आँखा रातो भएका व्यक्तिलाई हवाई उडानमा कडाई

आँखा रातो भएका व्यक्तिलाई हवाई उडानमा कडाई

नेपालका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिदैँ गएपछि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका यात्रुसँग आँखा जाँचको प्रमाणपत्र अनिवार्य गरेको छ । 

निगमले सूचना प्रकाशित गर्दै हवाई उडान पूर्व आँखा पाक्ने रोगको लक्षण देखापरेमा यात्रुहरुलाई आँखा जाँचको प्रमाणपत्र अनिवार्य पेश गर्न अनुरोध गरेको हो । निगमले विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा ‘आँखा रातो हुने’ रोग तीव्रतम रुपमा फैलिरहेको उल्लेख गर्दै यात्रुहरुको स्वास्थ्यको निम्ति यस्तो व्यवस्था गरिएको जनाएको छ । 

साथै, यो रोगबाट ग्रसित व्यक्तिलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै यस रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न समेत निगमले भनेको छ । 

सूचनामा भनिएको छ, ‘विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा आँखा रातो हुने रोग तीव्रतम रुपमा फैलिरहेकोले नेपाल वायुसेवा निगम यात्रुहरुको स्वास्थ्यको निम्ति चासो व्यक्त गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गर्छन । यदि कोही यात्रुमा उडान पूर्व आँखा रातो हुनेजस्ता लक्षण देखा परेका छन् भने आधिकारिक चिकित्सकीय निकायबाट त्यस्तो लक्षण आँखा रातो हुने रोगको नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता गर्ने प्रमाणपत्र पेश गर्न अनुरोध गरिन्छ ।’

टिप्पणीहरू