मरेका कुखुराको मासु बजारमा, पोल्ट्री व्यवसायीहरु सिंहदरबारमा

मरेका कुखुराको मासु बजारमा, पोल्ट्री व्यवसायीहरु सिंहदरबारमा

दक्षिणी सीमा क्षेत्रका कोल्डस्टोरबाट मरेका कुखुराको मासु बजारमा पुर्याइएको भन्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि पोल्ट्री व्यवसायीहरुले गृहमन्त्रीसँग गुहार मागेका छन् । 

गृह मन्त्रालयमै पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका कुखुरा व्यवसायीहरुले त्यस्ता पोल्ट्री फम बन्द गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको बताइन्छ । त्यसक्रममा कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरु चर्को मारमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, संक्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र उपभोक्ताको स्वास्थमाथि प्रतिकूल असर परेको चर्चा पनि त्यस क्रममा भएको थियो । गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकोले कानुन नै संशोधन गरेर भएपनि यसको प्रभावकारी नियन्त्रण गरिने प्रतिबद्धता जनाएपछि व्यवसायीहरु हर्षित मुद्रामा सिंहदरबारबाट निस्किएका हुन् ।

गृहमन्त्रीले चासोका साथ आयोजना गरेको आज बिहानको सो बैठकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षकहरू, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य–आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेन्टाइन कार्यालयका अधिकारी र कुखुरापालनसँग सम्बन्धित उद्योगी व्यवसायीहरू सहभागी थिए ।

टिप्पणीहरू