माओवादी चार वर्षपछि २०६४ को जत्रै हुनेछ : प्रधानमन्त्री

माओवादी चार वर्षपछि २०६४ को जत्रै हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान विकृति र वेथिति अन्त्यको नेतृत्व माओवादी केन्द्रले लिने बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उहाँले पार्टीको दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । शासन व्यवस्थामा परिर्वतन ल्याउने भीषण आन्दोलन गरेको माओवादी पछिल्लो समय जनताको जीवनमा परिवर्तन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा अब त्यो बाटो पहिल्याएको प्रधानमन्त्रीले दाबीसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले देशमा धेरै बेथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।’

निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको पनि उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले गरेका राम्रा काम पार्टीको अभियानसँग जोड्ने गरि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ अभियान चलाउने तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।  

‘हिजो बन्दुक बोकेर एकात्मक, निरंकुशतामा रहेको देशमा समावेसी गणतन्त्र ल्याउन त सक्यौं, तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन’, उहाँले भन्नुभयो, ’जनताको जीवनमा परिवर्तन ल्याउन अझ संघर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं । जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने भनेका छौं ।’

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने प्रधानमन्त्री प्रचण्डको भनाई छ । उहाँले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको पनि बताउनुभएको छ ।  

सरकारले चलाइरहेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह छाएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले आगामी छ महिनाभित्र राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै नतिजा ल्याउन सक्ने दाबी पनि गर्नुभयो ।

टिप्पणीहरू