अनि किन नबेचियोस् नागरिकता !

अनि किन नबेचियोस् नागरिकता !

जिल्ला प्रशासन कार्यालय काभ्रेमा नागरिकताको अभिलेख भद्रगोल छ । आफ्नै स्थायी संरचना नभएका कारण भाडामा बसिरहेको छ । त्यही अलमल र असरल्ल अवस्थाको फाइदा उठाउँदै कर्मचारीको सेटिङमा विदेशीहरूलाई नागरिकता विक्री हुने गरेको पाइएको छ ।

पटक पटक नागरिकताको अनसूची व्यवस्थित बनाउन स्थानीय सरकारको सहयोगमा समेत अभिलेखीकरण गरिएको छ । अभिलेख नयाँ भवनको भुइँ तलामा राखिएको छ । चिसोका कारण अभिलेख मक्किएको छ भने च्यातिएर चिन्न सकिने अवस्था छैन । महत्वपूर्ण फाइल तथा निर्णयका प्रमाणित कपी पनि पाउन कठिन छ ।

भूकम्पपछि मुआब्जाको निर्णयवाला माइन्युट एक महिना खोज्दा पनि फेला नपरेपछि रायसहितको निर्णय मन्त्रालयबाट माग गरिएको छ । एकै दिनको एउटा माइन्युट छ, अर्काे छैन । नागरिकताका केही विवरण अनलाइनमा सूचीकृत छ । तर पुराना फाइल प्रशासनमा भेटिन सम्भव छैन । राहदानी, नागरिकता, सिफारिस तथा अन्य महत्वपूर्ण सूचना प्रशासन कार्यालयबाटै हराएको भए पनि थप सुरक्षाका लागि नयाँ रणनीति बनेको छैन । जिल्ला समन्वय समितिले प्रदान गरेको अस्थायी टहरामा बसिरहेको प्रशासन कार्यालयको निर्माणाधीन भवनको मुद्दा अझै टुंगिएको छैन । 

उता, सरकारले चार महिनापछि सुन काण्डका नाइके दावा छिरिङ भनिने चिनियाँ मूलका निमा लामाको नागरिकता शुक्रबार रद्द गरेको छ । तर उनीसँगै नागरिकता लिएका पासाङ लामालगायत ७ विदेशी र अन्य ३ सय ४३ जनाको नागरिकता खारेजी बारे कुनै चासो छैन । सर्वसाधारणले नियत नराखीकन हराएका कारण लिएका दुई वटा नागरिकता प्रयोग गरेको पाइएमा भने जेलसमेत राख्ने चलन छ । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू