रुकुमको रक्तदानमा सिडियो पनि सहभागी

रुकुमको रक्तदानमा सिडियो पनि सहभागी

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले नवौ संविधान दिवसको अवसरमा मुसिकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित १६ जनाले रक्तदान गरेका छन् । चौरजहारीमा रहेको ब्लड बैंकमा रगत अभाव हुन थालेपछि महासंघले आज रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले महत्वपूर्ण दिनमा सबैभन्दा उत्कृष्ट दान ‘रक्तदान’ गर्ने पुण्य कार्य भएको बताए । उनले मुलुकले नयाँ तर ऐतिहासिक संविधान पाएको दिनको सन्दर्भ उल्लेख गर्दै आजको दिनलाई सभ्य र भव्य रुपले मनाउन आवश्यक रहेको उल्लेख गरे । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मुलुकले नयाँ संविधान पाएको नवौं वर्ष प्रवेशको सुअवसरमा रक्तदान गरिनु अर्को सुखद् समाचार भएको बताए । घरघरमा दिपावली गरिरहेको बेलामा बिरामीको ज्यान जोगाउन गरिएको प्रयास सह्रानीय भएको उनको भनाई छ । परिवर्तनलाई संस्थागत गर्दै संविधान कार्यान्वयनको अनूभुति दिलाउन सबै निकायले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उने जोड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पन्तसहित १७ जनाले रक्तदान गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटीले चौरजहारीमा सञ्चालन गरेको ब्लड बैंकमा उपलब्ध गराइएको छ । 

रुकुमपश्चिमसहित छिमेकी जिल्लाहरु जाजरकोट, सल्यान, रुकुम पूर्व र डोल्पा समेतका बिरामीहरुको सेवाको लागि सञ्चालित उक्त ब्लड बैंकमा रगत अभाव नहोस् भनेर संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले बताए । ‘रगतको अभावमा कुनैपनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले रक्तदान गरिएको हो,’ उनले भने । 

सरकारी कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार र गैरसरकारी निकायका व्यक्तिहरुले स्वतस्फूर्त रुपमा रक्तदान कार्यमा सहभागी भएको जानकारी दिइएको छ । 

मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखा र उपशाखा चौरजहारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । रक्तदाता र प्राविधिक सहयोग पुर्याएका स्वास्थ्यकर्मीहरुलाई महासंघको तर्फबाट सम्मान पत्र प्रदान गरिएको छ ।

टिप्पणीहरू