बीस रूपैयाँको रोटीलाई स्टिलको र्‍यापर ?

बीस रूपैयाँको रोटीलाई स्टिलको  र्‍यापर ?
सुन्नुहोस्

– अधिवक्ता प्रेमराज सिलवाल

नेपाल टेलिकम सुन्धारामा कार्यरत केही कर्मचारीको क्रियाकलापले दुनियाँलाई हँसाउँदै छ । बिहान दश बजे हाजिर गरेपछि पाँच पल्ट चिया खान निस्कन्छन् ।

अल्छी विद्यार्थीले चिट चोर्नको लागि ‘सर, ट्वाइलेट आयो’ भनेजस्तो गरेर चियाखाजामै दिन बिताउँदै छन् केही कर्मचारी । बिहान एक पटक झुल्कन्छन् । फेरि बेलुकी हाजिर गरेर घर जान्छन् । टेबुलमा चश्मा र टोपी राखेर ‘चियानास्ता खान’ निस्किएपछि दुई घण्टा हराउने उनीहरूको दैनिकी हो । धरहरावरिपरि गल्लीका साना चिया पसलका पेटीमा राखिएका मुढा र टुलमा उपरखुट्टी लगाएर ‘राजनीतिका ठूला कुरा’ गर्छन्– यो देश उसले बिगार्‍यो  ।

यो पार्टी ठीक । त्यो पार्टी बेठीक भन्दैमा कर्मचारीको दिन बित्ने गरेको छ । एक जना कर्मचारी (नाम गोप्य) थोत्रो मोटरसाइकल चढेर आउँथ्यो । अहिले उसले सेकेण्डह्यान्ड स्यान्ट्रो किनेको छ । आफूलाई खुबै पढेलेखेको ठान्ने ती पूर्वेली कर्मचारी टेलिकम नै आफैँले चलाएजस्तो गर्छन् । गल्लीको चिया पसलमा एकपटकमा दुई खिल्ली चुरोट र दुई कप कालो चिया खान्छन् । एक दिन मेरो साथीले परिचय गरायो । ऊ भन्दै थियो– ‘मेरो नाम लोकसेवाको अधिकृतमा निस्किएको थियो ।’ काुनन पनि पास गरेँ । यद्यपि, टेलिकम रोजेँ । अब केही समयपछि अमेरिका जान्छु ।’ 

उसले बीस रूपैयाँको तीन वटा रोटी र आलु–केराउ खाजा खायो । हामीले चिया पियौँ । अनि घर जाने बेलामा श्रीमतीको लागि एउटा सुख्खा रोटी बनाउन लगायो । पसलेले रोटी गोरखापत्रमा प्याक गरी प्लाष्टिकको झोलामा हालेर दियो । अनि उसले पसलेलाई हकार्दै भन्यो– ‘स्टिलको र्‍यापर पाइन्छ बजारमा, त्यसमा प्याक गर्नु पर्दैन ? यस्तो पत्रिकामा पनि प्याक गर्ने ? खाद्यको सुरक्षा र मापदण्ड पूरा गर्नुपर्दैन ? तपाईंंलाई त कारबाही पो गर्नुपर्ने रहेछ ।’ 

केही समयअघि दुई विषयमा डिग्री गरेको कुरा हामीसँग पनि गर्‍यो  उसले । सुन्धाराको पसले पनि के कम ! फ्याट्ट जवाफ फर्कायो– ‘बीस रूपैयाँको रोटी किन्ने, प्लाष्टिकको र्‍यापर खोज्ने ? लाज लाग्दैन ? तपाईंंले कसलाई फूर्ति देखाएको ? तागत भए मलाई कारबाही गरेर देखाउनु ।’ यसअघि चितवनमा रवि लामिछानेले चुनावी र्‍यालीमा एक जना पसलेलाई गरेको जस्तै व्यवहार भयो त्यहाँ । मेरो चार्टर्ड एकाउन्टेन्ट साथी गललल हाँस्यो । म पनि हाँसेँ । पछि हामीले कुरा गर्‍योँ – ‘मान्छेले पायो भने कतिसम्म हेप्ने रहेछ ? ठूला होटल–रेस्टुरेण्टमा गएर त्यो मान्छेले त्यसरी साहुलाई हेप्न सक्ला ? रेट घटाउन सक्ला ? वास्तवमा त्यो टेलिकमको हाकिमलाई पढाइ र पदको नशा लागेको रहेछ ।’

भोलिपल्ट बिहान फेरि उही टेलिकमको ‘हाकिम’ काठमाडौँको सामाखुशी, कपुरधारामा नायक राजेश हमालको घरअगाडि तरकारी बजारमा टुप्लुक्क देखियो । स्थानीय व्यापारी खर्पनमा आफ्नो स्थानीय उत्पादन रायोको साग बिक्री गर्दै थिए । मचाहिँ अघिल्लो दिनको सुन्धाराको व्यवहार झलझली सम्झेर उसलाई नियालिरहेको थिएँ । उसले सागको मुठा समायो र सोध्यो मूल्य । साहुले मुठाको तीस भन्यो । ऊ त्यहाँ साहुलाई थर्काउँदै थियो–‘तीसको दुई मुठा दिन्छ ।’ ‘तपाइँको भाउ महङ्गो भयो ।’ ‘घटाऊ न घटाऊ ।’ साग साहुले पनि भन्यो– ‘लिने भए लेऊ, नलिए जाऊ ।’ ऊ रातो मुख लगाएर अर्काे पसलतर्फ लाग्यो । 

भर्खरै टेलिकमको ‘हाकिम’ भएपछि उसमा तीव्र रूपमा ‘नशा’ लागेको रहेछ भन्ने कुरामा थप प्रष्ट भएँ । कसैलाई पनि मान्छे नै गन्दो रहेनछ ।

आखिर नशा भनेको नशा नै हुने रहेछ । नशा रक्सीको मात्र हुन्न । नशा सत्ताको हुन्छ । नशा धनको हुन्छ । नशा रूपको हुन्छ । नशा पदको हुन्छ । नशा घमण्डको त्यस्तो कालो बादल हो जसले सबैलाई जमिनमा रहेका भुसुनासमान देख्छ । नशाको उन्माद सर्वत्र देखिन्छ । नशाले मान्छेलाई अराजक, उत्ताउलो, घमण्डी, पाखण्डी, हिंस्रक, अनैतिक, गैरकानुनी, मत्ता र निर्मम बनाइदिन्छ । चितवनमा धु्रवे नामको मत्ता हात्तीले केही वर्षअघि धेरैलाई हान्यो । उसमा पनि बलको नशा थियो । 

नेपाली राजनीतिमा नशामा चुर भएका उल्लिखित नेपाल टेलिकमको ‘नयाँ हाकिम’मा आएजस्तो व्यवहार गर्नेहरू बेलाबेला देखिन्छन् । टुप्पाबाट पलाएकामा त्यस्तो नशा बढी नै देखियो । राजनीतिमा कुनै पनि योगदान नभएका, हाहाहुमा राजनीतिमा हामफालेका, च्याँखे दाउ लागेका, मजाक र स्वादका लागि राजनीतिमा ठूला कुरा गर्दै आएका नयाँ जोगीमा थप बढी नशा लागेको प्रष्ट देखिन्छ । 

नशाले चुर भएका अर्का ‘खलपात्र’ रहेछन्– बालेन साह । मेयरमा जितेपछि उनमा सत्ताको नशा चितवनको ध्रुबे हात्तीमा भन्दा बढी देखिन्छ । यति धेरै अराजक, अनैतिक, घमण्डी र उत्ताउले भएका छन् कि अदालतको आदेश मान्दिनँ भन्छन् । ‘सिंहदरबारमा आगो लगाउने’ भन्छन् । यो सब नशाको परिणाम हो । 

तत्कालीन पञ्चायती शासनकालमा व्यवस्थाको विरोध गर्नको लागि घोषित रूपमै निर्वाचित भएर जनपक्षीय उम्मेदवार राष्ट्रिय पञ्चायतमा जान्थे । काठमाडौँका पद्मरत्न तुलाधर, चितवनका जागृतप्रसाद भेटवाल, इलामका नोबेल केमी राई, झापाका द्रोणाचार्य क्षेत्री कास्कीका सोमनाथ प्यासी आदि निर्वाचित भएरै गएका हुन् । उनीहरूले पञ्चायती निरंकुशताको तीव्र विरोध गर्थे । तापनि, कहिल्यै राष्ट्रिय पञ्चायतमा आगो लगाउने, सिंहदरबार ध्वस्त पारिदिनेजस्ता अराजक अभिव्यक्ति दिएनन् । राजनीतिक संस्कार भनेको त्यो हो । जिम्मेवारी भनेको त्यो हो ।

लोकतन्त्रमा कोही व्यक्ति खराब हुन सक्छन् । खराबको आलोचना हुन्छ, गरिन्छ । कारबाही पनि हुन्छ, कानुनअनुसार । तापनि, प्रणाली भनेको प्रणाली हो । संस्था र संंरचना स्थायी कुरा हुन् । लोकतन्त्रको विकल्प अझ बढी पारदर्शी, समावेशी, न्यायपूर्ण र जिम्मेवार लोकतन्त्र हो । मान्छेको गल्तीमा आलोचना गर्न सकिन्छ । प्रणालीमै आगो लगाउने, भत्काउने कुरा अराकताको पराकाष्ठा हो । दिनदहाडै रिपोर्टर्स क्लबमा नेतालाई खुकुरी प्रहार गर्ने हिंस्रक, अराजक क्रिया र बालेनको बोली उस्तै गैरकानुनी र अराजक हुन् ।

टिप्पणीहरू