छ महिना पहिले कोशी नाम, अहिले आँसु चुहाउने काम

छ महिना पहिले कोशी नाम, अहिले आँसु चुहाउने काम
सुन्नुहोस्

सत्तारुढ दल नेकपा माओवादी केन्द्र कोशी प्रदेशको नामाकरण सच्याउने निर्णयमा पुगेको छ । ‘उहिले मरिन सासु, अहिले आउदैछ आँसु’ भन्ने उखान झैँ प्रदेशको नामकरण भएको ६ महिनापछि माओवादीले कोशीको विकल्पमा आफूलाई उभ्याउने निर्णय गरेको हो । 

हालै मात्र जिम्मेवारी पाएका कोशी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल बलदेवको नेतृत्वमा बसेको प्रदेश कमिटी बैठकले पहिचान विरोधी नामाकरण हुनु गम्भिर त्रुटी रहेको निष्कर्ष निकाल्दै आत्मआलोचनासहित उक्त नाम खारेज गर्न माग गर्ने निर्णय गरेको छ । जबकी १७ फागुनमा माओवादीका १३ जनै सांसदले एमालेले प्रस्ताव गरेको कोशीको पक्षमा भोट हालेका थिए । 

एमाले, काँग्रेस, माओवादीसहित प्रदेशसभाका सबै ठूला दल एकतिर उभिएपछि ९३ सदस्यीय प्रदेशसभमा दुई तिहाई भन्दा बढि ८२ जना कोशीको पक्षमा उभिएपछि सो प्रस्ताव सहजै पारित भएको थियो । उक्त नामप्रति असन्तुष्ट रहँदै पहिचानवादीहरुले गरेको आन्दोलनप्रति समेत शुरुमा माओवादी अनुदार देखिएको थियो । 

त्यसबेला प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले एमाले, काँग्रेस र राप्रपासँग मिलेर नामाकरणलाई आत्मसाथ गर्न आग्रह गर्दै विज्ञप्ती नै जारी गरेका थिए । संसदीय दलका नेता ईन्द्रबहादुर आङबोमाथि त कोशी पास गराउन षडयन्त्रकारी भूमिका खेलेको पार्टीभित्रैबाट आरोपसमेत लागेको थियो । 

तर, कोशीविरुद्धको आन्दोलनले उग्ररुप लिएपछि भने पुरानो अडान फेर्दै माओवादी नाम सच्याउन र पहिचानवादीको आन्दोलनमा साथ दिन तयार भयो । प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सो र सचिव उप्रेतीले विज्ञप्ती जारी गर्दै प्रदेशसभाले दुई तिहाई बहुमतले पास गरेको कोशी नाम संशोधन गर्न माओवादी तयार रहेको बताएका थिए । लगत्तै आन्दोलनकारीहरुसँग वार्ता गर्नुपर्ने माग राख्दै माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

यही साउन अन्तिम साता विराटनगरमा भएको प्रदेश कमिटी बैठकले माओवादी सधै उत्पीडितहरुको पक्षमा रहेकोले पहिचानको मुद्दालाई स्थापित गर्न पहलकदमी लिने निर्णय गरेको छ । त्यसका लागि सबै संघसँस्था र पार्टीहरुसँग संवाद गरि उक्त मुद्धलाई साझा बनाउनुपर्नेमा पनि माओवादीले जोड दिएको छ ।

तर, प्रदेशसभामा गणितीय हैसियत कमजोर रहेको माओवादीको निर्णयले तत्काल कोशी नामाकरणमा फेरिने अवस्था भने छैन ।  किनभने तत्कालीन १ नम्बर प्रदेशसभाले १७ फागुन २०७९ मा दुई तिहाई बढी बहुमतले कोशी टुंगो लगाएको थियो । त्यसबेलाका सत्ताधारी दल एमाले, माओवादी केन्द्र, राप्रपा र प्रतिपक्ष काँग्रेसका ८२ जना सांसदले पक्षमा मतदान गरेका थिए । त्यसबेला विपक्षमा मत हाल्ने एकीकृत समाजवादीका चारजना सांसद मात्रै थिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल (४० सिट) एमाले र दोस्रो ठूलो (२९ सिट) काँग्रेस अहिलेसम्म कोशीकै पक्षमा छन् । यी दुई दल नाम सच्याउन सहमत नहुँदासम्म अरु पार्टीले मात्रै चाहेर सम्भव छैन ।

टिप्पणीहरू