‘गृहमन्त्रीले राजीनामा हैन, पूरै अवधि मन्त्रालयको नेतृत्व लिनुपर्छ’
एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर प्रमुख प्रतिपक्ष एमालेले सदन अवरुद्ध गरिरहेका बेला सत्तापक्षका एक सांसदले उक्त माग कुनै हालतमा पूरा नहुने प्रष्ट पारेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदमा बस्न लायक नरहेको आक्षेपसहित राजीनामा मागेको केही घण्टापछि पूर्व मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीको टिप्पणी आएको छ । उनले गृहमन्त्रीले राजीनामा नदिने बरु पूरै कार्यकाल (पाँच वर्ष) गृह मन्त्रालयको नेतृत्व गर्ने जवाफ फर्काएका छन् ।
एमालेको नाम उल्लेख नगरी सांसद चौधरीले भ्रष्टाचारविरुद्धको अभियान प्रभावित पार्न खोजेको आरोपसमेत लगाएका छन् । भने, ‘गृहमन्त्रीको राजीनामा त के ! अबको पूरै अवधि मन्त्रालयको नेतृत्व लिएर सबैखाले भ्रष्टचारीहरूका बास जेलमा गराउनुपर्दछ ।’
भ्रष्टाचारकै कारण राजनीतिक व्यवस्थामाथि प्रश्न उठेको जनाउँदै चौधरीले जुनसुकै पद र ओहोदाको व्यक्ति भएपनि भ्रष्टाचारीलाई छोड्न नहुनेमा समेत जोड दिएका छन् । भ्रष्टाचारीका अनुहार जनताले देख्न पाउनुपर्ने उनको भनाई छ ।
‘भ्रष्टाचारीहरूका कारण– सुन्दर व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ । दलहरू बदनाम भइरहेका छन्’, सांसद चौधरीले भने, ‘यसैले ठूला या साना, कालो या गोरो, होचो या अग्लो, पूर्व या पश्चिम जोसुकै होस ! भ्रष्टाचारहरूका अनुहार मुलुकका जनताले देख्न पाउनुपर्दछ ।’
टिप्पणीहरू