काँग्रेस संखुवासभा सभापतिद्वारा राजीनामा, राजधानीमा बस्नु परेकाले जिम्मेवारी छाडिएको स्पष्टाेक्ति
नेपाली काँग्रेसको संखुवासभा जिल्ला कार्यसमितिका सभापति दिपक खड्काले राजीनामा दिएका छन् । गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचित उनले आज पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएको बताइएको छ ।
प्रतिनिधिसभाको गतिविधिका कारणले काठमाडौंमा धेरै समय बिताउनुपर्ने भएको उल्लेख गर्दै उनले संगठनलाई पर्याप्त समय दिन नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् । उनले आफ्नो राजीनामा स्वीकृत गराएर जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गरेका छन् ।
‘पार्टी संगठन सुदृढ गर्न सहज होस् भन्ने असल चाहनाले मैले मेरो नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको छु । अतः मेरो राजीनामा स्वीकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्न–गराउन अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ ।
साथै, उनले जिल्ला सभापति पदमा नरहेपनि नयाँ बन्ने सभापतिलाई निरन्तर सहयोग गरिरहने बताएका छन् ।
टिप्पणीहरू