जनप्रतिनिधि उहिल्यै अमेरिका, भत्ता खुरुक्क यता

जनप्रतिनिधि उहिल्यै अमेरिका, भत्ता खुरुक्क यता

– यदुनाथ बञ्जारा 

जनताको सेवा गर्न निर्वाचित जनप्रतिनिधिमध्ये कतिपय धनप्रतिनिधिको कित्तामा पुगेको तथ्य फेला परेको छ । महिनौंदेखि विदेश भास्सिएका त्यस्ता जनप्रतिनिधिका नाममा रहेको खातामा सरकारी कोषको पैसा खुरुखुरु हाल्दै आइएको भेटिएको छ ।

पोखरा महानगरपालिका–२० का वडासदस्य उत्तम गुरुङ निर्वाचित भएलगत्तै २०७९ पुसदेखि अमेरिका गएकोमा १० महिना बितिसक्दा पनि फर्किएका छैनन् । एमालेबाट निर्वाचित उनी छिट्टै फर्कन्छु भनेर गएको २० नम्बरका वडाध्यक्ष गंगाबहादुर क्षेत्रीले बताए । 

गुरुङ १० महिनादेखि सम्पर्कविहीन भए पनि पोखरा महानगरपालिकाले उनको खातामा मासिक १५ हजार ३ सय रूपैयाँ जम्मा गरिदिएको छ । अमेरिका पुगेर सम्पर्कविहीन रहे पनि उनको खातामा नागरिकले तिरेको कर राजस्व डेढ लाख रूपैयाँभन्दा बढी जम्मा गरिएको छ । शुरुका वर्षमा कर्मचारीझैँ गरी खाँदै आएको

तलब सुविधा सर्वाेच्च अदालतले अवैध घोषणा गरिदिएपछि प्रदेश सरकारले इन्धन, सञ्चार, यातायात, अतिथि सत्कार, अनुगमनजस्ता उपशीर्षक राखेर सुविधा दिने बाटो खोलिएको थियो । विदेश बसेका जनप्रतिनिधिले उपस्थितिबिनै पैसा खान पाउने भएपछि राज्यको ढुकुटी दोहन बढेको प्रष्ट हुन आएको छ । वडा पदाधिकारीको बैठक माइन्युट गर्ने सदस्य सचिवले समेत महानगरलाई जानकारी नगरिदिएका कारण विदेश बसेका जनप्रतिनिधिको नाममा पैसा गएको पोखरा महानगरका सूचना अधिकारी किरण कोइरालाले बताए । 

यसअघि पनि पोखरा–२० कै जनप्रतिनिधि लक्ष्मी सुवेदी महानगरलाई जानकारी नगराई १५ महिनासम्म अष्ट्रेलिया पुगेर सम्पर्कविहीन भएकी थिइन् । उक्त मितिमा उनको नाममा महानगरले कति पैसा खातामा हालिदियो त्यो पनि खोजी हुनुपर्ने आवाज उठेको छ । राज्यलाई जानकारी नदिई देश छाड्ने जनप्रतिनिधि र त्यस्ता पात्रको खातामा पैसा हालिदिने कर्मचारीको हकमा नियामक निकायको आँखा जान्छ कि जाँदैन, हेर्न बाँकी नै छ ।
 

टिप्पणीहरू