क्रिश्चियन यस्तरी ह्वात्तै बढ्नुमा हिन्दु दाजुभाइको ठूलो हात छ

क्रिश्चियन यस्तरी ह्वात्तै बढ्नुमा हिन्दु दाजुभाइको ठूलो हात छ

सन् १९८७ देखि क्रिश्चियन धर्म अँगालेका रामेछापका प्रेम कार्की ख्रिस्टियन महासंघको केन्द्रीय सदस्य, सचिव हुँदै उपाध्यक्षसम्म भए । उपाध्यक्षमै रहँदा अध्यक्षले उनीसहित ४५ सदस्यलाई हटाएपछि अहिले निष्क्रिय छन् । टिकाथलीमा एभनजिलिकन चर्च चलाउँदै आएका उनी पास्टर पनि हुन् । यस अलावा रामेछाप, उदयपुर, सल्यानमासमेत उनका चर्च छन् । ५५ चर्च आबद्ध रहेको छुट्टै संस्था फेथ सोसाइटी (विश्वासको समाज) खोलेर अध्यक्षको जिम्मेवारीमा रहेका उनी राजनीतिमा पनि जोडिएका छन्, नागरिक पार्टीमार्फत् । यसअघि सिबी गहतराज अध्यक्ष रहेको सामाजिक एकता पार्टीमा आबद्ध थिए ।

– हरि गजुरेल 

० ५ वर्षे कार्यकालका लागि राष्ट्रिय ख्रिष्टियन महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो, बीचैमा हटाइनुभयो । कारण के हो ? 

– अध्यक्ष सिबी गहतराजले केही नसोधी, महाअधिवेशनसमेत नगरी कमिटी चेञ्ज गर्नुभयो । र, अहिले हामी निस्क्रिय छौं । उनीहरूकै कमजोरीका कारण यो स्थिति आएको हो । ।

० पटक–पटक आर्थिक लेनदेन विवादमा मुछिएका सिबी गहतराज अहिले नक्कली सर्टिफिकेट काण्ड लागेर प्रहरी हिरासतमा छन् । धर्मका अगुवाहरूमा यस्तो विचलन किन ?

– उहाँमाथि नक्कली सर्टिफिकेट बनाएको आरोपमा मुद्दा परिसक्यो, धरौटीमा रिहा हुँदै हुनुहुन्छ भन्ने सुनेको छु । केही न केही प्रमाण नभई अदालतले मुद्दा दर्ता गर्दैन होला । 

० नेपालमा अहिले ख्रिस्टियनको संख्या कति छ ? 

– हाम्रा आकलनमा ४५ देखि ५० लाख हाराहारी हुनुपर्छ । 

० केहीअघि क्रिश्चियनको संख्या ह्वात्तै बढेका कारण केन्द्रीय तथ्यांक विभागले तथ्यांक सार्वजनिकमा ढिलाइ गरेको भन्ने सुनिन्थ्यो, वास्तविकता त्यस्तै हो कि फरक छ ? 

– केन्द्रीय तथ्यांक विभागले शुरुमा धर्मको तथ्यांक सार्वजनिक गरेन । किन ढिलाइ भनेर हामीले चासो लिइरहेका थियौं । क्रिश्चियनको संख्या ह्वात्तै बढेका कारण अरू धर्मलाई असर पर्ने भयो भनेर तथ्यांक तत्काल सार्वजनिक नगरिएको थाहा लाग्यो । हिन्दु अभियन्ता धु्रवराज लुँइटेलले केन्द्रीय तथ्यांक विभागमा गएर बुझ्दा १४ दशमलव २१ प्रतिशत क्रिश्चियन रहेछन् । उनीहरूले देश खाइसके । यस्तो हुँदै गयो भने २० वर्षमा सबै क्रिश्चियन हुन्छन् भन्ने तथ्य उहाँले नै सार्वजनिक गर्नुभएको हो । त्यो हिसाबले पनि ३५ देखि ३६ लाख क्रिश्चियन छन् । 

० के कारणले ? 

– नेतृत्व कसले गर्ने भन्ने विवादकै कारण अहिले एनसिएफ, एनसेसलगायत केही संस्था छन् । राष्ट्रिय ख्रिष्टियन महासंघ यी सबैको छाता हुनुपर्ने हो तर हुन सकेन । सबैले महासंघको अस्तित्व स्विकारेनन् । देशभर १७ हजार हाराहारी चर्च छन् । तीमध्ये राष्ट्रिय ख्रिष्टियन महासंघ आबद्ध २ देखि ४ हजार मात्र होलान् । 

० जहाँ जहाँ माओवादी युद्ध फस्टाएको थियो त्यहीं त्यहीं क्रिश्चियन अलि बढेको देखिन्छ, माओवादी र क्रिश्चियनको साइनो के हो ? 

– माओवादी जनयुद्धका क्रममा धेरै क्रिश्चियनले ज्यान गुमाएका छन् । पास्टरहरू मारिएका र चर्च भत्काइएका छन् । माओवादीले ल्याएका एजेण्डामध्ये धर्म निरपेक्षता हामीलाई मन परेको हो । त्यस कारण माओवादी पार्टीप्रति सहानुभूति छ । एउटा जातिले लिड गरिरहेको ठाउँमा, त्यहाँका लिडर नै क्रिश्चियन बनेको खण्डमा सहजै क्रिश्चियन बन्दा रहेछन् । जस्तो ः धादिङमा धेरै तामाङ बस्ती छन्, त्यहाँका अगुवा क्रिश्चियन धर्मपट्टि गएपछि सिंगो गाउँ नै ख्रिष्टियन भयो । हाम्रो विचार÷सोचमा त्यसरी ख्रिष्टियन हुनु राम्रो होइन । उनीहरूलाई येशुले दिएको उद्धार र मुक्तिबारे जानकारी नै छैन । ठूला मान्छे, मेरो आफन्त, नातागोता क्रिश्चियन भएका कारण क्रिश्चियन धर्म अँगाल्नेहरू धेरै छन् । 

० कतिपय दलित, आर्थिक रूपमा कमजोरहरूको बस्तीमा पुगेर उनीहरूलाई लोभ लालचमा पारी क्रिश्चियन बनाइने गरेको आरोप छ । त्यसरी धर्म परिवर्तन गराउन पाइन्छ र ?

– मान्छेहरू बिरामी हुन्छन्, धामी झाँक्री, डाक्टर लगाउँदा निको हुँदैनन् तर प्रार्थना गरेर निको हुन्छन् । यसरी रोग निको भएका कारण क्रिश्चियन बन्नेहरू ८० प्रतिशत हाराहारी होलान् । कतिपय रोग निको भएर, कतिपय आफ्ना आफन्त, समाजको अगुवा वा ठूलाठालूले क्रिश्चियन धर्म अँगालेका कारण क्रिश्चियन बनेका छन् । तीमध्ये कतिपयले बाइबलै पढ्न जान्दैनन् । कतिपय बुझेर, कतिपय नबुझी आएका छन् ।

अर्काेतिर हिन्दु धर्ममा जातीय विभेद छ । बरु पशुलाई घरभित्र प्रवेश गर्न दिन्छन्, मान्छेलाई दिँदैनन् । त्यही दमन, अत्याचार वा विभेदका कारण क्रिश्चियन धर्म मान्नेहरू बढ्दैछन् । हिन्दुहरूमा प्रेम भाव नै झल्केन । प्रेम झल्काएर सबैलाई समान ढंगले लैजाने हो भने सायद यति विधि ख्रिष्टियन बढ्दैन थिए होलान् । हिन्दु दाजु भाइहरूकै कारण ख्रिष्टियनको संख्या बढेको छ । उहाँहरूलाई अहिले त्यसमा जलन भइरहेको छ क्रिश्चियनहरूले सक्ने भए भनेर । ख्रिष्टियन जति बढ्छ त्यति नै अपराध, जुवा तास, जाँडरक्सी घट्छ । कारण, हाम्रो धर्मले त्यो गर्न दिँदैन । 

० कुनै समय काठमाडौँ उपत्यकालाई मन्दिरै मन्दिरको शहर भनिन्थ्यो । त्यही मन्दिरको शहर मानिने उपत्यकाभित्रको ललितपुरमा ०७० को दशकसम्म ११८ मात्र चर्च थिए । अहिले चार हजार बढी पुगेको आँकडा छ गृह मन्त्रालयसँग । कारण के हो ? 

– जहाँ धेरै सुसमाचार प्रचारित हुन्छ त्यहाँ धेरै चर्च खुल्छन् । हुम्ला, जुम्लामा चर्च कम छन् कारण त्यहाँ प्रचार कम छ । जहाँ सुविधा धेरै छ । जहाँ धेरै मान्छे जान्छन्, त्यही धेरै संख्यामा चर्चहरू खुलेका छन् । 

० नेपालमा कति प्रकारका चर्च छन् ? 

– चर्चहरू सम्प्रदायमा आधारित हुन्छन् । पहिला रोमन क्याथोलिक थियो । उनीहरुसँग विद्रोह गरेर निस्किएका हौं । जो ख्रिष्ट होइन तर अरूबाट पनि उद्धार र मुक्ति पाइन्छ भनेर प्रचार गर्ने केही समूह अहिले सक्रिय छन् । धेरैजसो कोरियाबाट आएकाहरू छन्, बाइबल त्यहीं पढ्छन् तर टीका लगाउन, मूर्ति पूजा गर्न, काज किरिया गर्न सबै गर्न मिल्ने हिसाबले अहिले धर्मको प्रचार गर्दैछन् । उनीहरूलाई हामी स्वीकार गर्दैनौं । 

० जसरी धर्म प्रचारका क्रममा भारतको गुजरातबाट क्रिश्चियनहरू लखेटिए । तपाईंहरूले त्यस्तो स्थिति भोग्नुपरेको छ कि छैन ? 

– कतिपय ठाउँमा पास्टरहरू धरपकडमा परेका छन्, मोसो दलिएको छ । धरानमा मन्दिरछेउ चर्च बनाउन खोजियो भनेर विवाद निकालियो । हिन्दुहरूले ख्रिष्टियन समुदायलाई यसरी दपेट्नु हुँदैन । उहाँहरूले माया गरेरै आफ्नो ग्रन्थको सुसमाचार हामीलाई सुनाए भयो नि । म पनि हिन्दु धर्मबाटै आएको हो । ९० प्रतिशत हिन्दु दाजुभाइले आफ्नो शास्त्र पढ्दैनन् ।

पाँच–सात प्रतिशत हाराहारी ब्राह्मणहरूले मात्र शास्त्र पढेका होलान् । आफ्नो शास्त्रमा के छ केही थाहा हुँदैन, बाउ बाजेले जे जस्तो मानिआएका छन्, त्यही मान्ने हुन् । सुसमाचार सुनाउने, ग्रन्थहरू बाँडिदिने, हाम्रो धर्म यी यी कारणले ठीक छ, यो धर्म परित्याग गरेर अन्यत्र नजाओ भने हुन्थ्यो होला । ख्रिष्टियनहरूलाई नै दपेट्नु पर्दथ्यो त ? 

० हालै मात्र संस्कृतिमन्त्री सुदन किरातीले एउटा कार्यक्रममा ‘क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी’ भएको र संविधान नमान्नेहरू ‘देशद्रोही’ भएकोले उनीहरूलाई ‘जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्ति दिनुभयो । रमाइलो लागेन यो सुनेर ?

– संविधानले नै विभिन्न १० धर्मलाई अङ्गिकार गरेको छ । ती धर्मलाई हामीले स्वीकार गर्नुपर्छ, कसैले कसैको धर्मलाई होच्याएर, खेदो खन्नु हुँदैन भनेर उहाँले संविधानको मर्म बोल्नुभएको हो । धेरै राजनीतिक नेता, मन्त्री त ख्रिष्टियनको कार्यक्रममा अतिथि भएर आउनुभयो तर त्यसरी बोल्ने हिम्मत कसैले गर्न सकेको थिएन, उहाँले बोल्नुभएका कारण कतिपय अतिवासीलाई सुदन किरातीको राजीनामा चाहिएको छ ।

० नेपाल धर्मनिरपेक्ष राज्य बनेसँगै धर्म प्रचार प्रसार तथा परिवर्तन गर्न तपार्इंहरूलाई सहज भएको हो नि !

– राजाको पालामा अण्डरग्राउण्डमा आराधना संगती गर्दथें । जो देखादेखी गर्थे उनीहरूलाई जेलमा कोचियो । ०४६ सालपछि धार्मिक बन्दीहरू रिहा हुँदा ती रिहा भए । पञ्चायतकालभन्दा धर्म प्रचार प्रसारनिम्ति बहुदलमा केही न केही सहज भएको हो । अहिले धर्म निरपेक्षता हात्तीको दाँत भएको छ । सनातनदेखि चलिआएको धर्म परिवर्तन स्वेच्छाले पनि गर्न नपाइने भनिएको छ । त्यो बुँदा नहटेसम्म धर्म निरपेक्षता साँचो तवरले कार्यान्वयन भएको मान्न सकिँदैन । 

० पास्टर बन्ने, रोग निको पार्दिन्छु भनेर ठग्ने, शोषण गर्ने प्रवृत्ति पनि बढ्दै छ । पोखरामा यही प्रकरणमा एक जना पाष्टर प्रहरीको खोरमा पुगे । के भन्नुहुन्छ यसबारे ? 

– बाइबलले सित्तैमै पाएको कुरा सित्तैमा देऊ भन्छ । कसैसँग शुल्क लिएर ढोंगी पाराले काम गर्छ भने त्यसलाई दण्डित गर्नुपर्छ । 

० चर्चभित्रै पनि आर्थिक पारदर्शिता नहुने गरेको सुनिन्छ । चर्चहरूलाई फण्डिङ कहाँबाट आउँछ ? विदेशी निकायले कत्तिको सहयोग गर्छन् ? 

– बाइबलले आम्दानीको दशांश भेटी परमेश्वरको भवनमा लेऊ भन्छ । दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भनिन्छ । कतिपय विदेशी नेपालमा कस्तो रहेछ ख्रिस्टियानिटी भनेर आउँछन्, स्वेच्छाले चर्चलाई सहयोग गर्छन् । चाहे युरोपियन, बेलायत वा अमेरिका नै होस्, उनीहरूले संविधान बनाउन एक सुका खर्च गरेका छैनन् । दक्षिणी छिमेकी मुलुक भारतले आफ्नो इन्ट्रेस्टको संविधान नबन्दा यिनै जयशंकरलाई दूत पठाएर संविधानै रोक्न कत्रो चलखेल गर्‍यो । त्यसरी युरोपियन मुलुकहरूले हस्तक्षेप गर्दैनन् ।

जहाँसम्म चर्चभित्र पारदर्शिताको प्रश्न छ, हामी दूधले नुहाएका छौं, हामीमा कुनै कमीकमजोरी छैन म भन्दिन । हामी कोही पनि स्वर्गबाट फुत्त झरेका होइनौं । सुन्दर बगैँचामा फलफूल फलेको छ भने केही किराले खान्छन्, कोही झर्दछन् । 

० परिवार दलका एमाले सांसद एकनाथ ढकाल कस्तो खाले क्रिश्चियन हुन् ? 

– उनी क्रिश्चियनै होइनन् । बुवा आमाको किरिया गरेका छन् । फादर मुनलाई समाएर आर्थिक लाभचाहिँ राम्रैसँग लिएका छन् । 

० चितवनबाट रवि लामिछानेलाई जिताउन क्रिश्चियनको ठूलो भूमिका थियो, बालेन साह क्रिश्चियनप्रति उदार छन् भन्ने सुनिन्छ । यसमा कतिको सत्यता छ ? 

– रवि लामिछानेलाई क्रिश्चियनले भोट खन्याएको कुरा सतप्रतिशत साँचो हो । अरू दलप्रति वितृष्णा भएका कारण यसले केही गर्दछ कि भन्ने आशा भयो र उनले क्रिश्चियनको मत पाएका हुन् । म सबै धर्मलाई मान्दछु भनेका कारण हाम्रो मत गएको हो । अहिले आएर उनी एकलवादी सोचमा अगाडि बढिरहेका छन् । ०८४ मा धेरै गाह्रो पर्ने देख्दैछु । बालेन साहलाई कुन आधारमा क्रिश्चियनप्रति उदार भन्दै हुनुहुन्छ ? उनको सोच अत्यन्त साँघुरो छ । क्रिसमसको बेला ख्रिस्टियनहरूको पसलमा राखेको क्रिसमस ट्रीसमेत फालिदिए ।

टिप्पणीहरू