सोफियालाई आमाले त्यत्तिकै सिध्याइदिएको भए

सोफियालाई आमाले त्यत्तिकै सिध्याइदिएको भए

‘यो कुरुप बच्चीलाई किन मर्न दिन्नौ ? तिमी कुन स्थितिबाट गुज्रँदै छौ ? तिम्रो बिहे पनि भा’को छैन, अनि तिमी दुबै जनालाई कसैले नोकरी दिने स्थिति पनि छैन । यस्तो अवस्थामा यो बच्चीलाई छातीमा टाँसेर किन बस्छौ ? यो मूर्खता हो । तिमीहरूले यो कोठाको भाडा तिरेनौ भने म यहाँ बस्न दिन्न, तब कहाँ जान्छौ ? तिम्रो स्तनबाट एक थोपा दूध चुहिएको छैन, तिमीले केही खान पाइरहेकी छैनौ, तिम्रो यो छोरी दिनभर मुन्टो चुसेर बसेको हुन्छ । हेर यसको शरीरको छाला हड्डीमा टाँसिइसकेको छ । भो, यो बच्चीलाई मर्न देऊ, तिमीलाई कसैले दोष दिँदैन । म यसको जिम्मा लिन्छु ।’

यो भनाइ रोमिल्दा कोठा भाडामा बस्ने घरका मालिक्नीको हो । घरपट्टी आमाले बच्चीलाई त्याग्न जति कर गरे पनि रोमिल्दा उसलाई छातीमा टाँसेर बसिन् । बच्चीलाई जसरी पनि पाल्ने र हुर्काउने अठोट गरिन् । घरबेटी आमाले कुरुप भनी सराप्ने र आमाको दूध चुस्न नपाएर मर्न लागेकी ती बच्ची भविष्यमा संसारकै सुन्दरीमध्येकी एक र सेक्स सिम्बोलसमेत कहलिइन् भने नाम, दाम, इज्जत सबै कमाएर ऐशआरामको जिन्दगी बिताइन् । तिनै बच्ची हुन्, विश्वविख्यात सिने अभिनेत्री सोफिया लोरेन । 

सन् १९५० को दशकमा चलचित्र जगतमा प्रवेश गरेकी उनी यतिखेर स्विट्जरल्याण्डको जेनेभामा बस्छिन् । उनका समकालीन अभिनेत्रीहरू प्रायः सबैको निधन भइसकेको छ । सन् १९५० देखि सन् २०२१ सम्मको समयावधिमा ठ्याक्कै सय वटा चलचित्रमा अभिनय गरेकी र साना–ठूला सबै पुरस्कार पोल्टामा पार्न सफल उनले ९०औं वसन्त पार गरिसकिन् । उनी इटली सरकारबाट प्रदान गरिने उच्च सम्मान ‘नाइट ग्राण्ड क्रस अफ दि अर्डर अफ मेरिट’ बाट सम्मानितसमेत भइसकिन् । यद्यपि, उनको जीवनको यात्रा सहज भने थिएन । त्यसैले पत्रकारलाई अन्तर्वार्ता दिँदै एकपटक भनिन् ‘जुन बेला मैले पर्याप्त आत्मविश्वास हासिल गरिसकेको थिएँ, तब सिनेमञ्च मबाट खोसियो ।

जुनबेला मलाई लागिसकेको थियो कि म हार्छु, तब अचानक जित मेरो पोल्टामा पर्‍यो । जुनबेला मलाई सहयोगको आवश्यकता थियो, तब सबैले मलाई छाडेर गए । जुनबेला मैले आँशु सुक्न दिन सिकिसकेको थिएँ, तब रुनका लागि मलाई कसैको काँध मिल्यो । जुनबेला मैले घृणा गर्नमा सफलता हासिल गरिसकेको थिएँ त्यो बेला धेरैले मलाई हृदयदेखि प्रेम गर्न थाले । जब म घण्टौं प्रकाशको प्रतीक्षा गर्दागर्दै निदाउन पुगेँ, तब सूर्यको उदय भयो । यही त रहेछ जीवन ।’

सन् १९३४ ताका इटलीको समाज घोर परम्परावादी थियो । त्यसमाथि समुद्री किनारमा अवस्थित सानो रुढीवादी नगर पोजुओलिका बासिन्दा बिहे नगर्दै कुनै केटी आमा बनेको घटनालाई स्वीकार्न तयार हुने कुरै भएन । तर, सोफियाकी आमा रोमिल्दाले प्रेमी रिकार्दो सिकोलोनसमक्ष पूर्णसमर्पण गरिसकेकी थिइन् । छोरीले गर्भ बोकेपछि आमाले भयंकर बदनामी सहिन् । छोरीले बिहे गर्न तयार नहुने केटोलाई किन शरीर सुम्पेकी होली भनेर खिन्न भइन् । रिकार्दो इञ्जिनियर त बनिसकेका थिए तर काम नगरी अल्लारे बनेर हिँड्ने बानी थियो । त्यसैले रोमिल्दालाई गर्भवती बनाई बेपत्ता भए । प्रसव पीडाले च्याप्न थालेपछि आमाले रोम लिएर गइन् र एउटा प्रसूतिगृहमा भर्ना गरिदिइन् । त्यहाँ रोमिल्दाले छोरी जन्माइन् ।

धन्न, त्यो दिन कहाँ–कहाँबाट रिकार्दो टुप्लुक्क अस्पताल पुगे र छोरीलाई सकारे । उनैले नाउँ राखिदिए – सोफिया सिकोलोन । सुत्केरी रोमिल्दा नवजात बच्चीलाई कोठामै छाडेर काम खोज्न जान्थिन् । शुरु–शुरुमा भर्खरकी बच्चीलाई हेर्नुपर्दा घरबेटी पनि दिक्क मान्थिन् अनि बच्ची मरोस् भनेर सराप्थिन् । तर, पछि मनमा दया पलायो र बच्चीलाई बचाउन ठूलै चेष्टा गर्न थालिन् । एक दिन मूर्खतावश डेढ महिनाको दालको झोल पिलाइन् । बच्चीलाई रातभर झाडापखाला लाग्यो । उपचार गराउन पैसा नभएपछि रिकार्दो फेरि भागे । रोमिल्दा कुनै उपाय नदेखेपछि बच्चीलाई च्यापेर माइत पुगिन् । छोरी र नातिनीको अवस्था देखेर बज्यै दुःखी बनिन् । रोमिल्दालाई शरण मात्र दिइनन् नातिनीको उपचार पनि गराइन् । बाजेले बच्चीको पालनपोषणार्थ धाइआमाको व्यवस्था गरिदिए । यसरी सोफिया मामाघरमा हुर्कन थालिन् । 

रोमिल्दाले स्थानीय रेष्टुराँमा पियानो बजाउने काम पाइन् र उक्त कमाइबाट छोरीलाई पढाउन थालिन् । यसबीच, समय–समयमा उनी र रिकार्दो फेरि भेट्ने गरे । नतिजा ः सोफिया ४ वर्षको हुँदा रोमिल्दाले अर्की छोरी जन्माइन् । तर, छोरी मारियालाई सकार्न रिकार्दो तयार भएनन् । सोफिया ५ वर्षको हुँदा एकदिन रोमिल्दाले पत्र लेखेर रिकार्दोलाई घर बोलाइन् । सोफियाले पितालाई देखेको यो नै पहिलो पटक थियो ।

रिकार्दोले खेलौना साइकल ल्याइदिएका थिए तर सोफियाले त्यो लिन इन्कार मात्र गरिनन् बरु रिकार्दोलाई पिता मान्नै अस्वीकार गर्दै र घरबाट निस्कन भनिन् । सायद त्यसैले पनि होला उनी जीवनभर बाउसरहको उमेरका पुरुषप्रति अनुरक्त भइरहिन् । हरेक पुरुषमा पिताको माया खोजिरहिन् । यौनको देवी कहलिएकी र सेक्स सिम्बोलको प्रतीक मानिए पनि हलिउड सिनेजगतमा त्यस्ती कलाकार रहिन्, जो प्रेम, सेक्स काण्डमा कमै मुछिइन् । केही समय हलिउड सिनेअभिनेता केरी ग्रान्टको चक्करमा फसिन् । त्योबेला केरी सोफियाभन्दा ३० वर्ष जेठा थिए ।

चलचित्र ‘प्राइड एण्ड दि प्यासन’ को छायांकनका दौरान दुवै नजिकिएका हुन् । जम्मा ५ पटक बिहे गरेका केरीले त्यसबेलासम्म ३ पटक पत्नी भित्र्याइसकेका थिए भने सोफियासित प्रेमचक्कर चलाउँदा अमेरिकी अभिनेत्री बेट्सी ड्रेकका पति थिए । सोफियाले त्यसैबेला इटालियन चलचित्र निर्माता कार्लो पोन्टीसित बिहे गरिन् । ५ वर्षपछि छुट्टिएर ४ वर्षमा फेरि उनैसित बस्न गइन् । पछिल्लो बिहे ४१ वर्ष टिक्यो, सन् २००७ मा कार्लोको निधन नहुन्जेलसम्मै । कार्लो पनि सोफियाभन्दा २७ वर्ष जेठा थिए । 

सन् १९३९ को अन्त्यतिर पूरै युरोप विश्वयुद्धमा होमियो । इटलीका शासक बेनिटो मुसोलिनी तानाशाह हिटलरका सहयोगी थिए । ५ वर्ष सोफियाले युद्धको उन्माद, विनाश र ताण्डव नजिकबाट हेरिन् । युद्धपश्चात् फेरि चलचित्र चल्न थाल्यो । युद्धको स्वरुपमा परिवर्तन आयो । सोफियाले आफूमा अभिनय कला भएको महसुस गरिन् । उनलाई त्योबेलाका चर्चित अभिनेत्रीद्वय रिता हेवार्थ र भेरोनिका लेकको अभिनय मन पथ्र्याे भने नायकमा केरी ग्रान्ट र फ्रान्क सिनात्रा प्रिय लाग्थे । ठीक त्यसैबेला नेपल्समा ‘समुद्रकी महारानी’ उपाधिको सौन्दर्य प्रतियोगिता आयोजना गरियो । रोमिल्दाले १४ वर्षकी छोरीलाई प्रतियोगितामा भाग लिन लगाइन् । सोफियाले टाइटल त जित्न सकिनन् तर श्रेष्ठ १२ मा परिन् ।

त्यसबापत रोम जाने हवाई टिकट, वाल पेपर, एउटा टेबुलपोस, १२ टुक्रा रुमाल, र १२ हजार लिरा पाइन् । रोमिल्दा सोफियालाई चलचित्रको हिरोइन बनाउन चाहन्थिन् । त्यसैले अभिनय स्कुलमा भर्ती गरिदिइन् । एक दिन उनलाई अभिनय सिकाइरहेका शिक्षकले एउटा अमेरिकी फिल्म कम्पनी रोम आइरहेको र उसलाई केही कलाकार आवश्यक रहेको सुनाए । सोफियाकी आमा आमाबुबाको विरोधको परवाह नगरी छोरीलाई लिएर रोमतर्फ लागिन् । 

रोम पुगेर रिकार्दोलाई फोन गरिन् र उनको घर पुगिन् । तर, रिकार्दो सोफियालाई कुरुप बाँदर ठान्थे । त्यसैले कुनै मद्दत गर्न मानेनन् मात्र होइन, घरबाटै निकालिदिए । आमा–छोरीले यताउता हण्डर खाँदै गुजारा चलाए । एकदिन दुबै जना अमेरिकी फिल्म कम्पनीको अफिसमा पुगे र निर्देशक मेर्भिन लेरोयसित भेटे । त्यो बेला मर्विन सहायक कलाकारको खोजीमा थिए । सोफियालाई देख्नेबित्तिकै फिल्ममा लिन माने । फिल्म ‘कुओ भादिस’ मा सोफियाले सानो काम पाइन्, दासीको भूमिकामा । त्योबेला सोफियाको उमेर १६ थियो । सन् १९५० मै ३ वटा चलचित्र रिलिज भयो । उनको अभिनयलाई सबैले मन पराए । अर्को वर्ष ६ वटा चलचित्रमा खेलिन् । त्यसमध्येको एउटा हो ‘इट्स हिम, ‘ येस येस’ । यो हास्य फिल्मका निर्देशक थिए मारिनो गिरोलामी ।

उनलाई सोफिया सिकोलोनको नाउँ कस्तो–कस्तो नमिलेजस्तो लाग्यो र सोफिया लाजारो नाम दिए । सोफिया लोरेन त पछि लोग्ने बनेका कार्लो पोन्टीले राखिदिएको नाउँ हो । मुख्य भूमिकामा अभिनय गर्न पाएको पहिलो फिल्म चलचित्र ‘टु नाइट्स विथ क्लियोपेट्रा’ हो जुन सन् १९५३ मा प्रदर्शित भयो उनी १९ को हुँदा । त्यसपछि भने फर्केर हेर्नै परेन । प्रायः चलचित्र सफल रहे । रातारात सफल अभिनेत्री बनिन् । सन् १९५८ मा प्रदर्शित डिजायर अण्डर दि इल्म्स’ ले बल्ल उनलाई विश्वप्रसिद्ध बनाइदियो । 
 

टिप्पणीहरू