एसियाडमा ११ मुलुकलाई स्वर्ण, चीन पहिलो स्थानमा

एसियाडमा ११ मुलुकलाई स्वर्ण, चीन पहिलो स्थानमा

चीनको हाङ्चौ शहरमा भइरहेको १९ औं एसियाली खेलकुदमा ११  राष्ट्रले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको तेस्रो दिन आयोजक राष्ट्र चीनले पदक तालिकामा शीर्ष स्थान कायम राखेको छ । 

आज साँझसम्म चीनले ३७ स्वर्ण पदकसहित ६६ पदक जितेर पहिलो स्थान बनाएको छ । चीनले २० रजत र ९ कास्य पदक पनि जितेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ९ स्वर्ण, १० रजत र १२ कास्य गरी कूल ३१ पदक आफ्नो नाममा पारेको छ । 

पाँच स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित जापान तेस्रो स्थानमा रहेको छ । उज्वेकिस्तान चौथो स्थानमा छ । उसले चार स्वर्ण, चार  रजत र ६ कास्य पदक जितेको छ । हिजो चौथो स्थानमा रहेको हङकङ एक तह तल झरेको छ । तीन स्वर्ण, चार रजत र छ कास्यसहित हङकङ पाँचौ स्थानमा छ । 

छैठौं स्थानमा रहेको भारतले दुई स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको छ । दुई स्वर्ण, एउटा रजत र तीन कास्य पदक जितेको चाइनिज ताईपाई सातौं भएको छ । इन्डोनेसिया एउटा स्वर्ण, एउटा रजत र चार कास्य जितेर आठौंमा छ भने नवौंमा रहेको थाइल्याण्डले एउटा स्वर्ण र दुई वटा कास्य पदक हात पारेको छ । 

दशौं स्थानमा मकाउ र ताजकिस्तान छन् । यी दुई मुलुकले एक–एक वटा स्वर्ण र एक–एक वटा कास्य पदक जितेका छन् । एसियाडको विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको नेपालले भने हालसम्म पदक तालिकामा खाता खोल्न सकेको छैन ।

टिप्पणीहरू