अनुभवी रोज्ने कि आलोकाँचा ?

अनुभवी रोज्ने कि आलोकाँचा ?

चितवनको उद्योग, वाणिज्य क्षेत्र पुसको जाडोमा पनि गर्माएको छ । भोलि र पर्सि उद्योग वाणिज्य संघ चितवनको वार्षिक साधारणसभा एवम् अधिवेशन हुन लागेको छ । संघको नयाँ कार्यसमितिका लागि उद्योगी, व्यवसायीहरुमा चुनावी सरगर्मी बढेपछि दौडधुप र भेटघाट बाक्लिएको छ ।
 
अध्यक्षमा सुमनकुमार श्रेष्ठ र शिरिष पन्त भिड्दैछन् । वरियता क्रमअनुसार वरिष्ठ उपाध्यक्षबाट अब संघको अध्यक्ष हुने पालो श्रेष्ठकै भएपनि तृतीय उपाध्यक्षबाट एकैचोटि अध्यक्षमा फड्को मार्न कसिएका छन् पन्त । 

त्यति लामो समय भएकै छैन उवासंघमा पन्त आएको । श्रेष्ठ विगत १८ वर्षदेखि निरन्तर संघमा रहेर कार्यभार सम्हाल्दै आएका व्यक्ति हुन् । संघको सचिवालयदेखि लिएर आर्थिक समिति, स्वास्थ्य समितिलगायत विभिन्न विषयगत समितिहरुको जिम्मेवारी सम्हाल्दै, कार्यसमिति सदस्यबाट पटक–पटक उपाध्यक्ष भएर गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चुनिएका श्रेष्ठ अरुभन्दा अनुभवी मानिन्छन् । 

उद्योगी, व्यवसायीको हकहितका लागि लामो समयदेखि संघर्षरत रही संघमा योगदान पु¥याउँदै आएका अनुभवीलाई नै अध्यक्ष बनाउन पूर्वअध्यक्ष तथा अग्रजहरु लागिपरेको बताएका छन् । पन्तको अहिले अध्यक्ष हुने बेलै नभएको अग्रजहरुको ठम्याइ छ । कार्यसमितिमा भर्खर दुई–तीन कार्यकालमात्रै भएको हुँदा अध्यक्षको निम्ति पन्तलाई आलोकाँचो नै मानिएको छ । 

त्यसमाथि श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षका उम्मेदवार राजेन्द्र ओली, वस्तुगत÷कर्पाेरेटतर्फका उपाध्यक्ष उम्मेदवार नारायण प्रधान र उद्योगतर्फका उपाध्यक्ष उम्मेदवार अशोक अधिकारी श्रेष्ठको प्यानलमा छन् । उद्योगतर्फकै उपाध्यक्षमा उम्मेदवारी दिएका थीरप्रसाद धितालले समेत श्रेष्ठको प्यानललाई समर्थन गर्ने जनाइसकेका छन् । यस हिसाबले श्रेष्ठ समूहका अधिकारी उपाध्यक्षमा सर्वसम्मत रुपमा विजयी भइसके । 

पन्तले भने आफू विनाप्यानल एक्लै चुनाव लड्ने हुंकार गरेका छन् । पन्त हार्डवेयर व्यवसायी हुन् भने श्रेष्ठ फर्निचर व्यवसायी । यी दुईको राजनीतिक पृष्ठभूमि पनि फरक छ । श्रेष्ठ समूह विरुद्ध वरिष्ठ उपाध्यक्षमा राजन पियाको उम्मेदवारी छ । उपाध्यक्षमा वाणिज्यतर्फ रजनी मास्के र कर्पाेरेट÷वस्तुगततर्फ जनक पौडेलले उम्मेदवारी दिएका छन् ।   

कार्यसमिति सदस्यमा महिलातर्फ अस्मिता तिमिल्सिना र योगिता पियाबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्रीय संघतर्फको कार्यसमिति सदस्य पदमा अर्काे उम्मेदवारी नपरेपछि मणिरत्न शाक्य निर्विरोध भएका छन् । कर्पाेरेटतर्फ अमित कौडेल र राजकुमार कानु पनि सर्वसम्मत रुपमा कार्यसमिति सदस्य चयन भइसके । यसैगरी वस्तुगततर्फको चारजना सदस्यमा दिपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरेले पनि सर्वसम्मति पाइसके । 

वाणिज्यतर्फको कार्यसमिति सदस्य पदमा कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल र सुनिता लिगल कर्माचार्यको उम्मेदवारी परेको छ । यी सातमध्ये छ जना कार्यसमितिमा आउनेछन् ।

उद्योगतर्फको कार्यसमिति सदस्य पनि छ जना चुनिनेछन् । यसमा अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, महेश लामिछाने, रुद्र सुवेदी, लिलबहादुर श्रेत्री, शंकर अधिकारी, हिम्मत पुरी र हेमराज सिग्देल गरी १२ जनाको उम्मेदवारी रहेको उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले जानकारी दिए । 

 

टिप्पणीहरू