किन र कसरी चुनाव हारे दाहाल कमरेडले ?

किन र कसरी चुनाव हारे दाहाल कमरेडले ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रादेशिक कमिटी निर्वाचनमा मतका आधारमा कैलाश ढुंगेलसँग पराजित भए पनि कृष्ण दाहालले मनको आधारमा जितेसरह भएको दावी गरिएको छ । अध्यक्ष खड्गप्रसाद ओली र महासचिव शंकर पोखरेलले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि दाहाल मैदानमै अडिएका थिए । पराजित भए सँगै पुराना कार्यकर्ता दाहालको राजनीतिक करिअर धरापमा परेको छ । केन्द्रीय सदस्य पद पनि गुमेको छ । २०४८ सालको चुनावमा कमल थापालाई हराएर कान्छो सभासद्को रुपमा दाहालले राम्रै चिनारी बनाएका थिए । यसपटक पनि स्वतन्त्र तवरबाट चुनाव भएको भए उनले ढुंगेललाई सहजै जित्थे भन्नेहरु थुप्रै छन् । किनभने अध्यक्ष ओली र केयौं नेताहरु ढुंगेलको पक्षमा लागे पनि २५७ मतको अन्तरले मात्रै चुनाव हारे । जम्मा ११३५ मत खसेकोमा विजेताले ६९६ र पराजितले ४३९ प्राप्त गरेका थिए । 

केही दिन अघिसम्म दाहाललाई जिताउन कम्मर कसेर लागेका र एकताका अध्यक्ष ओलीको विश्वासिला गोकुल बाँस्कोटाले अन्तिम समयसम्म दबाब थाम्न नसकेपछि दाहाल एक्लै मैदानमा ओर्लिएको बताइन्छ । दाहालसँग अध्यक्ष ओलीले चित्रगुप्तको जस्तो हिसाब निकाल्नुको खास कारण नेकपा विभाजनताका निकालेको वक्तव्य हो भनिएको छ । त्यसबेला दाहालले पार्टी विभाजनले कसैको हित गर्दैन भनेर स्वतन्त्र बस्ने मनशाय व्यक्त गरेका थिए । अध्यक्ष ओलीले अहिले आएर विभाजनका बेला साथ नदिनेलाई किन नेता बनाउने भनेपछि बाँस्कोटाहरु हच्किएको हुनुपर्छ । अर्को कारण हो– मकवानपुरको अध्यक्षमा दाहालले बद्री लम्सालको नाम अघि सार्नु । त्यसमा ओलीले एकलाल श्रेष्ठलाई अध्यक्ष र  बद्री लम्साललाई सचिव बनाए भैहाल्यो नि, के को गलफत्ती गरेको भनेका थिए । दाहालले पनि त्यसो भए तपाईं महासचिव बसेर शंकर पोखरेललाई अध्यक्ष बनाए भइहाल्यो नि भन्ने जवाफ दिएको सम्झनेहरु हेटौंडातिर भेटिएका छन् । 

यी दुवै कारणले गर्दा दाहाललाई प्रदेश अध्यक्षका हिसाबले पोलिटब्युरोमा ढिम्किन नदिन अध्यक्ष ओलीले प्रत्यक्ष भूमिका खेलेको बताइन्छ । अहिलेको चुनावमा मकवानपुरका एमाले नेताहरु अनन्त पौड्याल, डोरमणि पौड्याल, महेश बर्तौला र बद्री लम्साल खुलेरै कैलाश ढुंगेलतिर लागेका थिए । र, हारको समीक्षा गर्दा विशेष गरी दाहाललाई लम्सालले धोका दिएको निष्कर्ष निकालिएको बताइन्छ । १० भाइ पक्षधर भनी चिनिएका चितवनका कृष्णभक्त पोखरेललाई अध्यक्ष ओलीले पहिलादेखि नै बक्रदृष्टि राखेका थिए । शेरबहादुर तामाङको कानुनमन्त्रीबाट राजीनामासँगै अध्यक्ष ओलीले उनलाई बालुवाटारमा मैलाई कहिलेकाहिँ क्रस गर्र्छौ, त्यसैले मन्त्री बन्न हतार नगर समेत भन्न भ्याएका थिए । यसरी एमालेभित्र ओलीलाई क्रस गर्न नपाइने अवस्था विद्यमान छ । 

वाग्मतीको चुनावमा कैलाशको जित सुनिश्चित गराउन अध्यक्ष ओलीले केशव पाण्डेलाई फिर्ता लिन लगाएका थिए । प्रदेश सभाका पूर्वसभामुख सानु श्रेष्ठ भने दाहालको पक्षमा देखा परेका थिए । रामेछापका केशर बुढाथोकीलाई पनि ढुंगेलको समर्थनमा उम्मेदवारी फिर्ता लिन लगाइएको थियो । उनी र ढुंगेल एउटै वडाका हुन् । श्रेष्ठ उठ्नुको मुख्य कारण दाहाललाई जिताउनलाई हो भन्ने कुरा बुझेपछि अध्यक्ष ओलीले शंकर पोखरेललाई अह्रनखटन गरी मध्यराति बालकोट पु¥याउन लगाएको र त्यसपछि मात्रै उम्मेदवारी फिर्ता हुनुका साथै फिर्ता गर्ने समय एक दिन पछि धकेलिएको थियो ।

बागमतीको चुनावमा अध्यक्ष ओली र महासचिव पोखरेलनिकट ढुंगेल समूहका दावा दोर्जी लामाले उपाध्यक्ष र सचिवमा पूर्व डिआईजी नवराज सिलवालले १ मतले जितेका छन् । १० भाइ समूहका नारायण खतिवडासहित इश्वरचन्द्र पोखरेल र सुभाषचन्द्र ठकुरी भने पराजित भएका छन् । सचिव पदमा सिन्धुपाल्चोकका पुराना नेता हस्तबहादुर पण्डित  सिलवालसँग एक मतको अन्तरले मात्रै पराजित भएका हुन् । सिलवालले ५६८ मत पाएका थिए । 

एमालेमा बढ्दो खिचलोका कारण कोशी, बागमती, कर्णाली र गण्डकीलगायतका प्रदेश समितिहरुको अधिवेशन समयमा शुरु हुन सकेनन् भने सबै अधिवेशन लम्ब्याउने र सहभागीहरुलाई गलाउने नीति लिएको देखिन्छ । 

यसैबीच एमाले समर्थित पेशागत महासंघको केन्द्रीय अधिवेशन असोज १९ र २० गते काठमाडौंमा हुने भएको छ । नेतृत्वका लागि भोला पोखरेल, पुण्य पौडेल र केदार देवकोटा प्रतिस्पर्धाको तयारीमा छन् । अहिलेका संयोजक प्रेमकुमार पराजुलीलाई चुनौती दिने मनशायका साथ कतिपयलाई प्रतिनिधि बनाइएको दाबी स्रोतले गरेको छ । त्यसैगरी अडानका अध्यक्ष मोहनराज जैसी पनि पेशागत महासंघको अध्यक्ष पदमा दावेदारी गर्दैछन् ।
 

टिप्पणीहरू