अपराधी र सरकारबीच साँठगाँठको आरोप लगाएका राष्ट्रपतीय उम्मदेवारमाथि गोली प्रहार
इक्वेडरमा राष्ट्रपति निर्वाचनका एक जना उम्मेदवारको गोली हानी हत्या गरिएको छ । त्यहाँको क्विटो शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा स्थानीय समयानुसार बुधबार अपरान्ह उनीमाथि गोली प्रहार भएको हो ।
टाउकोमा तीन वटा गोली लागेका ५९ वर्षे फर्नान्डो भिला भिसेन्सियोको घटनास्थलमा ज्यान भएको बताइएको छ । वर्तमान संसद सदस्यसमेत रहेका उनीमाथि गोली प्रहार गर्ने प्रहरीको प्रत्याक्रमणमा मारिएका छन् ।
दक्षिण अमेरिकी मुलुकमा लागुऔषध माफियाहरुको बिगबिगी छ । उनीहरुको निशानामा परेपछि जोकोहीको हत्या गरिन्छ । १० दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा फर्नान्डोेले लागुऔषध नियन्त्रणको एजेण्डा अघि सारेका थिए ।
उनले राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र अपराधिक गिरोहविरुद्ध अभियान चलाएका थिए । उनी इक्वेडरमा संगठित अपराध र सरकारी अधिकारीहरूबीचको सम्बन्धको आरोप लगाउने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।
राष्ट्रपतीय निर्वाचनमा इक्वेडरमा आठ जना उम्मेदवार भएपनि प्रतिस्पर्धीहरुले उनलाई मुख्य उम्मेदवारको रुपमा लिएका थिएनन् ।
टिप्पणीहरू