भरतपुर अस्पतालमा धेरै वटा कक्षबाट औषधि बिक्री

भरतपुर अस्पतालमा धेरै वटा कक्षबाट औषधि बिक्री
सुन्नुहोस्

चितवनको भरतपुर अस्पतालले सेवाग्राहीको सहजताका लागि धेरैवटा औषधि बिक्री वितरण कक्ष तय गरेको छ । सेवाग्राहीको सहजता र गुणस्तरीय सेवाका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ । 

अस्पतालका अनुसार अब ओपीडी सेवातर्फका स्वास्थ्य बीमाका सेवाग्राहीले अस्पताल प्राङ्गणमा रहेको मुख्य फार्मेसीबाट औषधि लिन सक्नेछन् । त्यस्तै, अस्पतालमा कार्यरत कर्मचारी, ८० वर्ष माथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले ओपिडी भवनभित्रको फार्मेसीबाट औषधि प्राप्त गर्न सक्ने जनाइएको छ ।  

अस्पतालमा भर्ना भएका सम्पूर्ण सेवाग्राही, डायलासिस, स्पाइनल कर्ड इन्जुरीका सेवाग्राही र अस्पतालबाट डिस्चार्ज भएकालाई ‘ए’ ब्लकमा रहेको ओटी फार्मेसीबाट औषधि उपलब्ध हुनेछ ।  

इमर्जेन्सी विभागमा उपचारार्थ सेवाग्राही, प्लास्टर÷सीटी स्क्यान गर्नुपर्ने सेवाग्राही र ओपिडीमा आउने माइनर ओटी एवम् विपन्न, बेवारिसे सेवाग्राहीले इमर्जेन्सी विभागभित्रको फार्मेसीबाट औषधि लिन सक्छन् ।

यस्तै, इन्सुलिन, रोटाक्याप, योनी ट्याब्लेटलगायत दीर्घरोगीले प्रयोग गर्ने औषधिसम्बन्धी परामर्श तथा अशक्त, अपांग भएका सेवाग्राहीलाई अस्पताल प्राङ्गणमा रहेको औषधि परामर्श कक्षबाट सेवा उपलब्ध गराइनेछ । लक्षित वर्गका सेवाग्राहीले अस्पतालको अवलोकन वार्डमा रहेको फार्मेसीबाट निःशुल्क औषधि प्राप्त गर्न सक्ने जनाइएको छ ।
 

टिप्पणीहरू