अनुसन्धानमा सघाउन तयार छु तर प्रहरीले बोलाएन : कृष्णबहादुर महरा

अनुसन्धानमा सघाउन तयार छु तर प्रहरीले बोलाएन : कृष्णबहादुर महरा

पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । यस प्रकरणमा महरा र उहाँका छोरा राहुलको संलग्नता रहेको आशंकासहितका समाचार प्रकाशित भैरहेका छन् । 

महरा बाबु-छोरामाथि अनुसन्धान हुनुपर्ने माग पार्टीभित्रैबाट उठिरहेका बेला आज गृहजिल्ला दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको प्रष्ट पार्नुभएको हो । 

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?,’ महराले भन्नुभयो । 

 चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमा मात्र आफूले चिनेको बताउँदै उहाँले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप पनि लगाउनुभयो । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ भने महराले उनलाई पटक-पटक फोन गरेको कुरा सार्वजनिक भएको छ । 

महराले पनि वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र त्यहाँबाट निकालिदिन आग्रह गरेको स्वीकार गर्नुभयो ।
 

टिप्पणीहरू