डेढ महिनामै ‘द्रुत बस सेवा’ को हालत नाजुक

डेढ महिनामै ‘द्रुत बस सेवा’ को हालत नाजुक
सुन्नुहोस्

गत असोज ३ गते संविधान दिवसको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाद्वारा तामझामका साथ उद्घाटिट ‘द्रूत बस सेवा’ बन्द हुने अवस्थामा पुगेको छ । हचुवाको भरमा सञ्चालनमा ल्याइएकाले सेवा प्रभावकारी हुन नसकेको बताइन्छ । 

व्यवस्थापन राम्रो नहुँदा ‘द्रूत बस सेवा’ बन्द हुने अवस्थामा पुगेको सरोकारवालाहरुको आरोप छ । सर्वसाधारणले पनि सेवा प्रभावकारी नभएको गुनासो गरिरहेका छन् । कार्यालय समयमा हुने ट्राफिक जामलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा ‘द्रूत बस सेवा’ सञ्चालनमा ल्याएको हो ।

उक्त बसले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म ४५ मीनेटमा पुर्याउने गरेको यातायात मन्त्रालयको भनाई छ । यातायातमन्त्री ज्वालाले बस चढेर सूर्यविनायकसम्म यात्राको शुभारम्भ गर्नुभएको थियो ।

सो क्रममा अन्य ठाउँमा पनि ‘द्रूत बस सेवा’ विस्तार गर्ने घोषणा गरिएको थियो । तर, सर्वसाधारणले सूर्यविनायकदेखि रत्नपार्कसम्म चलिरहेको ‘द्रूत बस सेवा’ ले गुणस्तरीय सेवा दिन नसकेको बताएका छन् । 

‘द्रूत बस सेवा’ का नाममा सरकारले सरकारी कोष रित्याउने कार्य मात्र गरेको कतिपयको आरोप छ । जागिरको निम्ति सँधै सूर्यविनायकबाट माइतीघर आउने सरु दाहालले ‘द्रूत बस सेवा’ प्रभावकारी नभएको बताइन् । 

सूर्यविनायकबाट माइतीघर पुर्याउनै डेढ घण्टा लगाउने गरेको उनको अनुभव छ । ‘दुईपटक द्रूत बसमा यात्रा गरे । सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मीनेटमा पुर्याउने भनिएको छ तर माइतीघर पुग्नै डेढ घण्टा लगाउँछ । बेकारमा चढेकोजस्तो भयो, त्योभन्दा छिटो त बनेपाको गाडीले पुर्याउँछ’, उनले भनिन् । 

दीर्घकालीन योजनाबिनै ‘द्रूत बस सेवा’ सञ्चालनमा ल्याइएकाले सेवा प्रभावकारी बन्न नसकेको दिनेश घिमिरेको भनाई छ । दैनिक गठ्ठाघरदेखि नयाँ बानेश्वरसम्म आउने गरेका उनी सेवा चित्तबुझ्दो नभएको गुनासो गर्छन् । ‘पहिलेकै सडकमा एकातिर रातो रंग पोतेर द्रूत बस गुड्ने मार्ग बनाइएको छ । कार्यालय समयमा कौशलटारदेखि नै जाम हुन्छ । सबै गाडी लेनभित्र छिरेका हुन्छन् । अनि द्रूत बस कहाँबाट चल्नु ? नाम मात्रको द्रूत बस भएको छ’, उनले भने । 

अर्का एक जना यात्रुसँग द्रूत बस चढ्दाको तीतो अनुभव पनि छ । बेलुकीको समयमा द्रूत बस चढेका उनी आधा बाटोमै ओर्लिनुपरेको थियो । भक्तपुरको सल्लाघारी बस्दै आएका श्याम न्यौपाने काम सकाएर घर फर्किने क्रममा बिजुलीबजारबाट द्रूत बस चढेका थिए । गन्तव्यमा नपुगी सबै यात्रुलाई बीच बाटोमै ओलारिदिएपछि उनी अलमलमा परेका हुन् । ‘खै किन ओरालिदियो, थाहा भएन । समय सकिएर होकि जस्तो लाग्यो । तर, बसमा यात्रु चढाएपछि गन्तव्यसम्म पुर्याइदिनुपर्थ्यो’, उनले भने । 

द्रूत बस सेवा बिहान ९ बजेदेखि ११ र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म गुड्ने बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा यातायात मन्त्रालयले २५ वटा गाडी सञ्चालनमा ल्याएकोे छ । द्रूत बस अन्य सार्वजनिक यातायातझैं बसस्टपमा यात्रु पर्खेर नबस्ने मन्त्रालयको जिकिर छ ।

यात्रु ओर्लने र चढ्नेबित्तिकै बस गुडाउने भनिएपनि व्यवहारमा ठ्याक्कै उल्टो देखिन्छ । अधिकांश बसस्टपमा द्रूत बस पनि यात्रु कुरेर बसिरहेको पाइएको छ । यता, द्रूत बस चलाउने चालकहरु पनि यो व्यवस्थाबाट सन्तुष्ट देखिँदैनन् ।

ट्राफिक प्रहरीले व्यवस्थापनमा चासो नदेखाउँदा यात्रुलाई समयमा गन्तव्यसम्म पुर्याउन समस्या भएको उनीहरुको भनाई छ । एक जना चालकले भने, ‘सूर्यविनायकबाट रत्नपार्क पुगेर गाडी फर्काउनै भ्याइँदैन । ट्राफिक जाम हुन्छ, लेनमा सबै गाडी छिरेका हुन्छन् । ट्राफिक प्रहरीले व्यवस्थापनमा ध्यान नै दिँदैनन् । जसले गर्दा द्रूत नाम मात्रको भएको छ ।’

मेटिन थाल्यो ‘डेडिकेटेड लेन’

द्रूत बस सेवा सञ्चालनका लागि सरकारले सडकमा ‘डेडिकेटेड लेन’ बनाएको हो । रातारात सडकमा रातो रंग पोतियो । झण्डै तीन करोड रुपैयाँ खर्च गरेर सडकमा पोतिएको रातो रंग धेरै ठाउँमा खुइलिएको छ । रंगको नाममा गरिएको करोडौं लगानी बालुवामा पानी मिसाएसरह भएको भन्दै सर्वसाधारणले चर्को आलोचना गरिरहेका छन् । 

दशैंपछि चलेन ‘द्रूत बस सेवा’

‘द्रूत बस सेवा’ सञ्चालन गर्ने बेलामा यसको दिगोपना र प्रभावकारितामा प्रश्न उठाइएको थियो । अधिकांशले यो सेवा लामो समय नटिक्ने अनुमान लगाएका थिए । एम्बुलेन्स र दमकलसमेत सहज रुपमा छिर्न नसक्ने सडकमा द्रूत बस चलाउन असम्भव रहेको भन्दै त्यतिबेलै आलोचनासमेत गरिएको थियो ।

ठूलै प्रचारप्रसार गरेर सञ्चालनमा ल्याइएको ‘द्रूत बस सेवा’ बन्द भएको छ । दशैंपछि उक्त सेवा सञ्चालनमा नआएको बताइन्छ । यातायातमन्त्री प्रकाश ज्वालाले प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्या सुधार गरेर तिहारलगत्तै द्रूत बस पुनः सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ । 

दशैंदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन ‘द्रूत बस सेवा’ रोकिएको मन्त्रीको दाबी छ । नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब पूर्ण रुपमा द्रूत बस सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । 

सेवा कुनै हालतमा बन्द हुँदैन : विभाग

यातायात व्यवस्था विभागले ‘द्रूत बस सेवा’ कुनै पनि हालतमा बन्द नहुने जनाएको छ । यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुको दाबी छ । चाडबाडको समयमा बसहरु उपत्यकाबाहिर गएकाले सेवामा प्रभाव परेको उनको भनाई छ । 

‘सेवा बन्द भएको छैन् । चाडबाडमा गाडीहरु उपत्यकाबाहिर गएकाले केही प्रभाव परेको हो । यो सेवालाई थप प्रभावकारी बनाउन विभागमा लगातार छलफल भइरहेको छ । सेवा बन्द हुन्छ भन्ने कुरा सबैले आफ्नो दिमागबाट हटाइदिए हुन्छ’, उनले भने ।

टिप्पणीहरू