सकुञ्जेल खाने सचिवलाई हाइसञ्चो

सकुञ्जेल खाने सचिवलाई हाइसञ्चो

नेशनल पेमेन्ट गेटवेको २५ करोड भ्रष्टाचार काण्ड लागेर उद्योग सचिव मधुकुमार मरासिनी निलम्बित भए । त्यहीँका अर्का ‘इन्साइक्लोपेडिया’ सचिवसमेत अब यसैको फन्दामा परे अनौठौ नमान्दा हुन्छ । सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित मुकुन्द निरौला अहिले आपूर्ति सचिव छन् । उनैले प्रदेशमा सचिव हुँदा गरेको बदमासीका कारण अप्ठ्यारोमा पर्न लागेका हुन् । 

निरौलाले प्रदेशमा भतिजहरूलाई नै आकर्षक कार्यालयमा फिट गराएका थिए । यो रोग प्रदेशदेखि आपूर्ति सचिव हुँदा पनि जारी राखे । दुई साताअघि कम्पनी रजिष्ट्रारको कार्यालयका डबल डिग्रीवाला रजिष्ट्रार महेश बराललाई राष्ट्रिय योजना आयोगमा तानेर त्यहाँ भाञ्जा दिवस आचार्यलाई पठाउन खोजे । राष्ट्रिय सूचना आयोगको कार्यालयबाट दैनिक सयौंको संख्यामा कम्पनी दर्ता हुने त्रिपुरेश्वर खटाए पनि दिवसले त्यस्ता गन्हाउने र अख्तियारको बक्रदृष्टिमा परेको कार्यालयमा नजाने  अड्डी लिएसँगै बरालले थमौती पाएका छन् ।

निरौलाले निजामती वृत्तमा बदनाम केदार देवकोटालाई अर्थबाट बूढानीलकण्ठ नगरपालिकाको लेखा अधिकृतमा सरुवा गर्ने कामसमेत रमाना लिएर हिँडिसकेपछि गरेको बाग्मतीका कर्मचारीले जनआस्थालाई बताए । 

यस्तै, प्रदेशका १२ जना कर्मचारीलाई एक तह बढुवा गराउँदा लाखौँ लाभ लिएको बताइन्छ ।  बाग्मती प्रदेशको प्रमुख सचिवबाट आपूर्ति मन्त्रालयमा आउनुअघि निरौलाले तीन जना भतिजलाई यातायात कार्यालयमा तैनाथ गराएको भेटिएको छ । 

यसरी लामो समयसम्म भक्तपुरको राधेराधेमा रहेर त्यहाँका ट्रायल सेन्टरबाट मिलेर उठाउन पल्किएका भतिज शिव निरौला खुर्काेट कार्यालयमा सारिएका छन् । यसो गरिनुको मुख्य कारण नै त्यहाँ खुल्न लागेको नयाँ ट्रायल सेन्टर हो । वर्ष दिनअगाडि देखि नै तयारी भएर हालै मात्र टेण्डर नोटिस निकालिएको यो  ट्रायल सेन्टरमा झण्डै ५ करोडको खेतीपाती छ भन्छन्, यातायातका कर्मचारी ।  

सोहीअनुसार साताैँ तहका अधिकृत निरौलाकै डिजाइनमा खोलिएको टेण्डरमा एउटा मात्र कम्पनीले भाग लिएको छ । यस्तै, अर्का भतिजलाई चाबहिलस्थित यातायात कार्यालयमा लगिएको छ । त्यहाँ पाँचौँ तहका उनै केशव निरौला अहिले हर्ताकर्ता छन् । भने सातौं तहका बद्री निरौलालाई गुर्जुधारा यातायातको हर्ताकर्ता बनाइएको छ । उता मुकुन्दकै पालामा जबर्जस्ती खटाइएका ३० कर्मचारीको कारण बाग्मती प्रदेशमा लफडा निस्किएको छ । 

लोकसेवा आयोगमाथि समेत प्रश्न उठ्ने गरी अर्काे नासु ३० वर्षदेखि एउटै कार्यालयमाथि बसिरहेको भेटिएको छ । अधिकांश कर्मचारी बढीमा एकदेखि दुई वर्षमै सरुवामा पर्छन् तर यातायातका केशव जमरकट्टेल (जेके) ०५९ सालदेखि त्यही कार्यालयमा डेरा जमाएर बसेका छन् । 
 

टिप्पणीहरू