कोशीको काङ्ग्रेस बिद्रोह र भित्री- बाहिरी खेल,अब हुनसक्ने जालझेल

कोशीको काङ्ग्रेस बिद्रोह र भित्री- बाहिरी खेल,अब हुनसक्ने जालझेल
सुन्नुहोस्

कोशी प्रदेशमा शेखर कोइराला खेमाको बिद्रोहले नेपाली कांग्रेस फुट्ने र सत्तारुढ गठबन्धन टुट्ने धेरैको स्वभाविक अनुमान थियो । किनभने दलीय व्यवस्थामा यौटै दलका सांसदहरु दुईतिर उभिनु भनेको सारत: पार्टी विभाजन नै हो । तर,नाटकीय ढंगबाट राजनीतिले अर्को मोड लिएपछि त्यस्ता अनुमान गलत सावित भएका छन् । कांग्रेस विभाजनको खतराबाट बचेको छ भने तत्कालका लागि सत्ता गठबन्धन पनि जोगिएको छ । 

सामान्य हिसाबले हेर्दा शेखरको विद्रोह कांग्रेसभित्र आन्तरिक किचलोको उपज हो । १४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति हारेपछि इतर खेमाको नेतृत्व गर्दै आएका उनी आफ्नो गुटलाई बलियो बनाउन पार्टी र सत्ता राजनीतिका भागबण्डामा संस्थापन पक्षसंग लडिरहेका छन् । कोशीमा आफू पक्षधर सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन उनले गरेको बिद्रोह पनि त्यसैको निरन्तरता थियो । तर,आफू निकटलाई मुख्यमन्त्री बनाउन पार्टी विभाजनकै तहमा पुग्नु र लगत्तै बालुवाटारमा गठबन्धन जोगाउने प्रतिवद्धतासहितको कागजमा दस्तखत गर्नुले भने शेखरको विद्रोह कांग्रेसको आन्तरिक विवाद र सत्ता राजनीतिका जोड-घटाउमा मात्रै सीमित नरहेको विश्लेषण हुन थालेको छ । 

केपी शर्मा ओलीको आडमा सरकारविरुद्ध निरन्तर धावा बोलिरहेका शेखर यो तहसम्म पुग्ने अनुमान स्वयं कांग्रेसीहरुले पनि गरेका थिएनन् । त्यही बुझेका देउवाले माओवादीलाई कोशीको मुख्यमन्त्री दिने निर्णय गठबन्धनमा गरिदिए । तर,परिस्थिति देउवाले सोचेभन्दा फरक ढंगले अघि बढ्यो । शेखरको कदमले धुम्बाराही मात्रै तरंगित भएन सिंहदरबार र बालुवाटारमा पनि ठूलै हलचल पैदा गरिदियो । त्यसपछि शेखरलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर देउवा र प्रचण्डले चिर्कटोमा हस्ताक्षर गराएपछि कांग्रेस विभाजन त रोकियो तर गठबन्धनको भविष्य अझै अनिश्चित छ । 

सामान्यतया: शेखरले अन्यत्र गर्ने गरेको हस्ताक्षर भन्दा फरक हुनुले पनि उनले मनैदेखि सहमति गर्न नचाहेको देखिन्छ । स्रोतको अनुमान छ, 'दक्षिणले काँग्रेसको उद्दार गर्न आरजूमार्फत शेखरलाई तयार पारेपछि बालुवाटारमा सहमति भएको हो ।'

जानकारहरुका अनुसार शुरुमा शेखरले सहमतिको त्यो कागजमा दस्तखत गर्न चाहेका थिएनन् । तर, जब देउवा पत्नी आरजू राणासँग भेट भयो त्यसपछि बालुवाटार पुगेर उनले कागजमा हस्ताक्षर गरेको जानकार स्रोतको दावी छ । सामान्यतया: शेखरले अन्यत्र गर्ने गरेको हस्ताक्षर भन्दा फरक हुनुले पनि उनले मनैदेखि सहमति गर्न नचाहेको देखिन्छ । स्रोतको अनुमान छ, 'दक्षिणले काँग्रेसको उद्दार गर्न आरजूमार्फत शेखरलाई तयार पारेपछि बालुवाटारमा सहमति भएको हो ।'  

आफ्नै समूहका नेता गगन थापालाई समेत विश्वासमा नलिई शेखर अघि बढ्नुले पनि घरेलु राजनीतिले भन्दा बाह्य शक्ति केन्द्रको चासोले कोशीमा राजनीतिक उथलपुथल भएको विश्लेषण गर्नेहरु पनि छन् । उनीहरुका भनाई मान्ने हो राप्रपालाई सत्तामा जानबाट रोकेर माओवादी नेतृत्वको सरकारलाई थप बलियो हुन नदिने शक्ति केन्द्रहरुको चासोको परिणाम हो,शेखरको विद्रोह । दक्षिणको विश्वासिलो मानिने शेखरले राप्रपालाई छेक्न उतैको रणनीतिअनुरुप यहाँ कदम चालेको कांग्रेसको राजनीतिलाई नजिकबाट बुझेका एक विश्लेषकले दावी गरे । 

'यो सरकारलाई विघटन गराएर डा.शेखरलाई प्रधानमन्त्री बनाउने र उक्त सरकारमा राप्रपालाई सामेल गराउने दक्षिणको स्वार्थ डाक्टर सापमार्फत अघि बढाइएको हो । आरजू र डाक्टरसापबीच के कुराकानी भयो भन्ने खुलिसकेपछि बाँकी कुरा भन्न सकिन्छ',उनले दावीका साथ भने । राप्रपाका केही प्रभावशाली नेताले केही दिनअघि नै दशैँ र तिहारको बीचमा प्रचण्ड सरकार ढल्ने दावी गर्नु र राजनीतिक घटनाक्रम त्यसैगरी विकसित हुनुले पनि सत्ताको खेल सामान्य छैन भन्ने देखिन्छ ।   

राप्रपालाई सत्तामा जानबाट रोकेर माओवादी नेतृत्वको सरकारलाई थप बलियो हुन नदिने शक्ति केन्द्रहरुको चासोको परिणाम हो,शेखरको विद्रोह ।

कोशीमा सभामुख लिएर राप्रपा संघीय सरकारमा सामेल हुने र मुख्यमन्त्री माओवादीलाई दिनेगरी काँग्रेस,माओवादी र राप्रपाबीच सहमति भएको थियो । सोही  आधारमा माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई सुम्पिएको हो । तर,अहिले माओवादीको हातमा न कोशीको सरकार रह्यो न सभामुख । महत्वपूर्ण संसदीय समितिको सभापति पनि उसले गुमाएको छ । 

अर्कोतिर सत्ता गठबन्धन टुटाउने एमालेको घोषित नीति नै हो । चुनावअघिबाटै त्यो कसरत गरिरहेको उसले पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेबाट पनि ऊ कुन रणनीतिका साथ अघि बढिरहेको छ भन्ने प्रष्ट हुन्छ । कोशीमा चार मन्त्री लिने उद्धेश्यले मात्र एमालेले शेखरका सांसदलाई मुख्यमन्त्रीमा समर्थन गरेको पक्कै पनि होइन । त्यस्कारण कांग्रेसभित्र खेल्ने र गठबन्धन टुटाउने दुबै उध्देश्यमा एमाले एक हदसम्म सफल भएको छ । 

'खेल खतरा छ,बालुवाटारको चिर्कटोले राजनीतिक अर्थ नराख्ने भएकाले एमाले आत्तिनुपर्ने देखिंदैन', कांग्रेस स्रोत भन्छ, 'कोशीको प्रभाव अब अन्य प्रदेश र संघमा पनि देखिंदै जान्छ ।' 

भनिंदैछ,शेखरको विद्रोहमा मीनेन्द्र रिजाल,सुनिल शर्मा र राजेन्द्र बजगाई मुख्य खेलाडी हुन् । केपी ओलीलाई पिता भनेर आशिर्वाद थाप्न जाने मेडिकल व्यवसायीसमेत रहेका शर्माले नै बालकोटमा भेटघाटको चाँजोपाँजो मिलाएका थिए । अन्तर्राष्ट्रिय शक्ति केन्द्रसंग जोड्ने काम भने मीनेन्द्रले गरेका हुन् । गोरखाका सांसद बजगाई उनीहरुको सहयोगी बनेर खटिएका थिए । 

राप्रपाका केही प्रभावशाली नेताले केही दिनअघि नै दशैँ र तिहारको बीचमा प्रचण्ड सरकार ढल्ने दावी गर्नु र राजनीतिक घटनाक्रम त्यसैगरी विकसित हुनुले पनि सत्ताको खेल सामान्य छैन भन्ने देखिन्छ ।

अर्कोतिर मौजुदा राजनीतिक प्रणालीको विकल्पमा माहोल बनाउने तयारीअनुरुप यो खेल अघि बढेको पनि भनिन्छ । संघीयता र धर्म निरपेक्षताप्रति अनुदार मानिने शेखरको अति हिन्दुवादी भारतीय संस्थापनसँग स्वार्थ मिलेको छ । तर, पार्टीमा देउवाको प्रभाव रहँदासम्म शेखरहरुको चासोले वैधानिक पाउने सम्भावना छैन । एमाले फुटिसकेको र माओवादी कमजोर रहेकाले अब कांग्रेसलाई विभाजित गराउन सके आफ्नो स्वार्थ पूरा हुने दक्षिणले राम्रोसँग बुझेको छ । त्यसकारण शेखरको विद्रोहलाई नेपालमा राजनीतिक परिवर्तन उल्ट्याउने दक्षिणको चाहनाको परिणाम ठान्नेहरु पनि छन् ।

सिस्टम कोल्याप्स गर्ने बाटोमा अघि बढिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुको प्रभावमा परेर डाक्टर शेखरले कोशीमा बिद्रोह गरेको थुप्रै कांग्रेसीहरुको दावी छ । 

'अहिले सबै राजनीतिक दलका नेतृत्वप्रति भयानक असन्तुष्टि छ । त्यो सडकमा नपोखिएकाले मात्रै ठूलो खतरा नदेखिएको हो', कांग्रेसका एक नेता भन्छन्, 'त्यो परिस्थिति बनाउन नेपथ्यमा गृहकार्य चलिरहेको छ । कोशीको बिद्रोह त्यसैको पूर्वसंकेत हो ।' कोशीको बाछिटाले केन्द्रीय राजनीतिमा भेलबाढी आउन बाँकी नै रहेको ती नेताले टिप्पणी गरे ।

टिप्पणीहरू