चन्दा उठाएर पनि त मज्जैसँग चल्दो रहेछ नि !

चन्दा उठाएर पनि त मज्जैसँग चल्दो रहेछ नि !
सुन्नुहोस्

बेइजिङ एशियाको वासिंगटन डिसी हो । उदीयमान महाशक्ति चीनको राजनीतिक मुख्यालय बेइजिङ हो । यहाँ झण्डै दुई सय कूटनीतिक नियोग छन् ।

एशियाली पूर्वाधार लगानी बैंकको मुख्यालय यहीं छ । सांघाई कर्पोरेशन अर्गनाइजेशनको सचिवालय यहीं छ । अरु थुप्रै वैश्विक मुख्यालय यहीं छन् । यो त कूटनीतिक चिनारी मात्रै हो । खेलकुदको चिनारी पनि बेइजिङको गर्विलो छ ।

समर र विन्टर दुवै ओलम्पिक आयोजना गर्ने बेइजिङ विश्वको प्रथम शहर हो । यो ऐतिहासिक अवसर पनि १४ वर्षकै अन्तरालमा बेइजिङले पाएको थियो– सन् २००८ मा समर ओलम्पिक र सन् २०२२ मा विन्टर ओलम्पिक । चीनको यही ओलम्पिक साइनो यहाँको पर्यटकीय घुमघाम केन्द्र पनि बनेको छ । त्यहाँका आकर्षक भेन्युहरूमा दैनिक हजारौं देशी–विदेशी आगन्तुकहरू पुग्ने गरेका छन् । 

गत साउन २६ गते शुक्रबार बेइजिङको ओलम्पिक खेलकुद मञ्चहरूमा पुग्ने आगन्तुकको एपमा मलाई पनि सहभागी हुने अवसर जुर्‍यो  । शुक्रबारको पहिलो गन्तव्य सन २०२२ को विन्टर ओलम्पिक आयोजना हुँदाको आइस स्केटिङ रंगशाला पुगियो । त्यो भव्य संरचना हेरेर केही समयपछि ६९ देशका ८१ पत्रकारको टोली लाग्यो सन् २००८ मै निर्माण भएको वाटर क्युबमा । विशाल क्षेत्रफल, भव्य, सफासुग्घर, चुस्त व्यवस्थापन र बाक्लो भीडभाडदेखि राम्रो दस्तावेजहरूको संग्रह चित्ताकर्षक थिए । सबैभन्दा चित्ताकर्षक त वाटर क्युबको कथा पो रहेछ । कथा सन २००१ जुलाई १३ पछि शुरु भएको हो । 

सन् २००८ को समर ओलम्पिक चीनलाई दिने निर्णय सोही बेला भयो । र, हङकङ, मकाउदेखि ताइवानका मात्रै होइन, विश्वभरका चिनियाँले सरकारलाई आर्थिक सहयोग गरेर कुनै एक ओलम्पिक संरचना बनाउन जोड गरे । अभियान चल्यो । बेइजिङ शहरको नेतृत्वले शुरुमा यो प्रस्तावलाई सार्वजनिक रुपमा अस्वीकार गर्‍यो  । तर, त्यो धेरै टिकेन र मेनल्याण्ड चीन बाहिरका चिनियाँहरूको भावनाको सम्मानको तहमा पुग्यो । दोहोरो अंकको आर्थिक बृद्धि गरेर विश्वको तेस्रो ठूलो अर्थतन्त्रबाट दोस्रो हुने सुरसारमा थियो चीन ।

उत्पादन, सेनादेखि प्रशोधन सबै क्षेत्रमा व्यापक विकास गरेको थियो । पैसाको कमी थिएन । तर, चिनियाँहरूको सहयोगको आशक्ति र आत्मीयतालाई चीनले सम्मान गर्‍यो  । ९४ करोड युआन विश्वभरबाट संकलन भयो । १०७ देशका साढे तीन लाख चिनियाँले चन्दा दिएर त्यति रकम भेला भएको थियो । नेपाली रुपैयाँमा अहिलेको सटही दरले जोड्दा मोटामोटी १७ अर्ब रकम भेला भएको थियो । र, त्यही १७ अर्ब रुपैयाँको विशाल मञ्चको चीन जोड्ने सेतु अरु पनि थपिए । 

उदाहरणका लागि सो घोषणाको पत्रकार सम्मेलनमा मात्रै २८ देशबाट ५६ चिनियाँ भाषाका मिडिया प्र्रतिनिधिहरू सहभागी भएका थिए । ओलम्पिकका ७० हजार स्वयंसेवकमा ३०९ चीनको मेनल्याण्ड बाहिरका थिए । उनीहरू पनि ३० हजारको आवेदनबाट छनौट भएर आएका र आवेदन दिनेहरू १८ वर्षबाट ६३ वर्ष उमेर समूहका थिए । यो वाटर क्वुबलाई जादुमयी वाटर क्युब पनि भनिन्छ । चिनियाँहरूले सौभाग्यको नम्बर मान्ने ८ अंककै स्वर्ण पदक यो भेन्युमा चीनको टोलीले पाएको थियो । २१ विश्व रेकर्ड र ६६ ओलम्पिक रेकर्ड यहाँ बनेका रैछन् । यो भेन्युको लोकप्रियता बुझ्न सन् २०२० को अन्तिमसम्मको आँकडा काफी छ । उक्त अवधीसम्ममा २६ लाख पौडीवाज आएका छन्, १६ सय प्रतियोगिता भएका छन् भने २ करोड ६० लाख आगन्तुक थपिएका छन् । गाइडले हामीलाई भनेअनुसार अहिले औसत आगन्तुक दैनिक १० हजार छ । प्रतिव्यक्ति प्रवेश टिकट ३० युआन छ । पौडीदेखि अन्य खेल खेलेको २०० युआनसम्मका प्याकेजहरू छन् । खेल पूर्वाधार भन्दासँगै व्यायाम केन्द्रदेखि बजार जस्तो छ । जताजतै आर्थिक उपार्जन जोडिने प्याकेजहरू छन् । यो वाटर क्युबलाई मेनल्याण्ड बाहिरका चिनियाँहरूको स्मृति पूर्वाधारको रुपमा चर्चा र प्रचार गरिएको छ । 

उत्तरी छिमेकी देश चीनको राजधानी बेइजिङको यो रंगशाला हेर्दा म भने बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाको धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा उठाएरै बनाउन खोजेको रंगशालाबारेमा सोचिरहेको थिएँ । झण्डै तीन अर्ब खर्च अनुमान गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला उद्घाटन २०७५ माघ १६ गते भएको थियो । पाँच वर्ष पुग्दा सो योजना लगभग अलपत्र परेको छ । विश्वभर छरिएका नेपालीहरूको चन्दामा बनेको रंगशालालाई आकार दिन न धुर्मुस–सुन्तलीले सके न त सरकारले । पहिले कोरोना बहाना बन्यो । अहिले आर्थिक संकट र ऋण । जे बहाना र बाध्यताले भरतपुरको रंगशाला नबने पनि त्यो एक नेपाली परियोजनाको प्रकृतिको बिम्ब हो । नेपालमा सरकारी मात्रै होइन नागरिक तहका परियोजनाहरू पनि कमजोर छन् । फितला छन् । 

चीन राज्य मात्रै होइन नागरिक तहमा पनि उत्तिकै चुस्त छ भन्ने उदाहरण वाटर क्युब हो भने नेपाली सत्ता मात्रैैैैै होइन नागरिक नेतृत्व पनि काममा लोसे छ भन्ने उदाहरण हो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । उसो त भावनात्मक कोणमा चीनकोे क्युब र नेपाली रंगशाला उस्तै थिए । चीनमा पहिलोपटक ओलम्पिक आयोजक हुँदै थियो । नेपाल पहिलोपटक टि २० क्रिकेट विश्वकप खेल्दैथियो ।

सन २०१४ मा बंगलादेशमा भएको टि २० विश्वकप खेल्दा नेपालको एउटा पनि अन्तर्राष्ट्रिय रंगशाला थिएन । त्यही भावनाले चन्दाबाट बनाउने कुरा आएको हो । तर, चीनको बन्यो । आर्थिक रुपमै सफल सञ्चालन भयो । पर्यटन गन्तव्य बन्यो । नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि त्यस्तै नेपाली बिम्ब बन्न सक्ने थियो । तर, यो सबै संभव हुन सकेन । किन सकेन ? उत्तर नेपाली मिडिया र सोसल मिडियामा यत्रतत्र छ ।

टिप्पणीहरू