त्यो सूचनाले जे भन्यो...

त्यो सूचनाले जे भन्यो...
सुन्नुहोस्

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का नाममा  अस्ति काठमाडौंमा भएको जनप्रदर्शनका सन्दर्भमा त्यसअघि प्राप्त एउटा गुप्तचरी सूचनाले सुरक्षा निकायमा सनसनी मच्चाएको छ ।

गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयलाई गरेको ब्रिफिङअनुसार भारतबाट विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि उपकरणसहित काठमाडौं भित्रिइसकेका छन् । त्यतैबाट धार्मिक अतिवादी समूह एवम् संस्थाका मानिस विभिन्न भेषमा वीरगञ्ज, भैरहवा हुँदै नेपालतिर छिर्ने क्रम बढेको छ । अर्थात्, अस्तिको प्रदर्शन नेपाली प्रदर्शनकारीका निम्तिभन्दा बढी भारतका हिन्दूअतिवादी समूहका निम्ति महत्वपूर्ण बन्दै छ भन्ने उक्त सूचनापछि सुरक्षा सतर्कता बढाइएको थियो ।

भारतीय संस्थाहरूको उपस्थितिका विषयमा कूटनीतिक तहबाट सूचना संकलन गर्न खोजियो, तर लैनचौर दूतावासले त्यसबारे कुनै जानकारी नरहेको जवाफ दिएपछि अनौपचारिक किसिमबाट अस्तिको प्रदर्शनमा भारतीयको सहभागिता हुँदै छ भनी गुप्तचर विभागले प्रधानमन्त्रीसमक्ष दाबी नै गरेको पाइएको हो । नेपाल प्रहरीमार्फत् उक्त प्रदर्शनबारे संकलन गरिएको सूचनामा प्रदर्शनका सहभागीलाई झापादेखि चितवनसम्म गाडी भाडामा लिएर काठमाडौं उतारिँदै उल्लेख थियो । काठमाडौं आसपासका धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभे्र र दोलखाबाट पनि काठमाडौं आउने गाडी तयार पारिएको जनाइएको थियो ।

प्रहरीको सूचनाअनुसार गाडीले भाडाबापत भनेजति पैसा पाएका र भनिएको पैसा अग्रिम भुक्तानी गरिएको थियो । ती सूचनाका आधारमा सुरक्षा योजना बनाउने, सेना, प्रहरी, सशस्त्र र गुप्तचर गरी चारवटै निकायलाई सतर्क गराउनेजस्ता काम गर्नुपर्ने हो तर गत मंगलबार साँझसम्म केन्द्रीय सुरक्षा समितिको बैठक बस्न सकेन । 

नेपाल प्रहरीले उपत्यकास्थित सम्पूर्ण नियमित युनिटसहित गण, गुल्मसम्मका जनशक्तिलाई स्ट्याण्डबाई राख्न मंगलबार नै अलार्म लगाएको बुझिएको छ । बुधबारको प्रारम्भिक अवस्थाको अनुमानका आधारमा प्रहरीले विभिन्न तालिम केन्द्रमा रहेको जनशक्तिलाई काठमाडौंमा उतार्न सक्ने गरी तयारी गरेको थियो । यद्यपि, प्रहरीको कमाण्डो टोली र हतियारमा निपुण जनशक्ति काठमाडौंमै पर्याप्त छ ।

प्रदर्शनले ०७२ भदौ ७ मा भएको टीकापुर नरसंहारको रुप लिने छनक मिलेमा त्यहीअनुसार परिस्थितिलाई नियन्त्रण गर्न बुधबार एकीकृत सुरक्षा योजना बनाइयो । त्यसका लागि गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिको पहलमा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबीच समन्वय गरिएको बुझिएको छ ।

अर्कातिर, एमालेसम्बद्ध राष्ट्रिय युवा संघले प्रसाईंको कार्यक्रमलाई ‘काउन्टर’ दिने नाममा घोषणा गरेको प्रदर्शन रोक्न र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का नाममा फैलाउन खोजिएको अराजकताको सामूहिक प्रतिवादमा आउन राजनीतिक तहबाट अनुरोध गरेको थियो ।

टिप्पणीहरू