प्रधानमन्त्रीपछि बोल्न उठेका रघु पन्तले समय पाएनन्

प्रधानमन्त्रीपछि बोल्न उठेका रघु पन्तले समय पाएनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले दुबै भ्रमणको उद्धेश्य र प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको हो । 

बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा आफूले गरेका विभिन्न सम्बोधनले नेपाल चिनिने र देखिने गरी स्थापित भएको उल्लेख गर्नुभयो । त्यस्तै,चीन भ्रमणबाट दुई देशबीच विश्वासको नयाँ वातावरण बनेको र आपसी हित र सहकार्यका पक्षमा महत्वपूर्ण सम्झौताहरु भएको प्रधानमन्त्रीले बताउनुभयो । 

 तर,प्रधानमन्त्रीको उक्त भनाइमा प्रमुख प्रतिपक्ष एमालेले भने चित्त नबुझाएको संकेत दिएको छ । सो पार्टीका सांसद रघुजी पन्तले प्रधानमन्त्री बोलेलगत्तै आफ्ना भनाई राख्न खोजेका थिए । तर, प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्ने बैठकमा कार्यसूची नरहेकाले उनलाई समय प्राप्त भने भएन । 

आफ्नो सम्बोधन टुंग्याएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रमबाट फर्केपछि हातमा माइक लिएर उभिएका उनलाई सभामुख घिमिरेले भन्नुभयो,'माननीय सदस्य,प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने कार्यसूची छैन,मैले यहाँलाई समय दिन सक्दिन !'  त्यसपछि पनि पन्त बोल्न खोजिरहेका थिए, तर माइक अन नभएपछि उनी बसे । 

अहिले संसद नियमित कार्यसूचीअनुसार चलिरहेको छ।

टिप्पणीहरू