वसन्त पर्वको सांस्कृतिक प्रस्तुति र मैत्रीपूर्ण फुटबल प्रतियोगिताले गुञ्जियो काठमाडौं

वसन्त पर्वको सांस्कृतिक प्रस्तुति र मैत्रीपूर्ण फुटबल प्रतियोगिताले गुञ्जियो काठमाडौं
सुन्नुहोस्

चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा शुरु भएको छ । दुबै मुलुकबाट २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीचको प्रतिस्पर्धा दशरथ रंगशालामा भइरहेको छ ।

यसअघि रंगशालामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा जारी कार्यक्रममा नेपाली चिनियाँ कलाकार तथा खेलाडीले आफ्नो कला प्रस्तुत गरेका छन् । 

 

भव्य सांस्कृतिक समारोहमा खेलाडीहरुले उसु र कराँते खेलको कौशल प्रस्तुत गरेका छन् । नेपाली सांगीतिक ब्याण्ड कुटुम्बको लाइभ प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रमपछिको फुटबल प्रतिस्पर्धामा नेपाली र चिनियाँ दर्शकहरुको बाक्लो उपस्थिति छ । 

कार्यक्रममा कलाकारहरुले ड्रागन, लायन र किरिन नृत्य प्रस्तुत गरेका छन् । आजै बिहान राजधानीको दरबारमार्गमा पनि ती नृत्य देखाइएको थियो । हिजो ठमेलमा वसन्त चाडको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चिनियाँ पात्रोअनुसार आजदेखि शुरु भएको नयाँ वर्ष ड्रागन वर्ष हो । आजदेखि चिनियाँहरुको दशैं अर्थात वसन्त चाड  शुभारम्भ भएको छ भने आजै तामाङ्ग जातिको ल्होसार पर्व पनि हो  ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र चिनियाँ राजदूत छन सोङ्गसहित समाजका गण्यमान्य ब्यक्तिहरु,सबै उमेर र तप्काका खेलप्रेमीहरुले समेत कार्यक्रममा भव्य सहभागिता जनाइरहेका छन् । दशरथ रङ्गशालामा जारी चीन- नेपाल मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल फर्स्ट हाफमै चीनमाथि हावी भएको छ । अहिलेसम्म दुई गोल हानेर अग्रता लिएको छ ।


 

टिप्पणीहरू