दुबई प्रस्थानअघि प्रधानमन्त्रीको राष्ट्रपतिसँग एक घण्टा लामो छलफल

दुबई प्रस्थानअघि प्रधानमन्त्रीको राष्ट्रपतिसँग एक घण्टा लामो छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच अपरान्ह ४ बजेदेखि ५ बजेसम्म राष्ट्रपति कार्यालय, शीतल निवासमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल आज राति संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लाग्नुभएको छ । उहाँ राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा त्यता जान लाग्नुभएको हो ।

प्रधानमन्त्रीसँगै उहाँकी पुत्री तथा निजी सचिव गंगा दाहाल, वनमन्त्री वीरेन्द्रप्रसाद महतो, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, निजी सचिव रमेशकुमार मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत १८ जना सरकारी अधिकारीहरु टोलीमा छन् । १२ जना बिजनेस टोली र अबुधाबीस्थित नेपाली दूतावासका आठ जना पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश हुँदै छन् ।

टिप्पणीहरू