मनिता, मिलाइ मिलाई खान थालिन् अनि त

मनिता, मिलाइ मिलाई खान थालिन् अनि त

एउटा कृषिमन्त्री छँदा बदमासी गरेको भनेर कारबाहीस्वरूप सरुवा । अनि अर्का कृषिमन्त्री आउँदाचाहिँ तिनै कर्मचारी पुरस्कृत, पुनः सोही विभागमा पदस्थापन । रमाइलोचाहिँ दुवै कृषिमन्त्री एकै थरी, उही पार्टीका । घनश्याम भुसाल कृषिमन्त्री हुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्णाली प्रदेशतिर पठाइएकी उनै डा. मनिता जोशी वैद्य बेदुराम भुसाल मन्त्री हुँदा त्यहींको डिजीमा फर्किएकी छन् । 

०७७ सालमा उनी सो विभागको महानिर्देशक हुँदा ७२ हजार किलो अखाद्य चिनीलाई खान योग्य भनेर अनुमति दिएको कारण सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्व रहेको छानबिन समितिले कारबाही सिफारिस गर्दै भदौ १९ गते कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको थियो । तर, बाग्मती प्रदेश सचिवमा गइन् । त्यहाँ १८ महिना बसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कृषि मन्त्रालय सम्हालेको बेला पारेर विभागमै फर्किन सफल भइन् । 

अहिले उनै वैद्य र मन्त्रालयबीच द्वन्द्व उत्कर्षमा पुगेको बताइन्छ । दुई साताअगाडि दिल्ली जानुअघि वैद्यले ठूलो संख्यामा अधिकृत र सुब्बा तहका कर्मचारीको सरुवा सूचीमा हस्ताक्षर गरेकी थिइन् । मापदण्ड हेरेर नभई दाम चढाउन सक्ने प्राविधिक सहायकलाई क्वारेन्टाइनमा र झारेझुरेलाई क्षेत्रीय कार्यालयमा सरुवा गर्ने गरी उनले अगाडि बढाएको फाइल मन्त्रालयमा रोकिएको छ ।

निजामती सेवा ऐनअनुसार असोज १४ भित्रै ती कर्मचारीको सरुवा भइसक्नुपर्ने हो तर मन्त्रालय र डिजीको इन्ट्रेस्ट बाझिँदा सरुवा रोकिएको बुझिएको छ । दशैँ बिदा हुनेबेलासम्म पनि सरुवाको पत्र कर्मचारीको हात परेको छैन । समाजवादीकै भागमा स्वास्थ्य मन्त्रालय पर्दा मन्त्रीलाई सहयोग गर्न गएका मदन भुजेल नै अहिले कृषि मन्त्रालयको पनि कर्मचारी प्रशासनमा छन् । राष्ट्रिय योजना आयोगको टोलीसँग दिल्लीतिरै छन् । 

मन्त्रालयले मनिताको खास मानिएका किशोर केसी र सुमन धितालहरूलाई चलाउन खोजेको छ । किशोर १० वर्षदेखि त्यहीं छन् । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित सोही कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । त्यसबेला अनुज्ञापत्र शाखाका हर्ताकर्ता थिए केसी, तर उनलाई उन्मुक्ति दिएर इञ्जिनियर मात्र समाइएको कतिपय कर्मचारी गुनासो गर्छन् । यो प्रकरणपछि केसीको जिम्मेवारी अर्काे विभागमा सारिएको छ । विभागमा चार सहसचिवको दरबन्दी छ ।

क्वालिटी कन्ट्रोल मनिता आफैंले हेरिरहेकी छन्, विगतदेखि नै ! शैलेश झालाई प्रयोगशाला र सोमकान्त रिजाललाई खाद्य प्रविधि महाशाखाको जिम्मेवारी दिइएको छ । केसीजस्ता ‘दानापानी’जुटाउने उपसचिवले दशकदेखि केन्द्रीय कार्यालय छाडेर जानुपरेको छैन । उता धनगढीमा नवराज दाहाल पाँच वर्षदेखि प्रमुख छन् । यस्तै वीरगञ्ज क्वारेन्टाइनको प्रमुख हस्त राई ६ वर्षदेखि सरुवा भएका छैनन् ।

विमल दाहाल चार वर्षदेखि भैरहवामा छन् । हेटौँडाबाट क्षितिज श्रेष्ठलाई २ वर्षमै धनगढी खटाउन खोजिएको छ । उनी धनगढी नजाने भन्दै समाजवादीका नेताको घरमा हेटौँडाका दूध व्यवसायी र पानी उद्योगीलाई पठाइरहेका छन् । पोखरा, सुर्खेतको कार्यालय प्रमुखविहीन छन् । विराटनगरका हाकिमले अवकाश पाएसँगै त्यहाँ पनि उपसचिव दरबन्दी रिक्त छ । 

फुड टेक्नोलोजीमा धरानको हात्तीसारका उत्पादनले यतिखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा हालिमुहाली गरिरहेको बताइन्छ । झट्ट हेर्दा वैद्यलाई सघाउनेहरू वामपन्थी नै हुन् । क्वारेन्टाइनमा लामो समय बिताएका हस्तलाई अब उद्योगतिर छिर्नु छ । रिटायर्ड भएपछि गाउँमा राजनीति गर्नु छ, त्यसका लागि जनकपुर रोजेका छन् । बिमल पहिला भैरहवा बसे । रिप्याकिङ उद्योगलाई अनुज्ञा दिने कामसमेत गरे । विराटनगर र वीरगञ्जबाट तेल लगी रिप्याकिङ गर्नेलाई पनि अनुज्ञा दिएर विवादमा तानिए । चाउचाउ र बेकरी उद्योगलाई अनुमति दिए । 

मनिताको शक्ति

ससुरा कांग्रेसी, श्रीमान् रिटायर्ड कर्णेल (इञ्जिनियर) र अहिले सामाजिक कल्याण कोषमा कार्यरत । ‘विभागका सवारी साधन मर्मतको खर्च खोज्नुहोस् त लुटको फेहरिस्त निस्कन्छ’, विभागका एक उपसचिव भन्छन् । ७२ हजार चिनी काण्डमा दोषी ठहर भएपछि अख्तियारमा मुद्दा चल्यो । जोगाइदिन बालकोटको शरण लिइन् । विभागकै एक कर्मचारीको सम्बन्ध केपी ओली पत्नी राधिका शाक्यसँग भएको चाल पाएपछि प्रयोगशालामै कार्यरत शाक्य थरकी अधिकृतमार्फत भनसुन चल्यो । उनी पछि विभागमा महानिर्देशक थिए सञ्जीव कर्ण ।

उनीपछि ५–६ महिना म्याद भएका सर्लाहीतिरका उपेन्द्र राय । यहीबेला देउवा पत्नी र तत्कालीन सचिव कृष्णप्रसाद आचार्यमार्फत बाग्मती हुँदै मन्त्रालयमा आइपुगिन् । निजामती सेवा ऐनले अवकाशको मुखमा कर्मचारीलाई चलाउन बन्देज लगाएको छ तर बालकोट, बूढानीलकण्ठ सबै शक्ति दाहिने भएपछि अवकाशको मुखमा सहसचिव उपेन्द्र रायलाई लखेटेर हाकिम बन्न आइपुगिन् ।

उनी अघि कर्णले फुड ल्याब भ्यान ल्याए । पौने २ करोड रूपैयाँको यो भ्यानको कुरा हो ०७४ तिरको । मनिताले अख्तियारमा उजुरी पारेर कर्णलाई निलम्बन गराइन् । ६ वटा फुड भ्यान अहिले थन्केर बसेका छन् । 

सचिव डा. गोविन्दप्रसाद शर्मा र मनिताले पिचएडी गर्दा एउटै मुलुक, एउटै विश्वविद्यालयबाट, एउटै घरमा डेरा बसेर पढेका कारण मनिताको कतिपय कमजोरीमा गोविन्दले आँखा चिम्लने गरेको बताइन्छ । 
 

टिप्पणीहरू