टोपबहादुरको जिम्मा लिनुभएका एमाले अध्यक्षको सुनिल शर्माबारे पनि उस्तै धारणा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको विषयान्तर गर्न नेपाली काँग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको बताउनुभएको छ ।
गृहमन्त्रीले शर्मालाई प्रतिशोधपूर्ण ढंगले समातेको समेत उहाँले दाबी गर्नुभयो । पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा ओलीले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो राजीनामा मागेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिशोध साँधेर शर्मालाई पक्राउ गरेको आरोप लगाउनुभयो । काँग्रेस सांसद पक्राउको बिरोधमा यसअघि पनि बोल्दै आउनुभएका उहाँले सुन तस्करीको जरैसम्म छानबिन गर्न माग गरेकै आधारमा सरकारले पूर्वाग्रह राखेको सुनाउनुभयो ।
‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन । अदालतले त तत्कालै छाडिदियो नि ! समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन’, उहाँले भन्नुभयो । त्यसक्रममा अध्यक्ष ओलीले मेडिकल कलेजसमेत चलाइरहेका सांसदजस्तो व्यक्ति देश छाडेर भाग्न नसक्ने भएकाले पनि अनुसन्धानपूर्व समात्नु उचित नभएको तर्क गर्नुभयो ।
यसअघि ओलीले नक्कली भुटानी शरणार्थी काण्डमा पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी हुँदा पनि उपप्रधानमन्त्री भइसकेको व्यक्ति भागेर कतै नजाने जिकिर गर्नुभएको थियो । तर, रायमाझी भने पक्राउ पुर्जी जारीपछि केही साता बेपत्ता भएका थिए । पछि उनलाई प्रहरीले लुकेको अवस्थामा बूढानीलकण्ठस्थित आफन्तको घरबाट पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
नक्कली प्रमाणपत्र लिएको आरोपमा समातिएका शर्मा भने अदालतको आदेशपछि अस्ति रिहा भइसकेका छन् । रिहालगत्तै केपी ओलीको प्रशंसा गरेका उनले आज बिहानमात्रै बालकोट पुगेर अध्यक्षसँग भेटेका थिए ।
टिप्पणीहरू