि पछि लाग्दै जाँदा लगातारको हिँडाइले बिरामी परे । हिँड्दाहिँड्दै बाटोमै ढले । सँँगै यात्रा गर्नेहरूले अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरे । साहिलको अमेरिका जाने सपना पेरुमै अन्त्य भयो । 

गिरोहले बिनाभिसा अमेरिका पुर्‍याइदिने भनेर लगेका प्युठान ४ खवाङका काले गिरीको पनि पानामाको डुंगा दुर्घटनामा मृत्यु भएको थियो । गत असोज अन्तिमको डुंगा दुर्घटनामा ३ जना नेपाली बेपत्ता हुँदा गिरी पनि परेका थिए । गिरी बिनाभिसा अमेरिका जान झण्डै १५ महिनाअगाडि नेपालबाट हिँडेका । कोलम्बिया, पेरु, पानामा सिटीमा महिनौंसम्म हिंडाएर गैरकानुनी रूपमा अमेरिका पठाउने क्रममा ६ जनाको मृत्यु भएको घटनामा प्रहरीले पर्याप्त प्रमाण जुटाए पनि अझैसम्म कसैलाई समात्न सकेको छैन ।

टिप्पणीहरू