थाहा छैन है

थाहा छैन है
सुन्नुहोस्

भूतपूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने यतिबेला सहकारी काण्डले घेरिनुभएको छ । उहाँ प्रमुख रहेको टेलिभिजन कम्पनीले एउटा सहकारी संस्थासँग ऋण लिएको रहेछ । उहाँकै टेलिभिजन कम्पनीका कारण सहकारी डुबेको छ । सहकारी डुबेपछि त्यसमा बचत गर्नेहरू त डुब्ने भइहाले । यसबारे प्रश्न उठेपछि उहाँले भन्नुभयो– टेलिभिजन कम्पनीले सहकारीबाट ऋण लिनु हुँदैन भनेर मलाई थाहै छैन । 

उहाँको यो भनाइ सुनिसकेपछि मलाई त लागिरहेको छ, अब बिचरालाई ऋण लिनुहुन्न भन्ने नै थाहा छैन भने ऋण किन लिएको भनेर क्यारक्यार गर्नु पनि उचित भएन । वास्तवमा उहाँलाई थाहा नभएको पनि हुन सक्छ ।

किनभने मलाई थाहा छ कि यो मात्र होइन, अरू पनि धेरै कुरा छन् जो उहाँलाई थाहा छैन । जस्तो कि उहाँलाई एकै व्यक्तिले दुई देशको पासपोर्ट लिनु हुँदैन भन्ने थाहा छैन, एउटा देशको नागरिकता प्राप्त गरेपछि अर्को देशको नागरिकता त्याग गर्नुपर्छ भन्ने पनि थाहा छैन, एउटै व्यक्तिले चार वटी श्रीमती बिहे गर्नु हुँदैन भन्ने पनि थाहा छैन । अरू त के कुरा पत्रकारिता गर्न सूचना विभागको प्रेस पास र कर तिरेको प्रमाणपत्र लिनुपर्छ भन्ने पनि थाहा छैन ।

जसलाई यति धेरै कुरा थाहा छैन, उसलाई सहकारीबाट ऋण लिनु हुन्छ कि हुन्न भनेर कसरी थाहा हुन्छ ?
 

टिप्पणीहरू