प्रदीप गिरीको अस्तुमाथि राजनीति गर्न खोजेको परिवारजनको आरोप

प्रदीप गिरीको अस्तुमाथि राजनीति गर्न खोजेको परिवारजनको आरोप

समाजवादी चिन्तक एंव नेपाली कांग्रेसका स्व.नेता प्रदीप गिरीको अस्तु विर्सजन कार्यक्रम राखेकोमा उनको परिवारले असन्तृष्टि जनाएको छ । 

प्रदीप गिरी पावन स्मृति आयोजक समितिले हिजो गिरीको स्मृतिमा ‘लोक एंव लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो । भद्रौ २ गतेबाट सुरु हुने सो यात्राका क्रममा वीरगञ्जको तिलवा नदीका साथै भारतको गंगा नदीमा अस्तु विर्सजन गर्ने कार्यक्रम समावेश गरिएको छ । 

तर, गिरीकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमतिबिना अस्तु विर्सजन कार्यक्रम राखेकोमा असन्तृष्टि व्यक्त गरेका हुन् । आफूहरु जीवित हुँदाहुदैँ कुनै सल्लाह र अनुमति नलिई सो कार्यक्रममा गिरीको अस्तु विर्सजन गर्ने क्रियाकलाप समाहित गरेकोमा स्तब्ध भएको उनीहरुको भनाई छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सामान्यतयाः मृत व्यक्तिको सम्बन्धित परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै पनि अमूक व्यक्ति वा संघसंस्थाद्धारा बिनास्वीकृति गर्न पाउने हिन्दु परम्परा र कानूनतः कुनै पनि रुपमा ग्राह्य छैन । यस्तो अशोभनीय क्रियाकलापले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ ।’

कैयौंपटक मौखिम आग्रह र लिखित रुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दागर्दै पनि सो समितिका नायक कञ्चन झा, रामपल्टन शाह र त्यस समितिसँग सलंग्न व्यक्तिहरुले आफ्नो आग्रहलाई लतारेर अस्तुको राजनीति गर्न खोजिरहेको उनीहरुको आरोप छ । 

‘यो बहानामा चन्द्रा उठाउने कार्य पनि निजहरुले गरिररहेका छन्, जुन हाम्रो लागि एकदर्म लज्जास्पद विषय भएको छ । जसमा हाम्रो कुनै सलंग्नता र सहमति नभएको सर्वसाधारणलाई जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो अस्तु उनीहरुले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? र, वास्तमा त्यो अस्तु नै स्व.प्रदीप गिरिको हो कि होएन भन्नेमा नै ठूलो प्रश्नचिन्ह उठेको छ ।’

आफूहरुसँग गिरीको अस्तु सुरक्षित रहेको उल्लेख गर्दै उनको आत्मा चिरशान्तिको लागि सो अस्तु विर्सजन कार्यक्रम नगरिदिन परिवारजनले विनम्र अनुरोध गरेको छ ।
 

टिप्पणीहरू