एमालेका चार जिल्ला नेता पार्टीबाट निकालिए

एमालेका चार जिल्ला नेता पार्टीबाट निकालिए

नेकपा एमालेको भ्रातृ संगठन युवासंघ कञ्चनपुरको सम्मेलनमा भएको कुटपिटको घटनामा संलग्न सात जना कारबाहीमा परेका छन् ।

चारजना जिल्ला कमिटीका सदस्यसहित सात जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी जिल्ला सचिवालय बैठकले निष्कासनको कारबाही गरेको हो । पार्टीबाट निकालिएकामा जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, पार्टी सदस्यहरु केशव चन्द, प्रविन बोगटी, रोहित कुवर र नविन चन्द छन् । 

युवासंघको १० औँ जिल्ला सम्मेलनका क्रममा उनीहरुले जिल्ला कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका १८ का जननिर्वाचित वडाध्यक्ष रविन्द्र देवकोटामाथि सांघातिक हमला गरेको, पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै अराजक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । 

बैठकले उक्त घटनालाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै संलग्न सबैलाई कानूनबमोजिम कारबाही गर्न मागसमेत गरेको छ ।

गत शनिबार युवासंघका इञ्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले उद्घाटन गरेको संघको १० औं जिल्ला सम्मेलनमा विवाद हुँदा असन्तुष्ट नेता–कार्यकर्ताको समूहले देवकोटामाथि आक्रमण गरेको थियो । दर्जनौँ व्यक्तिले उनलाई लखेट्दै कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

बस्नेतले नेतृत्व चयनमा एकलौटी गरेपछि विवाद चर्किएको र त्यसले कुटपिटको अवस्था निम्त्याएको असन्तुष्ट कार्यकर्ताको आरोप छ । असन्तुष्ट समूहले समानान्तर समितिसमेत गठन गरेको छ ।
 

टिप्पणीहरू