माओवादी नेताहरु तीन महिनासम्म जनतामाझ जाने

माओवादी नेताहरु तीन महिनासम्म जनतामाझ जाने

नेकपा माओवादी केन्द्रले तीन महिने संगठन सुदृढिकरण अभियान थाल्ने भएको छ । 

आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग पार्टी’ अभियानका रुपमा संगठन विस्तारको कार्यक्रम प्रस्ताव गर्नुभएको हो । सो अभियान भदौदेखि शुरु हुनेछ । 

प्रचण्डको प्रस्तावमा वडा तहसम्मै पार्टी संगठन विस्तारका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएर खटाउने उल्लेख छ । अभियानअन्तर्गत पार्टीका सबै तहका नेता जनताको घरदैलोमै बिताउनु पर्नेछ ।  

पदाधिकारी र स्थायी समितिको बैठकबाट पारित भएर केन्द्रीय कमिटी बैठकमा पेश भएको यो प्रस्ताव पास भए शहर केन्द्रित केन्द्रीय सदस्यहरु आ-आफ्नो तोकिएको वडामा पुगेर संगठन निर्माणमा लाग्नुपर्ने हुन्छ । अभियानले सिंहदरबार वरपर घुमेर पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने, अपारदर्शी जीवनशैली जिउने प्रवृत्ति निरुत्साहित गर्ने माओवादी केन्द्रको विश्वास छ । 

अभियानअन्तर्गत व्यापक बहस, अन्तरक्रिया र प्रशिक्षण गर्ने, मंसिरमा हुने विधान अधिवेशनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक संश्लेषणमा पुग्ने कार्ययोजना बनाइएको छ । पार्टी र जनस्तरसम्म गणतन्त्रका उपलब्धि प्रचारप्रसार गर्ने, सूचना प्रविधिको विकास र समाजवादी आन्दोलनमा त्यसले पार्ने प्रभावका विषयमा छलफल, डिजिटल प्लेटफर्म आईटी तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने पनि त्यसमा उल्लेख छ । 

सोहीक्रममा सरकार र पार्टीप्रतिका गुनासो र सुझाव संकलन गर्ने पनि जनाइएको छ ।

टिप्पणीहरू