राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगाशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगाशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन बताउनुभएको छ । 

टी–२० विश्वकपमा छनोट भएको नेपाल राष्ट्रिय क्रिकेट टोलीको सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम बितरण कार्यक्रममा बोल्दै उहाँले तत्काल तीनवटा रंगशाला निर्माणको काम अघि बढाउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । 

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै उहाँले पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने विश्वास दिलाउनुभयो । भरतपुर, मुलपानी र कीर्तिपुर मैदानलाई व्यवस्थित बनाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाई छ। 

'सबैभन्दा पहिला तपाईहरुलाई बधाइ छ । तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला । कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला', उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा गरिएको पुरस्कार बितरणमा केही प्रक्रियागत र कानुनी समस्याले ढिलाई भएकोमा आफूलाई नराम्रो लागेको पनि बताउनुभयो । भन्नुभयो, 'हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ ।'

त्यसक्रममा उहाँले टी–२० विश्वकपमा छनोट भएकोमा पनि छिट्टै पुरस्कार बितरण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताउनुभयो । 'यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु', उहाँले भन्नुभयो, 'नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं ।'

टिप्पणीहरू