विदेश अध्ययनमा विद्यार्थीको पहिलो रोजाई अमेरिका
अध्ययनका लागि विदेशिने क्रम बढिरहेका बेला गतवर्ष अमेरिका पुग्ने नेपाली विद्यार्थीको संख्या हालसम्मकै धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले गत आर्थिक वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेञ्जबारे सन् २०२३ को ’ओपन डुअर्स’ रिपोर्ट सार्वजनिक भएलगत्तै तथ्याङ्क सार्वजनिक गरेको दूतावासले सो संख्या हालसम्मकै सबैभन्दा धेरै रहेको जनाएको छ ।
‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या गतवर्ष २७.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन संख्या हालसम्मकै उच्चतम हो’ अमेरिकी दूतावासले भनेको छ ।
तथ्याङ्कअनुसार शैक्षिक वर्ष २०२२–२०२३ मा १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अमेरिका परेको छ । दूतावासले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै खुशीसमेत व्यक्त गरेको छ ।
टिप्पणीहरू