किन भयभित छ देश ?

किन भयभित छ देश ?
सुन्नुहोस्

देशमा किसिम किसिमका अराजकता मौलाएका छन् । स्वाभाविक हो, एउटा बहुलवादी समाजभित्र संगति र विसंगतिका अनेक रुप देख्न पाउनु । राज्यले ती विषयहरुलाई कसरी व्यवस्थापन गर्छ ? प्रश्न यतिमात्रै हो । 

हिजो काठमाण्डौँमा दुर्गा प्रसाईं र महेश बस्नेतका अलग अलग प्रदर्शन भए । प्रर्दशनका विषय वा बहाना जेसुकै हुन्, सारमा देशभित्र मौलाएका अनेकन अराजकताभित्रको एउटा अलग्गै अराजकता हो । राजनीति विचार र सिद्धान्तमा चलेन भने त्यसको नाम राजनीति हुँदैन । जसरी इञ्जिनबाट चल्ने गाडी इञ्जिनविहीन भयो भने त्यसको नाम गाडी हुँदैन, कच्चापदार्थहरुको थुप्रोमात्रै हुन्छ । नीतिहरुको नेता राजनीति र त्यसमा संलग्न व्यक्तिहरु सिद्धान्तच्युत हुने श्रृंखला बढिरहेको छ । दुर्गा प्रसाई पनि आफूलाई राजनीतिक व्यक्ति भन्न रुचाउँछन्, तर सिद्धान्त र विचारहीन छन् ।

महेश बस्नेत निश्चित राजनीतिक संस्कारबाट विकास हुँदै प्रकारान्तरमा भिडतन्त्रमा आकर्षित हुँदा उनी सिद्धान्तच्युत भइरहेका छन् । कुनै दुर्गा प्रसाई नाम गरेको मुर्खले आफ्नो मुख्र्याईपूर्ण अभिव्यक्ति र भूमिका प्रस्तुत ग¥यो भन्दैमा उसका विरुद्ध त्यसरी नै जाई लागिदैँन, लाग्नुहुँदैन । मानसिक सन्तुलन गुमेको व्यक्तिलाई उपचार गर्न पाटनमा अलग्गै अस्पताल नै छ । त्यस्तो व्यक्तिले सडकमा केही भनेर कसैको मानहानी नै गरेपछि भने पनि उसलाई त्यसै गरी जवाफ फर्काइँदैन । उपचारका निम्ति अस्पताल लगिन्छ । महेश बस्नेतहरुले नबुझेको कुरा यतिमात्रै हो ।

खासमा महेशहरु ‘बा भक्ति’ को बाटोमा छन् । त्यही बाटोबाट अर्को बाटो रोजेका दुर्गा प्रसाईंहरु देशमा अनेकन अराजकता फैलिएको बेला, अर्थात् पानी धमिलिएको मौका छोपेर केही निस्कन्छ कि भन्दै ढोक्सा थापिरहेका छन् । महेश बस्नेतहरु पनि आखिरीमा ढोक्सा थाप्ने ठाउँमै पुगेका छन् । पार्टी ठाउँमा (सत्तामा) हुँदा गर्नुपर्ने काम गरेनन् । नचाहिँदा काम गरेर जनता दिक्क भएका छन् । जनता खुशी पार्न जानुपर्ने बेला दुर्गा प्रसाईंलाई काउन्टर दिन तम्सिए । त्यसैले बाटो दुबैको गलत छ ।

मुलुकमा विकसित विविध अराजकतालाई नियन्त्रण र व्यवस्थापन गर्नु राज्यको दायित्व हुन्छ । निषेधको विधिबाट हैन, संवादको विधि उपयुक्त हो । प्रदर्शनकारीसँग प्रदर्शनपूर्व सरकारले संवादका निम्ति कुनै पहल गरेको देखिएन । नेपालको राजनीति, व्यवस्था र सरकारलाई अस्थिर, विसंगत र विग्रहपूर्ण बनाउने देशी तथा विदेशी तत्वहरु यसै पनि सल्बलाइरहेका छन् । भूराजनीतिक भारको मारमा नेपाल परेकै छ । यस्तो बेला घरेलु समस्याहरुको समाधान संवादको विधिबाट नखोजिनु सरकारको गैरजिम्मेवार भूमिका हो ।

सडकमा अराजकता फैलिएपछि, त्यो अराजकताले जनताको सुरक्षा, मुलुकको हित र प्रगतिमाथि चुनौति खडा ग¥यो भने त्यस्ता अराजकतापूर्ण प्रदर्शनहरु नियन्त्रणयोग्य हुन्छन् । नियन्त्रणको क्रम कति आक्रामक हुन्छ भन्ने कुराको निर्धारण प्रदर्शनकारीको नियत र भूमिकामा निर्भर हुन्छ । प्रदर्शनका विरुद्ध गरिएको प्रतिप्रदर्शन कतिसम्म आक्रामक भएर पेश हुन्छ भन्ने कुराले पनि आगमी प्रदर्शन शान्तिपूर्ण वा हिंसात्मक हुने भन्ने कुरा निर्भर गर्दछ । यस्तो बेला सरकार संयमित र जिम्मेवार भएर पेश हुनु जरुरी छ । जनता शान्ति, विकास र समृद्धि चाहन्छन् । प्रदर्शनकारीले त जनताको यो मनोभावनालाई बोक्लान् भन्ने कुरा त ‘खुट्टी हेर्दै चाल पाइयो’ भनेजस्तो हो । सरकारले जनताको मनोभावना बुझेको छ भने उसले अराजकतापूर्ण प्रदर्शनलाई संयमित, परिपक्व ढंगले व्यवस्थापन गर्नु नै हितकर हुने देखिन्छ ।

टिप्पणीहरू