अहिलेका माननीयलाई पूर्व माननीयले त्यत्तिकै छाडेको मुध्दा ब्युँतियो

अहिलेका माननीयलाई पूर्व माननीयले त्यत्तिकै छाडेको मुध्दा ब्युँतियो
सुन्नुहोस्

नेपाली काँग्रेस सभासद सुनिल शर्मा र अरु चार जनालाई नक्कली शैक्षिक प्रमाणपत्र किनेको आरोपमा प्रहरीले पक्रेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो दिउँसो राजधानीबाट समातेको र यस काण्डमा एक जना पूर्वसांसदले कार्वाही प्रक्रिया वीचैमा रोकेको देखिएको छ ।

ललितपुर-१ बाट एमाले पूर्व सांसद तथा तत्कालीन सिआइबी प्रमुख नवराज सिलवालले ०७० साललगत्तै शर्मासहितलाई अनुसन्धानको दायरामा ल्याएका थिए । झण्डै एक दशकअघि शर्माको नक्कली शैक्षिक प्रमाणपत्रबारे सिआइबीले अनुसन्धान थालेर उन्मुक्ति दिएको विषयमा हिजो फेरि सोही निकायले मुध्दा ब्युँताएको हो । 

सिलवाल नेतृत्वको सिआइबीले त्यतिबेला गरेको अनुसन्धानपश्चात ‘सर्टिफिकेट नक्कली भए पनि शर्माले कुनै क्लिनिक नखोलेको, प्रमाणपत्र पेश गरेर कतै लाभ लिएको देखिन नआएकाले निजलाई मुद्दा चलाउन आवश्यक परेन ।’ भन्ने निश्कर्ष निकालेको थियो ।सिआइबी स्रोतका अनुसार सोही प्रतिवेदनको आधारमा सिलवाल टोलीले पक्राउ गरे पनि सोही ग्राउण्डमा छाडिदियो । 

आखिर नक्कली नक्कली नै हो । जोसुकैले त्यस्तो प्रमाणपत्र बनाएर घरभित्रै राखेपनि ऊ निर्दोष हुन नसक्ने सिआइबीका एक जना अधिकृत बताउँछन् । उनका अनुसार शर्मालाई त्यसरी छाड्नुको कानुनी आधार नभएकाले अहिले फेरि शंकाको घेरामा परेका हुन् ।

काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजको सञ्चालकसमेत रहेका शर्मा गत मंसिरमा मोरङ ३ बाट निर्वाचित भएका थिए । शर्माले बिहार, फारबेसगञ्जको बीडीबीकेएस कलेजबाट उत्तिर्ण गरेको भनिएको आइएससीको प्रमाणपत्र नक्कली प्रमाणित भएको छ । प्रथम श्रेणीमा उत्तिर्ण भनिएका शर्माको प्रमाणपत्र नक्कली हुँदाहुँदै तत्कालीन डिआइजी सिलवालले उनी र अन्य एक सयभन्दा बढीलाई उन्मुक्ति दिएका थिए । 

मेडिकल बिचौलियाको रुपमा परिचित शर्माले एमबीबीएस चीनमा गरेका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन,शिक्षण शुल्क र एमबीबीएस कोटा निर्धारणमा धेरै पटक विवादमा परेका छन्  ।

टिप्पणीहरू