एमाले सुदूरपश्चिममा निर्वाचन प्रक्रिया शुरु,आज साँझ मतदान
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयन मतदान प्रक्रियाबाट हुने भएको छ । नेतृत्वले सहमतिमा प्रदेश कमिटी गठन गर्न निर्देशन दिए पनि अन्यत्रझैँ धनगढीमासमेत चुनावी प्रक्रिया प्रारम्भ गरिएको हो ।
निर्वाचन कमिटीको निर्णयानुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन, बेलुकी साढे ६ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, ७ बजे दाबी विरोधको सूचना प्रकाशन, साढे ७ बजे दाबी विरोधउपर छानबिन र राति ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
राति नै ९ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गरिएकोमा अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता प्रक्रिया प्रारम्भ भएको छ । बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, साढे ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र १२ बजे उजुरीउपर छानबिन र निर्णय गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
साढे १२ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, साढे १२ बजेदेखि २ बजेसम्म उम्मेदवारको नाम फिर्ता, साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र साँझ ५ बजेदेखि मतदानको समय तोकिएको छ ।
टिप्पणीहरू