सिराहाका स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै, अख्तियारमा उजुरीको चाङ
आर्थिक अनियमितताको विवादमा तानिएको सिरहाको लहान नगरपालिकासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कामकारबाहीको सक्कल फाइल मागेको छ ।
अख्तियारले गत आर्थिक वर्षमा गरिएका सम्पूर्ण कामकारबाहीको सक्कल कागजात पठाउन नगरपालिकालाई निर्देशन दिएको हो । वडा नम्बर ७ का वडाध्यक्ष राऔतार साहले अख्तियारले पत्र पठाएको बताए । उनले भने, ‘हो, अख्तियारले लहान नगरपालिकालाई पत्र पठाएर कागजात माग गरेको छ ।’
लहानका मेयर महेश चौधरीले आफ्नो मनोमानी चलाइरहेको भनि जनस्तरमा चर्को आलोचना भइरहेको बेला अख्तियारले उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । चालु आर्थिक वर्ष २०८०–८१ को साउन र भदौमा मात्रै मेयर चौधरीविरुद्ध अख्तियारमा १६ वटा उजुरी दर्ता भएको छ ।
सिरहाका पालिकाविरुद्ध अख्तियारमा उजुरीको ओइरो
सिरहाका स्थानीय तहविरुद्ध अख्तियारमा उजुरीको ओइरो लागेको छ । १७ वटा स्थानीय तहविरुद्ध चालु आर्थिक वर्षको दुई महिनामै २८० उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।
सबैभन्दा धेरै उजुरी औरही गाउँपालिकाविरुद्ध ७३ वटा उजुरी दर्ता भएको छ । त्यस्तै, सिरहा नगरपालिकाविरुद्ध २२, कर्जन्हा नगरपालिकाविरुद्ध १२, कल्याणपुर, मिर्चैया र लहान नगरपालिकाविरुद्ध १६ का दरले ४८ उजुरी दर्ता भएको अख्तियारले जानकारी दिएको छ ।
गोलबजार नगरपालिकाविरुद्ध २९, धनगढिमाई नगरपालिकाविरुद्ध १५, सुखिपुर नगरपालिकाविरुद्ध ११ वटा उजुरी परेको छ ।
त्यस्तै, गाउँपालिकाहरुमा संखुवानन्कारकट्टीविरुद्ध ९, विष्णुपुरविरुद्ध १३, भगवानपुरविरुद्ध १०, बरियारपट्टीविरुद्ध ६, नवराजपुरविरुद्ध ५, नरहाविरुद्ध ७, अर्नाविरुद्ध ९ र लक्ष्मीपुर पतारीविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ ।
टिप्पणीहरू