एमाले नेता आफैँ अन्यायमा परेपछि...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पेशागत महासंघको केन्द्रीय नेतृत्वको चुनावबाट प्रदेश कमिटी चयन गर्ने क्रममा ‘हरूवा पार्टीको छेउवा दाउ’ लागेको छ । महासंघबाट पार्टी कमिटीको सदस्यमा प्रतिनिधि पठाउने विषयमा सहमतिविपरीत केदार देवकोटासहित ३ जनाले उम्मेदवारी मनोनयन फिर्ता नलिएपछि यस्तो दाउ लागेको हो ।
स्रोतका अनुसार महासंघभित्र विभिन्न सेवा समूहका कर्मचारी पार्टी प्रदेश कमिटीको सदस्य बन्न सक्नेछन् । त्यसका लागि निजामती सेवातर्फका ८ जनाले कोटा प्राप्त गरेका थिए । सो कोटामा ८ जनाभन्दा बढी प्रतिनिधिले उम्मेदवारी दर्ता गरेपछि बखेडा खडा भएको थियो । जसमा मिलाउने क्रममा निजामतीतर्फबाट प्रतिनिधित्व गर्ने ३२ जनामध्येबाट अलग्गै गोप्य मतदान गर्ने र ८ जना निर्वाचित हुने सहमति थियो ।
८ जनाभित्र नपरे अरु सबैले उम्मेदवारी फिर्ता लिने मञ्जुरी भएकै हो । सोहीमुताविक अलग्गै चुनाव हुँदा १० मत मात्र प्राप्त गरी केदार देवकोटा पछि परे तर उम्मेदवारीबाटै हटेनन् । मत परिणामपछि देवकोटाले ३०४ जनाले नै मतदान गर्नुपर्ने र आपूmलाई नियोजित रूपमा हराएको घोषणा सामाजिक सञ्जालमार्फत गर्नुका साथै अन्य प्रतिनिधिलाई पूरै निर्वाचन असफल भएकाले आइतबार मतदानमा भाग लिन खबर गरे । जबकि अन्य पेशा समूहका उम्मेदवारहरूले यस्तै सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिएका थिए ।
देवकोटाको यो दाउका कारण अन्य पेशाबाट एमालेको प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने, स्वास्थ्यकर्मी, वकिल, लेखापरीक्षक, शिक्षक, पत्रकार, कर्मचारी रन्थनिएका छन् । महासंघको अधिवेशनले हलबाट सर्वसम्मत रूपमा ताली पड्काएर पारित गरेको सहमति देवकोटाको कारण लतारिने भएको छ । विधानअनुसार यो क्षेत्र पनि पार्टीको इलाकास्तरीय निर्वाचन क्षेत्र मानिन्छ । त्यसैअनुरूप पेशागतमा आबद्ध भएका विभिन्न समूह वा विभागका कर्मचारीले पार्टीमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।
हलमा निजामतीका ८ जना, सेवातर्फका २ जना, वकिलबाट १ जना, वित्तीयबाट ४ जना, लेखापरीक्षक र र स्वास्थ्य समूहबाट १।१ जनाले प्रदेश कमिटी सदस्यको हैसियत प्राप्त गर्ने सहमति भएको थियो । यसै बमोजिम अन्य सेवा र समूहका उम्मेदवारहरूले मनोनयन फिर्ता लिए । देवकोटाले जम्माजम्मी १० मत मात्रै पाएपछि अधिवेशन स्थलबाट रन्थनिदैं निस्किए र आफ्नो उम्मेदवारी कायम भएको भन्दै वक्तव्य निकाले । र, सहभागी सबैलाई शनिबार ३ बजे बागबजारमा आएर मतदानका निम्ति आग्रह गरे । उनले फेसबुकमा आग्रह गरेपछि केही प्रतिनिधि मतदान गर्न भेला पनि भए ।
यसैबीच, निर्वाचन समितिको अध्यक्ष मण्डलका अध्यक्ष डा. बाबुराम अधिकारीलगायतले देवकोटाको यस्तो गतिविधि थाहा पाएपछि मिलाउने प्रयत्न गरे । छलफलमा सुजिता शाक्य, विणा श्रेष्ठ, प्रेमकुमार पराजुली, मिलन धरेल, निर्वाचन विभागका डा. कुन्साङ लामालगायत सहभागी थिए । देवकोटा एमाले समर्थित पेशागत महासंघका महासचिव पनि हुन् ।
टिप्पणीहरू