बढ्दो सवारी दुर्घटना, छैन सतर्कता

बढ्दो सवारी दुर्घटना, छैन सतर्कता

काठमाडौंको पेप्सीकोलामा आइतबार बिहान भएको भयंकर सवारी दुर्घटनामा दुई जनाको निधन भयो । पेप्सीकोलाबाट जडीबुटीतर्फ जाँदै गरेको बा.३ ख ४८४८ नम्बरको बसले तीन वटा सवारी साधानलाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको थियो ।

विपरीत दिशाबाट आएको बा.६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो । दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलसमेत दुर्घटनामा परेका हुन् । 

प्रहरीका अनुसार मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र दोलखा घर भई हाल सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १४ जनाको हाल उपचार भइरहेको छ । 

यसअघि भदौ ७ गते पूर्वपश्चिम राजमार्गको हेटौंडा–पथलैया सडक खण्डमा पर्ने प्रसिद्ध तीर्थस्थल चुरिया मन्दिरनजिकै भएको सवारी दुर्घटनामा सात जना भारतीय नागरिकको ज्यान गएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा पर्ने चुरियामाई मन्दिर नजिकै जनकपुरबाट काठमाडौं जाने क्रममा रहेको मधेश प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस सडकबाट १५ मीटर तल खस्दा सात जनाको मृत्यु र १४ जना गम्भीर घाइते भएका थिए । 

त्यसको अघिल्लो दिन धादिङको छहरा नजिकै त्रिशुली नदीमा यात्रुवाहक बस खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भयो । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी गाउँपालिका २, छहराबाट त्रिशुली नदीमा खसेको थियो । उक्त दुर्घटनामा आठ जना गम्भीर घाइते भएका थिए । 

पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा छ । तीमध्ये यी केही प्रतिनिधि घटना मात्रै हुन् । हिजोआज दिनहुँजसो सवारी दुर्घटनामा कोही न कोहीको मृत्यु भइरहेको सुनिन्छ । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो १० वर्ष (२०७०/०७१ देखि २०७९/०८०) मा सवारी दुर्घटनामा परेर २३ हजार ५१३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ४८ हजार ६०५ जना गम्भीर घाइते भएको जनाइएको छ ।  

त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार ७८७, २०७१/०७२ मा दुई हजार चार, २०७२/०७३ मा दुई हजार छ, २०७३/०७४ मा दुई हजार ३८४, २०७४/०७५ मा दुई हजार ५४१, २०७५÷०७६ मा दुई हजार ७८९ जनाको सवारी दुर्घटनामा निधन भएको देखिन्छ । 

आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार २५१, २०७७/०७८ मा दुई हजार पाँच सय, २०७८÷०७९ मा दुई हजार ८८३ र २०७९÷०८० मा दुई हजार ३६८ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको तथ्याङ्कमा उल्लेख छ । 

ट्राफिक नियम पालना नगर्ने सवारीसाधन र जहाँसुकैबाट बाटो पार गर्ने पैदलयात्रीका कारण दिनहुँ सवारी दुर्घटना बढिरहेको बताइन्छ । अर्को प्रमुख कारण व्यस्त सडकमा पर्याप्त आकाशे पुल नहुनु तथा भएको जेब्राक्रस समेत मेटिनु हो । 

काठमाडौं उपत्यकाभित्रकै व्यस्त सडकमा पर्याप्त आकाशे पुल छैन । जेब्राक्रस समेत नदेखिने अवस्थामा छ । यसले जताततैबाट बाटो पार गर्दा सवारी साधनको ठक्करबाट पैदलयात्रीको ज्यान जाने गरेको पाइएको छ । 

त्यस्तै, यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इञ्जिनियरिङबिना सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, दु्रत गतिमा सवारी हाँक्नेजस्ता कारणले पनि सडक दुर्घटना भइरहेको छ ।

तर, दुर्घटनाको कारण पहिचान गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ सरकारको पर्याप्त ध्यान गएको देखिँदैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार ९० प्रतिशत सवारी दुर्घटना मानिसकै कारण हुने गरेको छ । 

उनी भन्छन्, ‘सवारीसाधन भनेको मानिसले गुडाउने हो । यो आफैं गुड्दैन । तर, चालकले नै मादक पदार्थ सेवन गरेर ट्राफिक नियमको पालना नगरी लापरबाही तवरले गाडी चलाउँदा दुर्घटना हुने गरेको छ ।’ 
मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारीसाधन चलाउन नहुने ज्ञान  सबैमा छ । तरपनि चालकको अटेरीका कारण ठूलो दुर्घटना हुने गरेको उनको भनाई छ । अर्कोतर्फ गाडीको अवस्था जाँच नगरी चलाउँदा, पैदलयात्रीले जताततैबाट बाटो काट्दा पनि सवारी दुर्घटना बढिरहेको हो । 

बढ्दो सवारी दुर्घटनामा न्यूनीकरण ल्याउन तीव्र गतिमा गाडी गुडाउने तथा ट्राफिक नियम पालना नगर्ने चालकलाई कारबाही गरिँदै आएको उनको दाबी छ । यो बाहेक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरिएको जानकारी पनि दिए ।

टिप्पणीहरू